डडेल्धुरा नवदुर्गा गाउँपालिकामा क्वारेन्टिन मा राखिएका भारतबाट फर्केकालाई आरडिटी जाँच गरेर रिपोट नेगेटिभ आएकालाई घर घर पठाईयो । आरडिटी पोजेटिभ आएकाको नमुना संकलन गरेर पिसिआर जाँचका लागी धनगढी ल्याइयो । करिव १३ दिनपछि उनीहरुको पिसिआर जाँचको रिपोट आउँदा २३ जनामा कोराना संक्रमण पुष्टि भयो । क्वारेन्टिन मा संगै वसेकालाई संक्रमण पुष्टि भएपछि आरडिटी जाँच गर्दा रिपोट नेगेटिभ आएर घर घर पठाइएकाको पिसिआर जाँचका लागी नमुना संकलन गर्न बाेलाइयो । घर गएकाले परिवारका र छिमेकीमा समेत घुलमिल भैसकेकाले आफूसहित परिवारका र अन्यमान्छेको पनि पिसिआर जाँच गरिनुपर्ने माग राखेका छन्।
सक्रमणको पुष्टि भएकाहरु सँगै क्वारेन्टिनमा एउटै कोठामा वसेका र उनीहरुका घर गएर समुदायमा घुलमिल भएकाले स्वास्थ्यकर्मीलाई के गर्ने भनेर फसाद परेको छ । ‘एउटा कोठामासँगै बसेका मध्य कसैको आरडिटी पोजेटिभ आएपछि नेगेटिभ रिपोट आउनेलाई होम क्वारेन्टिन मा बस्ने भनेर घर पठाएको हो , आरडिटी पोजेटिभ भएकाको नमुनाको रिपोट १०, १२ दिनपछि ढिलो आयो’ नवदुर्गा गाउँपालिकाका स्वास्थ्य कोर्डनेटर खगेन्द्र भट्टले भने,‘संक्रमण पुष्टि भएकासँगै क्वारेन्टिनमा एउटै कोठामा बसेकाहरु घर गएर घुलमिल भैदिएछन्, अहिले नमुना संकलनकोलागी बाेलाउदाँ परिवार सहित सवैको नमुना संकलन भनिरहेका छन, त्यो गर्न सकिने अवस्था छैन, के गर्ने जटिल अवस्था भएको छ ।’ आरडिटी जाँच गरौ भन्दा उनीहरु र स्थानीयले आरडिटी जाँच गर्न इन्कार गरेको उनले बताए ।
नवदुर्गा गाउँपालिकामा जेठ महिनामा भारतका बिभिन्न ठाउँबाट करिव १७ जना आएका थिए । ६, ७ जनालाई व्यवस्थित रुपमा राख्न सकिने अवस्थामा भारतवाट आउने संख्या अत्यधिक हुदाँ चाप बढेकाले आरडिटी जाँच गरेर नेगेटिभ रिपोट आएकालाई घर पठाइएको उनी बताउछन् । आरडिटी जाँच गर्दा १ सय ५८ जनाको पोजेटिभ आएको ती मध्य ७६ जनाको मात्र नमुना जाँचको रिपोट आएको छ । नमुना जाँच भएका मध्य शनिवार एकैदिन २३ जनामा पोजेटिभ देखिएको हो । भने गाउँपालिकामा मात्र २७ जना संक्रमित देखिएका छन ।
‘पहिले घर पठाएकालाई अहिले फेरी जाँच गर्न वोलाएको छ, उनीहरु घर गाउँ सवैतिर घुलमिल भएका थिए, कति जनालाई संक्रमण सरेको छ भने त्रास फैलिएको छ ।’स्थानिय एक महिलाले भनिन् ।आरडिटी जाँचको रिपोट भरपर्दो नभएकाले भारतवाट फर्केका सवैको पिसिआर जाँच गरिनुपर्छ भनेर शुरुदेखि नै स्थानिय,बिज्ञ र नागरिक समाजावाट अवाज उठ्दा समेत सुनवाई भएन् । अहिले उल्टो तरिकाले आरडिटी जाँच गरेर घर पठाएकालाई पिसिआर जाँच गर्नुपर्दा अझ बढी महंगो र झन्झटिलो भएको छ । अझै आरडिटी जाँचमा नेगेटिभ रिपोट आएर घर पठाइएकोमा कोरोनाको संक्रमण भएमा उनीहरुको सम्पर्कमा आएका घर परिवार र छिमेकीको समेत पिसिआर जाँच गरिनुपर्ने हुन्छ । अव्यवस्थित क्वारेन्टिन मा समाजिक दुरी र अन्य कुनै सावधानी नअपनाएर शौचालय, खानेपानी सवैले संगै प्रयोग गर्ने लगायतको घुलमिल भएकाले संक्रमण अरुमा पनि सरेको हुन सक्ने भन्दै स्थानियले बिरोध गरेपछि घर घर पठाइएका सवैको नमुना संकलन गरिएको हो ।
‘सिमावाट प्रवेश गर्ने बित्तिकै पिसिआर जाँच गरेको भए समुदायमा संक्रमण फैलिने संभावना हुदैनथ्यो, सवैलाई गाउँ गाउँ पठाएकाले समुदायमा कोरोना संक्रमण फैलिसकेको छ’वरिष्ठ फिजिसियन शुृभेसराज कायस्थ भन्छन,‘आरडिटी जाँचले भाईरस नदेखाउने भएकाले आरडिटीको भरमा रेडजोनवाट आएकालाई घर पठाइनु गलत हो ।’
