म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङमा गत असार २६ गते पहिरो आउँदा राम्चे नामरुककी सविना विश्वकर्मा पाँच दिनकी सुत्केरी थिइन्। घरभित्र सुतिरहेको अवस्थामा एक्कासी बस्तीमाथिबाट पहिरो आउन सुरु गरेपछि घरभित्रै अलपत्र परेकी सविना र पाँच दिने शिशु र अर्की छोरीलाई दुई घण्टापछि उद्धार गरिएको थियो।
अविरल वर्षासँगै गाउँमा पहिरोको ठूलो आवाज आएपछि तत्कालै भाग्ने प्रयास गरे पनि पहिरोमा थुनिएकी थिइन्। जोखिम मोलेर पहिरो आउँदै गर्दा घरबाट निस्केर सुरक्षित ठाउँमा पुगेका थिए। तर उनका खानेकुरा, लत्ताकपडा सबै घरभित्रै थिए। सविनाजस्तै सोही गाउँकी हरिमाया विकले समेत सुत्केरी अवस्थामै पहिरोबाट मुस्किलले ज्यान बचाइन्।
पती वैदेशिक रोजगारीका लागि पाँच महिनाअघि खाडी मुलुकमा गएका थिए। पहिरोका कारण घर छाडेर हिड्नुपरेको हरिमायाको भनाइ छ। ‘साना छोराछोरीलाई जोखिम मोलेर पहिरोबाट बचाएर आएको छु,’ उनले भनिन्, ‘मेरो भन्दा छोराछोरीको ज्यान जोगाउन पाए हुन्थ्यो भन्ने लागेको थियो। तर सबै खानेकुरा र लत्ताकपडा भने भित्रै छाडेर आए।’
सुत्केरी अवस्थामै विस्थापित भएर विद्यालयमा बस्नुपर्ने बाध्यता आएको उनी बताउँछिन्। यस्तो अवस्थामा पोषिलो खानेकुरा खानुपर्ने भएपनि राम्रोसँग पेटभरी खाना समेत नपाएको हरिमायाको गुनासो छ। उनका दुई छोरा र एक छोरी रहेका छन्। उनी अहिले गाउँमा रहेको विद्यालय भवनमा गाउँलेसँगै बस्दै आएकी छन्। ‘शरीरमा लगाएको लुगामै (कपडा) आएको थिए। उतिबेला छोराछोरीलाई कसरी बचाउने भन्ने चिन्ता मात्रै थियो,’ सविनाले भनिन्, ‘सुत्केरी अवस्थामै खाने भनेर तयार पारेका केही पनि ल्याउन सकिन अहिले स्कुलको चिसो कोठामा दिन बिताउनुपरेको छ।’
सुत्केरी महिलाले अन्य अवस्थाभन्दा बढी पोषिलो खानेकुरा खानुपर्ने भए पनि यहाँका सुत्केरी महिलाले पेटभरी खान समेत नपाएको पीडितको गुनासो छ। पहिरो गएको तीनदिनपछि गाउँमा राहत पुगेपनि सुत्केरी अवस्थामा रहेका सविना, हरिमायासहित अन्य महिलाका लागि पोषिलो खानेकुरा आएको छैन। यसका साथै सुत्केरी र नवजात शिशुका लागि सुरक्षित, न्यानो र सफा कपडाको समेत अभाव रहेको सविनाले बताइन्।
सुत्केरी महिलाले न्यूनतम खानेकुरा समेत प्रयाप्त नपाएको विद्यालय भवनमा बस्दै आएकाहरूको भनाइ छ। पहिरोबाट बचेपनि शिशुलाई रोग र कुपोषणबाट कसरी बचाउने भन्ने चिन्तामा यहाँका महिला रहेका छन्। पहिरोका कारण गाउँबाट विस्तापित भएर विद्यालयको भवनमा आइपुगेका सुत्केरी महिलालाई परिवार र आफ्न्तको सहयोग भएपनि खानेकुराको अभाव रहेको सविनाको भनाइ छ।
विस्तापित भएर गाउँबाट विद्यालयमा पुगेकाहरूले सुरुमा सामुहिक मेस सञ्चालन गरेका थिए। तर अहिले मेस बन्द भएपछि आ–आफूले पकाएर खाने गरेका छन्। विद्यालय भवनमा बस्दै आएकाहरूका बाच्चा बिरामी भएपनि प्राथामिक उपचारको समेत व्यवस्था छैन। पहिरोले बाटो समेत बगाएपछि आवतजावत समेत बन्द भएको स्थानीयको भनाइ छ।
सिंगो गाउँ नै पहिरोबाट विस्थापित भएकाले सुत्केरी महिलालाई आवश्यक पर्ने पोषिलो खाना व्यवस्थापनमा समस्या भएको वडा सदस्य तिलकुमारी केसीले बताइन्। पहिरोले गर्दा सबै कुराको अभाव रहेको उनको भनाइ छ। वडाभित्रका आधा दर्जन बस्तीमा पहिरोले क्षति गरेकाले समस्या समाधान गर्न निकै चुनौती भएको उनले बताइन्।
विस्थापितलाई राहत ल्याउने क्रममा गर्भवती र सुत्केरी महिला, बालबालिका, जेष्ठ नागरिकलाई लक्षित सामग्री ल्याउँदा सहज हुने भएकाले सहयोगी निकायलाई त्यसैअनुसार आग्रह गरेको वडासदस्य केसीले बताइन्। पहिरोले मराङका विभिन्न बस्तीमा २१ जनाले ज्यान गुमाए छन् भने दुई जना बेपत्ता छन्। वडाभित्र करिब १७ हजार जनसंख्या रहेकोमा २१ घर पहिरोले पुरेको छ। दुई सय दुई घर पहिरोको उच्च जोखिममा रहेका छन् भने ४० घरपरिवार विस्थापित भएका छन्।
प्रकाशित: १२ श्रावण २०७७ ०३:०६ सोमबार





