८ वैशाख २०८१ शनिबार
समाज

सर्लाहीका महत्वपूर्ण सरकारी कार्यालय खुलेनन्

सर्लाहीका महत्वपूर्ण सरकारी कार्यालयहरु आज (सोमबार) बाट पनि खुलेनन्। नेपाल सरकारले मुलुकभरका सबै सरकारी कार्यालय दुई ‘सिफ्ट’मा संचालन गर्ने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय मलंगवारले सोमबार एक सूचना जारी गरी सर्लाही भित्रका ९ वटा महत्वपूर्ण सरकारी कार्यालयबाट अर्को आदेश वा निर्णय नभएसम्मका लागि सेवाप्रवाह नहुने जानकारी दिएको छ।  

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय मलंगवा, ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवा, भूमिसुधार एवं मालपोत कार्यालय मलंगवा, मालपोत कार्यालय हरिवन र बरहथवा, नापी कार्यालय मलंगवा, हरिवन र बरहथवा नखुल्ने भएका हुन्।

सर्लाहीमा कोरोना भाईरस संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको र संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम भएकाले अत्यन्त भिडभाड हुने सरकारी कार्यालयहरु हालललाई बन्द गर्ने निर्णय गरिएको प्रजिअ जिसीले जानकारी दिए।

‘समुदायलाई कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगाउन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रमण रोग ऐन, २०२० को दफा २ अनुसार मिति २०७७ असार १ देखि २ शिफ्टमा प्रवाह गर्ने भनिएका सेवाहरु अर्को आदेश वा निर्णय नभएसम्मको लागि अत्यन्त भिडभाड हुने सरकारी कार्यालयहरुबाट प्रवाह नगर्ने निर्णय भएको छ’, प्रजिअ जिसीले सोमबार नागरिकसँग भने, ‘जिल्ला संकट व्यवस्थापन केन्द्रको मिति २०७७ जेठ ३२ को निर्णय अनुसार ती कार्यालयहरुको सेवाप्रवाह बन्द गर्ने निर्णय गरिएको हो।’

अन्य सरकारी कार्यालय भने नेपाल सरकारले गरेको निर्णय अनुसार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ शिफ्टमा सञ्चालन हुने प्रजिअ जिसीले जानकारी दिए।

सर्लाहीमा आइतबारसम्म ४८७ जना कोरोना संक्रमित फेला परिसकेका छन्। अझै सयौंको पीसीआर रिपोर्ट आउन बाँकी छ। भारतबाट सर्वसाधारण नेपाल भित्रिने क्रम पनि जारी नै रहेको छ।

प्रकाशित: १ असार २०७७ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App