७ वैशाख २०८१ शुक्रबार
समाज

दलित समुदायबाट पहिलो सचिव बने मानबहादुर

नेपालमा पहिला दलित समुदाय निजामती क्षेत्रमै विरलै थिए । भएपनि स–साना पदवाटै निभृत्तिकरण लिएका भेटिन्थे । सोमबार नेपाल सरकारको सचिव पदमा पहिलो पटक दलित समुदायका व्यक्ति डा. मानवबहादुर बिके सचिव पदमा पुगेका छन् । सोमबार मन्त्रिपरिषदको बैठकले डा. बिकेलाई सचिवमा बढुवाको निर्णय गरेको हो । उनीसंगै गोकर्णमणी दुवाडी र मधु मरासिनीको पनि नाम सिफारिश भएको थियो । तीन जनामध्येमा हाल युवा तथा खेलदकुद मन्त्रालयमा सहसचिवमा रहेका बिके सचिव पदमा बढुवा भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेशनाथ मैनालीको अध्यक्षतामा रहेको बढुवा समितिको वैठकले सचिव बढुवाको लागि सिफारिश गरेको हो । मंगलबार नागरिकसित कुरा गर्दै सचिव बीकेले आफूलाई आधिकारिक पत्र नआइसकेकोले बढुवा यकिन नभएको बतााए । ‘पत्र आएपछि मात्र प्रतिक्रिया दिउँला’ उनले भने । बिके बढुवाको विषयमा थप केही कुरा बोल्न चाहेनन् ।

पाल्पाको देउराली गाउँमा मध्यमवर्गीय किसान परिवारमा जन्मिएका बिके सचिव पदसम्म आईपुग्दा संघर्षको लामो फेरहस्ति छ । यस भन्दा पहिला नै उनको बारेमा सार्वजनिक भएका कथा अनुसार बिके पाल्पाको देउराली गाउँमा मध्यवर्गीय किसान परिवारमा जन्मिएका थिए । अहिले मोटरवाटोको सुविधा भएपनि त्यतिबेला दुर्गम गाउँमा उनी हुर्किएका थिए ।

बिके खरिदार तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी ०६९ सालमा दलित समुदायबाट पहिलो पटक बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनेका थिए । बर्दिया, चितवन, मकवानपुर, सिरहा, तनहुँलगायतका जिल्लामा सीडीओ भई काम गरेका उनी श्रम विभागको महानिर्देशक, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव र प्रदेश ५ को प्रदेश सचिवको रुपमा जिम्मेवारी बहन गरिसकेका छन् ।

पाल्पाको मध्यमवर्गीय परिवारमा जन्मिएका बिकेले अमेरिकाको ब्राण्डाइज युनिभर्सिटी अमेरिकाबाट पिएचडी (पोस्ट डक्टरेट) गरेका छन् । उनले विद्यालय तहमा अध्ययन गर्दा शुल्क तिर्ने रकम नहुँदा हजुरबुवासंगै आरनमा काम गर्थे र त्यही भाँडा बनाएर बेचेर शुल्क जुटाउँथे । 

विद्यालयमा जातीय भेदभाव थियो । कथित माथिल्लो जातिका विद्यार्थी बेन्चमा बस्थे उनी भने घरैबाट लगेको सुकुल ओच्छाएर पढ्थे । कुरा त्यतिमा सीमित थिएन स्कुलमा कैयौं पटक साथीहरुले किताव फालिदिन्थे । उच्च शिक्षा पढ्दा काठमाडौंमा आए । जात थाहा पाएपछि बानेश्वर थापागाउँको डेराबाट निकालिएका थिए । सरकारी सेवामा प्रवेश गर्दा कार्यालय सहायकले समेत जातीय विभेद गरेका थिए ।

प्रकाशित: ३० असार २०७७ १३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App