६ वैशाख २०८१ बिहीबार
समाज

भारतबाट फर्कनेको लर्को रोकिएन

त्रिनगर नाकामा भारतबाट फर्किरहेका नेपालीहरू । तस्बिर : नागरिक

भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।

भारतमा कोरोनाको संक्रमण फैलिएसँगै फागुनको अन्तिम सातादेखि भारतबाट फर्कनेको सिमामा भिड लाग्न थालेको हो । सरकारले लकडाउन सँगै चैत ११ गतेदखि सिमा बन्द गर्यो । सिमा बन्द हुदाँ पनि त्यस अवधीमा महाकाली नदी तरेर, जंगलको बाटो भएर सयौ जना नेपाली सुदूरपश्चिम प्रवेश गरे । लकडाउनले काम बन्द भएपछि वस्ने ठाउँ समेत नपाएर अलपत्र परेका पैदल हिडेरै सिमासम्म आईपुगेकाले भारततिर नै क्वारेन्टिन मा राखियो । 

कैलालीको सिमापारी भारतको पलिया, कंचनपुरको बनवासा, खटिमा र दार्चुलाको पारी धार्चुला र बैतडीको सिमा पारी देहरादुन लगायतका ठाउँमा ३ हजार बढी नेपाली करिव एक महिना सम्म क्वारेन्टिन मा वसे । उनीहरूलाई बैशाख माहिनाको अन्तिम तिर र जेठको पहिलो साता प्रवेश गराइयो । औपचारिक रुपमा निर्णय गरेर सिमा नाका खुला नगरेपनि जेठ ७ गते देखि सुदूरपश्चिमका दुई ठूला नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकि नाकाबाट प्रवेश खुला गरियो । प्रवेश नाका खुला सँगै यि दुई नाकामा दिनहुँ भारतबाट फर्कनेहरूको भिड लाग्यो । जेठ महिनामा मात्र १ लाख भन्दा बढी प्रवेश गरेका छन । त्यस यता पनि भारतबाट आउने क्रम रोकिएन ।

भारतबाट घर फर्कनेको संख्या पातलिदै गएकोमा पछिल्लो साता अझ सिमामा घर फर्कनेको भिड बढेको छ । एक सातामा मात्र कैलालीको त्रिनगर नाकाबाट मात्र ६ हजार बढी प्रवेश गरेको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताए । होटल,उद्योग,व्यवसाय, कम्पनी लगायतका काम गर्ने बन्द भएपछि त्याहाँ काम गर्नेहरू यस अघि नै घर फर्केका हुन । 

लिम्पियाधुरा सहितको भुभाग समेटेको नक्सा पास गरेपछिका दिनमा नेपाल र भारत बिचको सम्वन्धमा चिसो बढ्दै अहिले त्याहाँ रहेका अन्य नेपाली पनि फर्कने क्रम बढेको हो । ‘सिमानाको विवाद बढ्दै गएकोले हामी प्रति व्यवहार पनि फरक गर्न थाले, त्यसैले हामीहरू घर आयौ’भारतबाट फर्केका डोटीका आदर्श गाउँपालिका वडा नम्वर ६ का तेजराज ओझाले भने । पहिले काम गरेको सेलरी नियमित दिन्थे, अहिले सेलरी पनि नियािमत दिन छोडेको र व्यवहार पनि नराम्रो गर्न थालेको उनले बताए ।

पछिल्लो दिनमा अपमानित किसिमको व्यवहार गर्न थालेको भारतबाट घर फर्केका बताउँछन्। अस्पतालमा समेत नेपालीहरूलाई उपचारमा अलग व्यवहार गर्ने गरेकोले पनि उनीहरू घर आएको बताउँछन्। रुघाखोकी अथवा कुनै समस्या भएर अस्पतालमा जाँदा पनि अस्पतालले गर्ने व्यवहारले पनि समस्या हुने गरेको उनीहरू बताउछन ।

याहाँ नेपालीलाई गर्ने व्यवहार पनि अपमानजनक हुने गरेको उनीहरू बताउँछन्। ‘कोरोनाको त्रास त छदै थियो, भारतमा नेपालीहरूलाई हेप्ने, अलग व्यवहार गर्न शुरु गरेकाले हामीलाई उता वस्ने मन लागेन’उनले भने,‘अझै धेरैजना घर आउने तयारीमा छन ।’

डोटी आदर्श गाउँपालिका वडा नं ६ मा मात्र दुई दिनमा दुई सय भन्दा बढी जना आफ्नो वडाको भारतबाट फर्केको वडा अध्यक्ष लालबहादुर खडायतले बताएका छन्। ‘सिमानाको विवाद बढ्दै गएपछि त्याहाँ समस्या हुने देखेर भारतमा बाँकी रहेका नेपालीहरू पनि घर फर्कन थालेका छन्,’उनले भने । कोरोनाको संक्रमण फैलिएपछि भारतबाट करिब ३ लाख जना सुदूरपश्चिममा फर्किसकेका छन्। भारतबाट अझै कती नेपाली घर फर्कने हुन भन्ने एकिन छैन्।

सुदूरपश्चिमका भारतमा रोजगारीका शिलशिलामा कती जना गएका छन भन्ने एकिन तथ्यांक छैन । सुदरपश्चिमाबाट देशभरीमै सवैभन्दा बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। भारतको मुम्मई, दिल्ली, उत्तरप्रदेश, उत्तराखण्ड, पंजाव लगायतका सबै ठाउँमा नेपालीहरू मजदुरी गर्न जाने गरेका छन्। बुबा बाजेकै पालादेखि रोजगारीका लागी सुदूरपश्चिमका युवाहरूको गन्तव्य भारतिय ठाउँ(कालापाहाड, मुग्लान)हरू नै हुन्।  

एक अध्ययनका अनुसार सुदूरपश्चिमका ८० प्रतिशत घरधुरीको परिवारको एक जना भारत गएका छन । यसरी हेर्दा करिब ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेको पाईन्छ । सुदूरपश्चिममा उब्जनीले वर्षभरी खान नपुग्ने र अन्य आयश्रोतको उपाय नभएकाले परिवार पाल्नकै लागी भारतका बिभिन्न शहरमा सस्तोमा श्रम बेच्ने गरेका छन्।

कतिपय खेतीपाती लगाई सकेपछि ५, ६ महिनाका लागी मात्र भारत जाने भएकाले र फागुन देखि यता ३ लाख घर फर्किसकेकाले अव करिब २ देखि अढाई लाख भारतमा हुन सक्ने नागरिक समाजका अगुवा धर्मराज पाठक बताउँछन्। भारतबाट फर्केकाहरूलाई स्थानीय तहले सिमाबाट गाडिको व्यवस्था गरेर गाउँमा लगेर क्वारेन्टिन मा राखेको छ ।  

गाउँ नजिकै क्वारेन्टिन मा राखेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुृसार सुदूरपश्चिममा  ६ हजार ८ सय ३ जना क्वारेन्टिन मा रहेका छन । भारतबाट फर्कने क्रम नरोकिएकाले सुदूरपश्चिममा कोरोना संक्रमणको उच्च जोखिम कायमै रहेको छ । सुदूरपश्चिममा संक्रमण फेला परेको मध्य अधिकाशं भारतबाट फर्केकोहरू नै छन ।

प्रकाशित: २ श्रावण २०७७ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App