कोरोना भाईरस संक्रमणको त्रासले गरिएको लकडाउनका कारण झन्डै चारमहिनासम्म थन्किएका सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन्। पोखरा सहरमा आगामी विहीबार (साउन ८) देखि सार्वजनिक सवारी चलाउने तयारी यातायात व्यावसायीले गरेका छन्।
तर, गण्डकी प्रदेशका जिल्लाभित्र मात्र आउजाउ गर्नेगरि बुधबार नै गाडी चलाउने तयारी व्यवसायीको छ। संक्रमणको त्रासले गरिएको लकडाउन अवधि नथपिए साउन ११ (आइतबार) देखि लामो दूरीमा पनि गाडी चलाउने तयारी व्यावसायीले गरिसकेका छन्। लामो समयको लकडाउनका कारण हिलोमा गाडिएका र झाडिमा लुक्दै गएका गाडी अब सडकमा निकाल्ने तयारी व्यावसायीको छ।
संक्रमणका कारण गरिएको लकडाउनले व्यावसायी आर्थिक रुपमा धरासायी बनेकोले गाडी किन्दा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्न नसक्ने भन्दै किस्ता अवधि कम्तिमा ६ महिना अवधि थपिनुपर्ने लगायतका माग व्यावसायीले राख्दै आएका थिए। मौद्रिक नीतिमार्फत आफुहरुको माग पुरा भएकोले अब गाडी गुडाउने तयारी गरेको व्यावायीले बताए।
पोखरा उपत्यकामा विभिन्न कम्पनीले सार्वजनिक सवारी संचालन गर्छन। ती मध्ये पोखरा उपत्यकाभित्र सार्वजनिक सवारी संचालन गरिरहेको सबैभन्दा ठुलो कम्पनि पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्माले सरकारले मौद्रिक नीतिमार्फत यातायात व्यावसायीका माग सम्बोधन गरेपछि व्यावसायी गाडी गुडाउन तयार भएको बताए। उनका अनुसार विहीबारदेखि सहरभित्र पोखरा यातायातका गाडी गुड्नेछन्।
पोखरा बसका ३७८ वटा गाडी छन्। पहिलो चरणमा ५० प्रतिशत हाराहारीमा मात्र गाडी गुडाउने तयारी भएको उनले बताए। ‘लामो समय हिलोमा गाडिएका र झाडिमा पुरिएका गाडी अब सडकमा आउँदैछन। सबै गाडी अहिलेका लागि गुड्ने अवस्थामा पनि छैन। मर्मतसम्भाको खाँचो छ,’ शर्माले भने, ‘कतिपय गाडी मर्मतसम्भारका लागि रहनेछन्। सबै गाडी गुडाउँदा यात्रु अभाव पनि हुने भएकोले अहिले पहिलो चरणमा आधासंख्यामा मात्र संचालन गर्ने हो।’
उनका अनुसार अरुबेला सामान्य अवस्थामा पोखरामा दैनिक ३ सय बस गुड्थे। ३७८ वटा गाडी भएपनि सबैले दैनिक गुडने पालो पाउँदैनथे। तर, अब भने १५० संख्यामा चलाउने तयारी भएको उनले बताए। अरुबेला पनि सातामा एकदिन सबै गाडी पालैपालो रोकिन्थे। अहिले यात्रु अभाव देखेर आधा संख्यामा गुडाउने तयारी गरिरहेको उनले बताए। पोखरा यातायातले सहरभित्र १४ र ग्रामिण सहित गर्दा २८ रुटमा गाडी चलाउँदै आएको थियो। ती सबै रुटमा विहीबारदेखि नै गाडी गुडाउने उनले बताए।
पोखरा बससँग १५ देखि ३७ सिट क्षमतासम्मका गाडी छन्। ती गाडीमा आधा संख्यामा मात्र यात्रु राखेर मात्र गुडाउने उनले बताए। ‘आधा संख्यामा मात्र यात्रु बोक्नु पर्ने भएकोले सरकारले भने बमोजिम ५० प्रतिशत भाडा बढाएर यात्रुले तिर्नुपर्नेछ,’ उनले भने, ‘सरकारले तोके बमोजिम स्वास्थ्यको सुरक्षा उपाय पनि अबलम्बन गरिनेछ।’ विहीबारदेखि गाडी गुडाउने गरि सवारी मर्मत गर्न थालिएको पनि शर्माले बताए।
