१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

जलकुम्भीले ढाक्यो फेवाताल

फेवातालमा जलकुम्भी झारले पुरिएका डुंगाहरु। तस्बिर : उमेश /नागरिक

पोखराको फेवातालमा पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार फैलिन थालेको छ। अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो।

फेवातालमा पानीको सतहसँगै वर्षेनी जलकुम्भी झार र बन्दा झार बढ्ने गर्दछ। यस वर्षपनि पानीको सतहसँगै जलकुम्भी झार र बन्दा झार बढ्न थालेको फेवा हर्पन मत्स्य सहकारी संस्थाका अध्यक्ष ईन्द्रबहादुर जलारीले जानकारी दिए। तालको माथिल्लो सिरान क्षेत्रमा रहेको सीमसार क्षेत्रमा रहेको जलकुम्भी झार र बन्दा झार बाढीसँगै बगेर फेवातालमा आउने गरेको उनले बताए।

फेवातालमा विगत २५ वर्षदेखि जलकुम्भी झार देखिदै आएको छ। बन्दा झार भने विगत १५ वर्षदेखि देखिएको अध्यक्ष जलारीले बताए। बन्दा झारलाई अंग्रेजीमा वाटर लेटुस भनिन्छ। यो झार जलकुम्भी झारजत्तिकै फैलिने गुण भएको झार भएको बताइन्छ। तर बन्दा झारले भन्दा जलकुम्भी झारले पानीमा भएको पोषक तत्व उपयोग गर्ने गर्दछ। जसका कारण माछालाईसमेत असर पार्ने बताइन्छ।

जलकुम्भी झारका कारण फेवाताल कुरुप हुँदै आएको छ। सुन्दर फेवाताललाई पानीको माथिल्लो भागमा जलकुम्भी झारले छपक्कै ढाक्दा तालको सुन्दरता ह्रास भई कुरुप देखिने गरेको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरोलले बताए। जलकुम्भी र बन्दा झारले ताल ढाक्दा तालको सुन्दरता कुरुप त हुन्छ नै’, उनले भने, ‘त्योसँगै पर्यटकले तालको सुन्दरता देख्न नपाउँदा उनीहरु खिन्न हुन्छन्, जसका कारण पर्यटनमा दीर्घकालिन असर पुग्छ।’ त्यस्तै जलकुम्भी झार र बन्दा झारका कारण ताल पारीबाट दूध, तरकारी लिएर आवतजावत गर्नेहरुको दैनिकीमा असर परेको उनको भनाई छ। अन्य समयमा भने पर्यटकलाई डुंगा सयरमासमेत प्रभावित पर्ने उनले बताए।

जलकुम्भी झार र बन्दा झारकै कारण आफूहरुको पेशासमेत समस्या देखिएको अध्यक्ष जलारीले बताए। ‘झारले फेवाताल त कुरुप बनाउँछ नै, उनले भने, ‘झारमा जाल अड्किने, जाल च्यातिने र डुंगा चलाउनसमेत अप्ठेरो हुँदा हाम्रो पेशा नै संकटमा पर्ने खतरा छ।’फेवातालको सुन्दरता बचाउनका लागि तालमा देखिएको जलकुम्भी झार र बन्दा झार फाल्ने अभियान वर्षेनी चलाईंदै आएको छ। उसो त १ करोड खर्चेर झार फाल्ने फ्लोडिङ मेसिनसमेत ल्याएर प्रयोग गरिएको हो। तर यो प्रभावकारी बन्न सकेको छैन। तालको सुन्दरता बचाउन जलकुम्भी झार र बन्दा झारको दीर्घकालिन समाधान खोज्नुपर्ने गण्डकी प्रदेश सांसद राजिव पहारी बताउँछन्।

‘बर्खामा आएर कराएर मात्रै हुँदैन’, सांसद पहारीले भने, ‘हिउँदमै यसको स्थायी समाधान खोज्नुपर्छ र अभियानका रुपमा यसलाई लैजानुपर्छ।’ उनले झारको स्थायी ब्यबस्थापनका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले पहलकदमी लिनुपर्ने बताए।पोखरा पर्यटन परिषदका अध्यक्ष पोखरेल भने झार फाल्ने अभियान सञ्चालन गर्नुपर्ने र त्यसका लागि स्थायी दस्ता नै निर्माण गरेर अघि बढ्नुपर्ने बताउँछन्।

प्रकाशित: ६ श्रावण २०७७ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App