१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लकडाउन उल्लंघन गर्दा २७ दिन जेल बसेर नेपाली फर्किए

कोरोना भाइरस (कोभिड–१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन गर्दा त्यसको उल्लंघन गरेकोमा १८ जना नेपाली २७ दिन जेल बसेर नेपाल फर्किएका छन् । भारतको दिल्लीस्थित तबलीगी सभाबाट फर्किदै गरेका नेपाली जमाती समूहले अदालतमा मुद्दा दायर भएपछि जनही एक—एक हजार रुपैयाँ धरौटी बुझाएर छुटेर आएका हुन् । यसरी छुटेर आउने सवै जना सुनसरी कोशी गाउँपालिकाका छन् ।  

लकडाउन उल्लंघन गरेको आरोप लगाई उत्तर प्रदेशको बागपत जिल्लास्थित खेकडा जेलमा बन्दी बनाएर राखिएको थियो । यसरी बन्दी बनाएर राखेको सूचना पाएपछि कोशी गाँउपालिकाले परराष्ट्र मन्त्रालय र दुतावासलाई आग्रह गरेर पहल भएपछि अदालतले धरौटी लिएर छाडेको हो । उनीहरुलाई रिहा गर्न मुख्य न्यायिक मजिस्ट्रेट बागपतले जरिवाना तिराउने आदेश गरेका हुन् ।

अदालतले छाड्ने निर्णय गरेपछि सवै जना अहिले नेपाल फर्र्किए सकेका छन् । फर्किएका सवैलाई कोशी गाउँपालिका वडा नं. ४ को मदर्शमा रहेकोमा क्वारेन्टाइनमा राखिएको छ । ‘भारतमा बन्दी बनाएर राखिएकाको स्वास्थ्य निकै कमजोर थियो । अहिले भने क्वारेन्टिनमा राखेपछि क्रमशः सुधार हुँदै गएको छ,’ कोशी गाउँपालिकाका अध्यक्ष अयूव अनसारीले भने ।  

भारतमा बन्दी बनाएर स्वदेश फर्किएका उनीहरु कोशी गाँउपालिकाबाट धार्मिक सभामा सहभागी हुन मार्च १३ मा उनिहरु दिल्लीस्थित काली मस्जिद पुगेका थिए । जमाती सभा सकेर सवै जना लकडाउनका कारण हिडेरै उत्तर प्रदेशको बालेनी आइपुगेका थिए । भारत प्रशासनले उनीहरुलाई बालेनीमा ५२ दिन क्वारेनटाइनमा राखेको थियो ।  

क्वारेन्टिनबाट नेपाली भएकै कारण निकालिएका उनीहरुलाईं मे २१ तारिकमा बागपतको एक जंगलबाट नियन्त्रणमा लिइ हिरासतमा राखिएको थियो । बन्दी बनाएर राख्दा उनीहरुलाई त्यहाँको प्रशासनले निकै दुःख दिएको कयुम मनसुरीले बताए । उनका अनुसार मानसिक यातना समेत दिने काम भएको थियो ।  

अर्काे पीडित साफिद मियाका अनुसार बन्दी बनाएर राख्दा शुरुमा एक टाइम मात्र खाना दिएकोमा पछि सबैले आन्दोलन गरेपछि मात्र दुई टाइम खान दिइएको थियो । अहिले गाउँपालिकाले क्वारेन्टिनमा राखेका १८ जनाकै केही दिनभित्र कोरोना परीक्षण गरेर घर फर्काउने योजना रहेको अध्यक्ष अयूवले बताए ।

प्रकाशित: ९ असार २०७७ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App