राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं काठमाडौं क्षेत्र नम्बर-४ का उम्मेदवार पुकार बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एउटै मञ्चमा बसेर सुशासनको बहस गर्न आफूहरूलाई नैतिकताले नदिने बताएका छन्।
बुधबार ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै बमले आफ्नै नागरिकमाथि गोली चलाउने र देशलाई यो अवस्थामा पुर्याउने नेतृत्वसँग एउटै मञ्चमा उभिनु रास्वपाका लागि ‘स्तर घट्नु’ हुने टिप्पणी गरेका हुन्।
बमले जेन-जीको आन्दोलनका क्रममा सरकारले दमन गरेको र गोली चलाएको घटना स्मरण गर्दै पुराना नेताहरूले पहिले माफी माग्नुपर्ने बताए।
उनले भने, ‘जसले आफ्नै नागरिकलाई सडकमा ड्याङड्याङ गोली हान्यो, जसका कारण १९–२० जना युवाले ज्यान गुमाए, उहाँहरूसँग एउटै मञ्चमा बसेर हामीले सुशासनको गफ सुन्ने ? यो हाम्रो नैतिकताले दिँदैन।’
उनले पुराना दलका नेताहरूले युवाहरूलाई सुन्तला चोर र फ्यान्टा चोरको आरोप लगाएर अपमान गरेको भन्दै आक्रोश पोखे। ‘उहाँहरूले त जेनजीसँग माफी माग्नुपर्ने हो,’ बमले भने, ‘हत्या र दमनको दाग लागेकाहरूसँग लोकतन्त्र र सुशासनको डिबेट गर्नुको कुनै अर्थ छैन।’
उनले थपे, ‘उहाँहरूले हाम्रो लेभलमा आएर डिबेट गर्नका लागि कम्तीमा आफ्नो नैतिक स्तर उकास्नुपर्छ। भ्रष्टाचार र कुशासनको पर्याय बनेकाहरूसँग बसेर बहस गर्नु भनेको हाम्रो स्तर खस्किनु हो, हामी त्यो गर्दैनौँ।’
उनले केपी शर्मा ओली व्यक्ति नभई एउटा प्रवृत्ति भएको र त्यो प्रवृत्तिलाई रोक्नकै लागि बालेन शाह झापा–५ मा चुनाव लड्न गएको समेत जिकिर गरे।
प्रकाशित: १४ माघ २०८२ २०:३५ बुधबार





