१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रोकिएन बाढीपहिरोको क्षति, थप सातको शव फेला

अविरल वर्षाका कारण बुधबार पनि देशका विभिन्न ठाउँमा मानविय तथा भौतिक संरचनामा व्यापक क्षति गरेको छ। बुधबार विभिन्न ठाउँमा ७ जनाको शव फेला परेको छ, भने दर्जन बढी बाढीपहिरोमा परेर घाइते भएका छन्। बाढी र पहिरोका कारण प्रहरी चौकीका साथै स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ।  

चितवनमा पाँच जनाको शव भेटियो

चितवन समाचारदाता सूर्यप्रकाश कँडेलका अनुसार बाढीबाट गत असार अन्तिम साता माडी नगरपालिकामा दुई जनाको मृत्यु भएको थियो।  यहाँ बुधबार नदी तटीय क्षेत्रमा पाँच जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। यो सँगै बाढीले चितवनमा मृत्यु हुनेको संख्या सात पुगेको छ। प्रहरीका अनुसार भरतपुर महानगरपालिकाभित्र नारायणी नदी किनारको तीन ठाउँमा चार जना र खैरहनी नगरपालिकाको बुढीरापती खोला किनारमा एक जनाको शव फेला परेको हो।  

नारायणी नदी किनारमा भेटिएका चार शवमध्ये एउटाको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले जानकारी दिए। उनकाअनुसार सनाखत भएका मृतक भरतपुर महानगरपालिका–१६, का ४० वर्षीय कर्णबहादुर सुनार रहेका छन्।

भरतपुर महानगरपालिका १, ठिमुरामा दुई जनाको शव भेटिएको छ। दुईमध्ये एक जना बालिका र एक जना पुरुष रहेको डिएसपी थापाले बताए। यस्तै भरतपुर महानगरपालिका–१, गैंडाचोकनजिक नदी किनारमा अन्दाजी ५० वर्षीया एक जना महिलाको पनि शव भेटिएको छ।  प्रहरी प्रवक्ता थापाका अनुसार खैरहनी नगरपालिको बुढीरापती खोला किनारमा बाढीले बगाएर ल्याएको अन्दाजी ५० वर्षका एक जना पुरुषको शव फेला परेको छ।  

घर पुरिँदा एकको मृत्यु, तीन घाइते

दमक समाचारदाता युवराज विवसका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ। अन्य ३ जना घाइते भएका छन्।  गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुरेपछि मेचीनगर–९ का १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको प्रहरीले जानकारी दिएका छ।

बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मंगलबार राती गएको पहिरोले घर पुर्दा मृत्यु भएको छ। अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए।  सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरूलाई स्थानीय रहेको चर्चमा सारिएको उनले बताए ।

नदी बगाउँदा एक बेपत्ता

रौतहट समाचारदाता मदन ठाकुरका अनुसार लाल बकैया नदीमा आएको बाढीको बगाउँदा एक जना बेपत्ता भएका छन्। जिल्लको कटहरिया नगरपालिका–१ भसेढवाका १९ वर्षीय बैजु यादव बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता युवकको स्थानीयका साथै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले जानकारी दिए।  

मंगलबार खहरे खोलाले बगाउँदा चन्द्रपुर–३ गैडाटारका ५५ वर्षीय सुकमान थिंगको मृत्यु भएको थियो। उनको शव बुधबार बिहान प्रहरीले दोभानभन्दा करिब तीन सय मिटर दक्षिण तर्फ फेला पारेको थियो। यस्तै लाल बकैया नदीमा आएको बाढीले प्रहरी चौकी डुबानमा पर्न थालेपछि नदी छेउमा रहेका दुई प्रहरी चौकी सुरक्षित स्थानमा सारिएको एसपी खड्काले बताए।  

बेपत्ता एकको शव फेला भेटियो

लहान समाचारदाता मिथिलेश यादवका अनुसार स्थानीय रातु खोलामा आएको बाढीले बगाएर बेपत्ता महोत्तरी भंगहा नगरपालिका–६ सग्रामपुरका बीरेन्द्र कापरको शव फेला परेको छ। जिल्ला कापरको शव मंगलबार राती बलवा नगरपालिका–४ स्थित खोला किनारमा फेला परेको प्रहरी कार्यालय महोत्तरीका एसपी टीकाबहादुर केसीले जानकारी दिए। जनकपुरबाट घर फर्किंदै गर्दा उनलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो।  

एक परिवार विस्थापित  

खोटाङ समाचारदाता दमन राईका अनुसार पहिरोका कारण जिल्लाको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका मणीकुमार राईको परिवार विस्थापित भएका छन्। साउन ३ र ४ गतेको अविरल वर्षाका कारण घर नजिकैबाट पहिरो गएपछि राईका ६ जनाको परिवार विस्थापित भएको वडाध्यक्ष गणेश बिष्टले बताए। राई परिवारलाई स्थानीय सिंहदेवी माविमा राखिएको उनले बताए। 

मौवाखोला पुल मर्मत सुरु

धादिङ/अविरल वर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वी राजमार्गस्थित मौवाखोलाको पुलको मर्मत् कार्य सुरु गरिएको छ। बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङ र चितवनको सीमानामा रहेको मौवाखोला पुलको बुधबारदेखि मर्मत सुरु भएको हो। वर्षा रोकिएसँगै मर्मतको काम सुरु भएको सडक विभागका महानिर्देशक केशव शर्माले जानकारी दिए। पूर्ण रूपमा सवारी आवागमन हुन अझै तीन दिन लाग्न सक्ने उनले बताए।  

अविरल वर्षापछि आएको बाढीले गत सोमबार पुलको धादिङतर्फको पुल र सडक जोड्ने भागको करिब ५ मिटर भत्किएको थियो। पुल भत्किएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्व–पश्चिम आवागमन ठप्प भएको छ,  भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन्। बाढीपहिरोले पुलसँगै स्थानीयका घर, टहरा, अस्थायी प्रहरी चौकी र सवारीसाधनमा क्षति पु¥याएको थियो। बिहीबारदेखि काम तीव्र बनाइने र शुक्रबार साँझसम्ममा सवारी आवागमन सुचारु गराउने योजना रहेको महानिर्देशक शर्माले बताए। 

प्रकाशित: ८ श्रावण २०७७ ०४:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App