२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

उपत्यकाका ३ हजार नुमना परीक्षणमा ३ संक्रमित

काठमाडौं उपत्यकामा समुदायस्तरमै कोरोना हुनसक्ने सवाल उठेपछि विभिन्न २७ ठाउँबाट ३ हजार स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएकोमा टोखाका ३ जनामा मात्र कोरोना पुष्टि भएकोे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीका विभिन्न लक्षित स्थानमा नमुना संकलन गरी परीक्षण थालिएको र पहिलो चरणमा ३ हजार नमुना संकलन गरिएको जानकारी दिएको छ।  

मन्त्रालयले काठमाडौंमा समुदायमा कोरोना सर्वेक्षण गर्ने क्रममा फरक–फरक ठाउँबाट नमुना संकलन गरेको थियो। राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा कन्ट्याक्ट टे«सिङ इकाइका प्रमुख धनप्रसाद पौडेलेले काठमाडौंको कोटेश्वर, टोखा, कपन, तीनकुने, नख्खु, बानेश्वर, कालीमाटी, गोंगवूलगायत २३ ठाउँबाट ४८  सय नमुना संकलन भइसकेका छन्। नमुना संकलन गर्ने क्रममा बैंकका काउन्टर, मालपोत, भूमिसुधार जस्ता सरकारी कार्यालयलगायत मानिसको बढी भीड हुने स्थान छनोट गरिएको थियो। त्यसैगरी, फलफूल पसल, दूध पसल, चिया पसल, तरकारी पसल तथा सैलुन सञ्चालकलगायतको नमुना परीक्षण गरिएको थियो।  

नमुना संकलन गर्ने क्रममा ट्राभल हिस्ट्री नभएका संक्रमित व्यक्तिको क्षेत्रमा समेत गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृत पौडेलले बताए। ‘शंकास्पद ठाउँमा गरेका छौं र संकलन र परीक्षण गर्ने  क्रम जारी छ,’ उनले भने।  

मन्त्रालयले संक्रमण घट्दै जानुमा क्वारेन्टिनमा संख्या घट्नु र धेरैको संख्यामा विदेशबाट नआउनुलगायत कारण रहेको र समुदायमा संक्रमणसमेत नरहेको दाबी गरेको छ। बिहीबार नियमित पे्रस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘संक्रमण दर कम भएको हो, तर जोखिम कम भएको छैन।’  

सरुवा रोग तथा अन्य जनस्वास्थ्यविद्हरुले भने समुदायमा नमुना संकलन लक्षित स्थानमा अझै नपुगेको जनाएका छन्। ‘प्रभावित जिल्लाबाट आएका, भारत तथा तराईका जिल्लाबाट आएकामा परीक्षण हुन  सकेको देखिँदैन,’ एक विशेषज्ञ चिकित्सकले भने।  

सोही क्रममा गौतमले देशभरि बाढीपहिरो विस्थापितलाई व्यवस्थापन गर्दा उचित व्यवस्थापन नभएमा अन्य संक्रामक रोगसमेत फैलिनसक्ने भएकाले दुई मिटरको भौतिक दूरी कायम गर्न, उनीहरूले पिउनेपानी र सरसफाइको उचित व्यवस्थापन गर्न अनुरोध गरेको छ। ‘कोरोनासँगै जण्डिस, झाडापखालालगायत रोगको संक्रमण हुने जोखिम बढेको छ,’ प्रवक्ता डा. गौतमले भने।  

बिहीबार थप १६८ संक्रमित  

गत चौबिस घण्टामा थप १ सय ६८ जनामा कोरोना पुष्टि भएको छ। बिहीबारको संक्रमण दर ३.३५  प्रतिशत हो। चौबिस घण्टामा ४ हजार ९ सय ८१ वटा नमुना परीक्षण भएको थियो।

उपत्यकाबाहिर धनुषामा २७, नवलपरासीपूर्वमा १७, ओखलढुंगामा १५, कञ्चनपुर र कैलालीमा १४ जनामा संक्रमण पुष्टि भएको छ। नयाँसहित नेपालका कुल कोरोना संक्रमित १७ हजार ३ सय ४४ जनामा पुष्टि भएको छ भने सक्रिय संक्रमित ६ हजार ५६ जना छन्। हालसम्म कोरोनाबाट ३९ जनाको मृत्यु भइसकेको छ।  

तीमध्येमा हालसम्म ११ हजार २ सय ४९ जना निको भइसकेका छन्। यो संंख्या कुल संक्रमितमध्येमा ६४.८५ प्रतिशत हो। गत चौबिस घण्टामा २ सय १३ जना निको भएका हुन्।  नेपालमा हालसम्म ३ लाख ३ हजार ८ सय १० वटा नमुना परीक्षण भएका छन्।

प्रकाशित: २ श्रावण २०७७ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App