चुनाव घोषणा भएसँगै लामो समयदेखि आन्तरिक कलहमा अल्झिएको नेपाली कांग्रेस खोटाङ फागुन २१ गते नजिकिँदै गर्दा एकताको तीव्र पहलमा जुटेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति करिब एक महिना मात्र बाँकी रहँदा अलग–अलग धारमा विभाजित जिल्लाका कांग्रेसी नेता–कार्यकर्ताहरू पुनः एकजुट हुने प्रयासमा लागेका हुन् ।
पार्टी केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै पालिकास्तरसम्म फुटको शिकार बनेका नेता–कार्यकर्ताहरू चुनाव नजिकिएसँगै भेला र छलफललाई तीव्र बनाउँदै लगेका छन् । यसै क्रममा नेपाली कांग्रेस खोटाङ–काठमाडौं सम्पर्क समितिको माध्यमबाट जिल्लाका अगुवा नेताहरूलाई एकै ठाउँमा उभ्याउने प्रयास गरिएको हो । समितिको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको पक्षमा नतिजा ल्याउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कांग्रेसले उक्त भेलालाई ‘एकता सन्देश कार्यक्रम’को नाम दिएको छ । काठमाडौंको अनुपम फुडल्याण्ड पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा कांग्रेसका उम्मेदवार वीरकाजी राईको जित सुनिश्चित गर्ने उद्देश्यले सबै तहका नेताहरूलाई एउटै मञ्चमा ल्याएर आपसी मतभेद मेटाउने प्रयास गरिएको सम्पर्क समितिका सचिव नवराज वनले बताए । उनका अनुसार निर्वाचनको परिणाम कांग्रेसको पक्षमा पार्न प्रभावकारी भूमिका खेल्ने उद्देश्यले खोटाङे कांग्रेसजनलाई एकताबद्ध गराउने गरी कार्यक्रम आयोजना गरिएको हो ।
सम्पर्क समितिका सभापति गोपाल सैँजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उम्मेदवार वीरकाजी राई, केन्द्रीय सदस्यहरू सरस्वती बजिमय र सुवासकुमार पोखरेल, १ नं. प्रदेश कार्यसमिति महामन्त्री भुपेन्द्र राईलगायत दर्जनौँ अग्रज नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी नेताहरूले यसअघिका आन्तरिक असन्तुष्टि र मतभेदलाई भुलेर अब सबै कांग्रेसजन एकताबद्ध भई चुनावी नतिजा आफ्नो पक्षमा पार्न तत्काल सक्रिय हुनुपर्नेमा जोड दिए ।
नेताहरूले वर्तमान राजनीतिक अवस्था तथा आर्थिक–सामाजिक चुनौतीको सामना गर्न कांग्रेसको काँधमा प्रमुख जिम्मेवारी आएको उल्लेख गर्दै समग्र खोटाङको विकास र समृद्धिका लागि वीरकाजी राई उपयुक्त र सक्षम उम्मेदवार भएको सन्देश एक स्वरमा जनतासमक्ष पुर्याउनुपर्नेमा सहमति जनाए । साथै, निर्वाचन जितका लागि केन्द्रीय तहदेखि जिल्ला र पालिकास्तरसम्मका सबै नेता–कार्यकर्ताले शुभेच्छुक र समर्थकलाई एकजुट हुन आह्वान गरेका छन् ।
सम्पर्क समितिको भेलाले काठमाडौंमा रहेका खोटाङे कांग्रेसजन जिल्ला फर्केर चुनावी अभियानमा सक्रिय रूपमा खटिने प्रतिबद्धता पनि जनाएको छ । एकता सन्देश सभामा व्यक्त प्रतिबद्धता र ऐक्यबद्धताले पार्टी उम्मेदवारको पक्षमा सकारात्मक माहौल सिर्जना हुने तथा सामूहिक प्रतिबद्धताले नेता–कार्यकर्तामा थप उत्साह र ऊर्जा थपिएको सभापति सैँजुले बताए ।
खोटाङ कांग्रेसमा लामो समय सभापति रहेका विष्णुकुमार राईमाथि पार्टीले कारबाही गरेपछि संगठन कमजोर बनेको थियो । चुनाव नजिकिँदै गर्दा कारबाही फुकुवा भए पनि गगन र विश्वप्रकाश समूहले आयोजना गरेको विशेष महाधिवेशनप्रति जिल्ला कांग्रेस एकताबद्ध हुन सकेको थिएन ।
विशेष महाधिवेशनले आधिकारिकता पाएसँगै पुरानो संस्थापन (देउवा) पक्ष र गगन पक्ष दुवै एकाकार भएर अघि बढ्न सहमत भएको देखिएको छ । त्यसकै परिणामस्वरूप वीरकाजी राईले टिकट पाएको एकथरि कांग्रेसीको भनाइ छ । ढिलै भए पनि कांग्रेसजन एकजुट हुन सके आगामी निर्वाचनमा नतिजा हात पार्न सकिने आशा नेता–कार्यकर्तामा तीव्र रूपमा बढेको उनीहरू बताउँछन् ।
प्रकाशित: १४ माघ २०८२ २०:१४ बुधबार