उनका अनुसार झन्डै चारमहिना थन्किएका सवारी एकाएक सडकमा निकालेर यात्रु चढाउँदा जोखिम हुनसक्छ। लामो समय नगुडेका कारण गाडीको ब्याट्रि, मोविल, गियरआयल, टायरमा समस्या आउने सम्भावना रहन्छ। गाडी हिलोमा फँसेको र झाँडिमा पुरिइसकेको उनले बताए। ती सवारी एकैपटक यात्रु बोक्न लैजाँदा झन जोखिम हुने उनले बताए। ‘धेरै गाडीका अघिल्ला टायर फेर्नैपर्छ। गाडीहरु हिलोमा गडेका छन् भने घाँसाको झाडिमा फँसेका छन,’ उनले भने, ‘घामपानीले गर्दा क्षति भएको छ। सवारी पूर्ण रुपमा मर्मतसम्भार गर्नैपर्छ।’ कास्की बाहिर रहेका गाडीलाई पोखरा फिर्ता बोलाउने तयारी पनि रहेको उनले सुनाए।
पोखराबाट लामो दुरीमा सुविधासम्पन्न बस सेवा दिईरहेको जगदम्भा ट्राभल्सका संचालक केशव अधिकारीले लामो दूरीमा पनि बस सेवा संचालनको तयारी गरिरहेको बताए। उनका अनुसार लकडाउन अवधि नथपिए अबका केहीदिनभित्र लामो दूरीमा बस सेवा संचालन हुने भएकोले गाडी मर्मतसम्भारको तयारी थालेको बताए। अधिकारीले पनि लामो समय गुडन् नपाउँदा गाडीमा समस्या आउने बताउँछन्। मोविल जम्ने, टायरमा पानी पस्ने, इन्जिनमा खिया लाग्ने, लगायतका समस्या हुने भएकोले सबै गाडी मर्मतसम्भार गर्ने तयारीमा रहेको अधिकारीले बताए।
पृथ्वी राजमार्ग बस संचालक कम्पनिका अध्यक्ष योगेन्द्रबहादुर केसीले लामो दुरिमा चल्ने अनुमति नपाइसकेपनि तयारी भने गरिसकेको बताए। यात्रुको सुविधाको लागि साउन सातगतेदेखि प्रदेशभित्र गाडी गुडाउने उनले बताए। ‘जिल्लास्तरमा चलाउँदा यात्रुलाई र व्यावसायीलाई पनि मार छ। तर, प्रदेशस्तरमा चलाउन जरुरी छ। अब लामो दुरीमा पनि रोक्न जरुरी छैन,’ केसीले भने, ‘प्रदेशस्तरमा साउन ७ र लामो दूरीमा साउन ११ गतेदेखि संचालन गर्ने तयारी भईसकेको छ।’ पृथ्वीले पोखरा सहरभित्र भने गाडी चलाउँदैन।
लकडाउन थपेर साह्रै नै कडा गरे मात्र लामो दूरीमा संचालन रोक्न सकिने भएपनि व्यावयायीले अहिलेका लागि आन्तरिक तयारी थालिसकेको उनले बताए। ‘आज भनेर भोलि गाडी निकाल्न सकिन्न। लामो समय नगुडेका गाडी पूर्ण मर्मतसम्भारको पर्खाइमा छन,’ उनले भने, ‘मर्मतसम्भारबिना चलाउँदा जोखिम हुन्छ। त्यसैले हाम्रो तयारी भएको हो। बुधबारदेखि प्रदेशभित्र र ११ गतेदेखि लामो दूरीमा चलाउने बारे व्यावसायीसँग सल्लाह भईसकेको छ।’
प्रदेशभित्र संचालन गर्दा तनहुँको मुग्लिनपुल, स्याङजाको राम्दीपुल, बागलुङको ढोरपाटनसम्म सवारी चल्नेछन् ल। प्रदेश र लामो दूरीमा संचालन गर्दा पनि सरकारले तोकेको मापदण्ड पुरा गरेर संचालन गर्ने अध्यक्ष केसीले बताए। पोखराबाट लामो दूरीमा सार्वजनिक यातायात संचालन गर्दा पनि आधासंख्यामा यात्रु बोकेर मात्र गुड्ने उनले बताए।
प्रकाशित: ४ श्रावण २०७७ १०:२३ आइतबार





-600x400.jpg)