हातमा प्लाष्टिकको ठूलो झोला, झोलामा मास्क । घोराहीका व्यस्त चोकहरुमा दिनहुँजसो भेटिने बिरबहादुर खत्री (बिरु) मास्क नलगाएरै बजार हिँडेकाहरुको खोजि गरिरहेका हुन्छन् । बिच सडकमै उभिएर सवारी साधन रोक्छन्, मास्क नलगाएका यात्रु अनि चालकहरुलाई कोरोना संक्रमणबाट जोगिने उपाय मास्क प्रयोग गर्न सुझाउँछन् अनि मास्क थमाईदिन्छन् । बजारमा पैदल हिँडिरहेका मास्कविहीन सर्वसाधारणहरु पनि उनको नजरमा पर्छन् ।
प्रत्यकको हातहातमा मास्क थमाउँछन् , अनि भन्छन् ‘कोरोना जोखिमबाट सतर्क रहनुहोला ।’ गृहमन्त्रालयले मास्क नलगाएर हिँड्नेहरुलाई कारवाहीको घोषणा गरिसकेको छ । तथापी सरकारले लकडाउन हटाएपछि बजारमा मास्क प्रयोगकर्ताको संंख्या कम बन्दै गईरहेको छ । तर, सरकारले निर्धारण गरेको नियमलाई ‘फलो’ गर्दै मास्क अभियानसहित सडकमा निस्कीएका छन् घोराही १४ का बिरु । अभियानमा उनि एक्लै छन्, तथापी एक्लो आत्मबलले हार मानेको छैन ।
‘जब लकडाउन खुल्यो, त्यो बेलादेखि बजारमा मास्क प्रयोगकर्ताहरु कम बन्दै गईरहेका छन्,’ बिरु भन्छन्, ‘सरकारले मास्क प्रयोगमा गरेको अनिवार्य हाम्रै लागि हो भन्ने मानसिकता हामीबाट हराउँदै गएको जस्तो देखिन थालेको छ, अतः कोरोनाको जोखिम अझै कायमै भएकाले मास्कको प्रयोग अनिवार्य छ है, भन्ने सन्देश प्रवाह गर्नु मेरो अभियानको मुख्य लक्ष्य हो ।’
त्यसोत, बिरुले लकडाउन खुलेपछि मात्रै मास्क अभियानको थालनी भने गरेका हैनन् । उनको यो अभियान सुरु भएको दुई महिना पुगिसकेको छ । जेठको मध्य साता , जतिबेला कोरोना संक्रमणको जोखिम उच्च मानिएको थियो । आमनागरिक कोरोना त्रासका कारण घरमै खुम्चिएर बस्नु परेको थियो । बिरु त्यो जोखिमका बेला मास्क अभियान लिएर घरदैलो अभियानमा निस्कीए । कोरोना संक्रमणको त्रासका बेला मास्क अभियान लिएर घरदैलोमा निस्कने बिरुलाई परिवारले पनि उत्तिकै हिम्मत दियो । ‘मलाई मेरो परिवारले कोरोना जोखिमका बेला घरबाट ननिस्के भनेर रोक्न खोजेको भए म मास्क वितरणको अभियानमा पक्कै सफल हुने थिएन,’ उनले भने ‘तर, कोरोना संक्रमणबाट आम नागरिकलाई जोगाउने मेरो सानो अभियानलाई परिवारले राम्रो साथ दियो ।’
त्यो बेला उनको अभियान कोरोनाविरुद्ध फ्रन्टलाईनमा खटिएका पात्र केन्द्रित थिए । ‘सुरुमा म मास्क अभियानमा लाग्दा कोरोनाको त्रास अत्यन्त थियो, तैपनि म केएन ९५ मास्क लिएर कोरोनाविरुद्ध फ्रन्टलाईनमा खटिएकाहरुसम्म पुगेँ,’ उनले भने ‘कोरोनाविरुद्ध अग्रपंक्तीमा रहेकाहरुलाई सहानुभूती र प्रोत्साहन मेरो अभियानको पहिलो लक्ष्य बन्यो ।’ पहिलो चरणको अभियानबाट उनि दोस्रो चरणमा आफ्ना निकटस्थहरुसम्म अभियान लिएर घरघरमै पुगे । ‘म दाङको पूर्व भालुवाङदेखि पश्चिम हापुरेसम्म पुगेर मास्क वितरण गर्न पुगेँ,’ उनले भने ‘यो बिचमा धेरैको स्याबासी पाएँ, थोरै आलोचना पनि ।’ आलोचनाको कारण थियो– गरिब झुपडीसम्म किन नपुगेको ? उनले भने ‘अभियान नितान्त मेरो आर्थिक खर्चमा गरिरहेको थिएँ,फेरी म एक्लो ब्यक्ति कसरी प्रत्यक गरिबको घरसम्म पुग्नु सम्भाव थियो ? मैले त्यो दायित्व राज्यको ठाने ।’
तथापी आलोचनाले उनलाई प्रभावित बनाएन । सुझावका रुपमा आलोचना ग्रहण गरेका उनि अविचलित यो अभियानमा जोडिईरहे । अग्रपंक्तीमा रहेका पात्र,आफ्ना निकटस्थ हुँदै उनि संस्था केन्द्रित बने । घोराही उपमहानगरपालिकाका स्वास्थ्य, सरसफाई क्षेत्रमा काम गर्ने कर्मचारीहरु, दाङ उद्योग वाणिज्य संघका कर्मचारीहरु, घोराहीका दुई र नारायणपुरको एउटा खानेपानी संस्थाका कर्मचारीहरु, रेडक्रस, परिवार नियोजनका कर्मचारीहरुलाई उनले केएन ९५ मास्क वितरण गरि भ्याए । आँखा अस्पतालका कर्मचारीहरुलाई मास्क वितरणको अभियान सुरु गरेका बिरुले तुलसीपुरस्थित आँखा अस्पतालका कर्मचारीहरुलाई मास्क वितरण गरिसकेका छन् भने घोराही र लमही आँखा अस्पतालका कर्मचारीहरुलाई मास्क वितरणको प्रकृयामा छन् ।
दुई महिनासम्म मास्क वितरण अभियान थालेका बिरुले ६ हजार बढि केएन ९५ मास्क निःशुल्क वितरण गरिसकेका छन् भने ३ हजार बढि सर्जिकल मास्क वितरण गरेका छन् । ‘मैले सुरुदेखि अहिलेसम्म ६ हजार बढि केएन९५ मास्क वितरण गरेँ भने ३ हजार बढि सर्जिकल मास्क वितरण गरेको छु,’ उनले भने ‘कोरोना संक्रमणको त्रास कायम रहुन्जेलसम्म मेरो अभियान निरन्तर रहने छ ।’ सुरुमा २२ वटा मास्कबाट सुरु गरेको उनको यो अभियानलाई पछिल्लो समय उनका निकटस्थहरुले पनि सहयोग गर्न थाले ।
फलतः उनलाई झनै यो अभियानमा लाग्न अत्मबल पैदा भयो । ‘मलाई मेरा परममित्र तथा आफन्तहरुले वितरणका लागि मास्क सहयोग गर्न थाल्नु भयो,’ उनले भने ‘उहाँहरुको उपलब्ध गराएको मास्क वितरणका लागि भने म एक्लै फिल्डमा खटिएँ ।’ मास्क वितरण अभियानका क्रममा उनको एउटा भोगाई छ ‘जाने बुझेकाहरुले मास्क प्रयोग गर्दैनन्, बरु सामान्य नागरिकहरुले मास्कको प्रयोग अधिक गरेका छन् ।’ उनले कतिपयलाई निशुल्क मास्क उपलब्ध गराउँदा पनि मास्क लिन मन नगरेका उदाहरण समेत छन् । बरु भन्छन् ‘केहि जाने बुझेकाहरुलाई मास्क लगिदिनुस् भनेर बिन्ती गर्नु परेको अवस्था पनि आयो ।’
प्रकाशित: १३ श्रावण २०७७ १०:४८ मंगलबार