आरडिटी पोजिटिभको पिसिआर भएन
बैतडीमा आरडिटी पोजिटिभ आएकाहरुको पिसिआर परीक्षण गर्न स्वाब संकलन हुन सकेको छैन । सेती प्रादेशिक अस्पतालमा रहेको एउटै मात्र ल्याबको परीक्षण क्षमता कम भएपछि स्वाब संकलन हुन नसकेको हो । जिल्लामा धेरै जनाको आरडिटी पोजिटिभ आएको छ । सबैको पिसिआर परीक्षण गर्ने भनिए पनि समयमै परीक्षण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले बताए ।
बैतडीमा ६ सय ७९ जना आरडिटी पोजिटिभ छन् । उनीहरुमध्ये ४ सय ७३ जनाको पिसिआर नतिजा आउन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाले दैनिक दुई सय ५० जनाको मात्र स्वाब परीक्षण गर्न सक्ने क्षमता भएकाले लामो समयसम्म रिपोर्ट आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका १० वटै स्थानीय तहमा आइतबारसम्म ३ हजार १ सय ७७ जना क्वारेन्टिनमा बसेका छन् । उनीहरुको परीक्षणका लागि आरडिटी किटको समेत अभाव भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
सरकारले उपलब्ध गराएका सबै किट सकिएपछि आरडिटी किटको अभाव भएको हो । आरडिटी किटको अभाव भएपछि क्वारेन्टाइनमा १४ दिन पूरा भएका नागरिकलाई समस्या भएको छ । उनीहरुको क्वारेन्टिनको बसाइँ पनि लम्बिएको छ । ‘दुई हप्ता अघि पठाएको पिसिआर रिपोर्ट अहिलेसम्म आउन सकेको छैन,’ शिवनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले भने, रिपोर्ट नआउँदा क्वारेन्टिनमा बसेकाहरु त्नाबमा छन् । रिपोर्ट कहिले आउन भनेर हैरानी गरेका छन् ।’
क्वारेन्टिन अवधि पूरा गरेपछि समयमै स्वाब संकलन नहुँदा समस्या निम्तिएको छ । आरडिटी नेगेटिभ आएकाहरुलाई एक हप्ता होम क्वारेन्टिनमा बस्ने सर्तमा पठाए पनि पोजिटिभ आएकाहरु तीन हप्ताभन्दा बढी समयसम्म क्वारेन्टिनमा बस्न बाध्य भएका छन् ।
आरडिटी पोजिटिभ देखिएका १ सय २४ जनाको अझै स्वाब संकलन भएको छैन । प्रयोगशालाको क्षमता कम भएपछि गत हप्ता पाँच दिनको लागि सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा स्वाब संकलन रोकिएको थियो । अझै प्रयोगशालामा १ हजार ८ सयभन्दा बढी स्वाब परीक्षणकै क्रममा छन् ।
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका नागरिकहरुको परीक्षण समयमा नहुँदा कोरोना संक्रमणको जोखिम बढ्दै छ । रिपोर्ट नआउँदासम्म आरडिटी पोजिटिभ आएकाहरु क्वारेन्टिनमा बस्दै आएका छन् भने नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाउने गरिएको छ । एउटै क्वारेन्टिनमा सँगै बसेका नेगेटिभ रिपोर्ट आएकाहरु एक हप्ता घरमै अलग बस्ने सल्लाह दिँदै घर पठाउने गरिएपछि गाउँमा कोरोनाको त्रास फैलिएको शिवनाथ गाउँपालिका–२ का महामलसिंह साउदले बताए ।
पिसिआर विधिबाट परीक्षण नहुँदासम्म ढुक्क हुने अवस्था नभएको आरडिटी पोजिटिभ आएकाहरु बताउँछन् । भारतबाट एउटै हुँलमा सँगै आएका धेरैमा कोरोना संक्रमण देखिँदा गाउँघरमा त्रास फैलिएको छ । भारतबाट सँगै आएका शिवनाथका ४ जनामा संक्रमण देखिएको छ, तर उनीहरुसँगै आएका धेरै जनाको आरडिटी टेस्ट गरेर घर पठाइएको स्थानीय बताउँछन् । आरडिटीको रिपोर्ट उल्टाउल्टोे आउने गरेकाले ढुक्कसँग बस्ने अवस्था नभएको पुर्चौडी नगरपालिका–३, न्यादेउका स्थानीय रमेश लुहारले बताए ।
पिसिआर विधिबाट परीक्षणै नगरी घर फर्काइएपछि कोरोना भए÷नभएको यकिन नहुँदा गाउँघरमा धेरै जना त्रसित रहेको मेलौली नगरपालिका–१ का सुरत पार्कीले बताए ।
आरडिटीलाई आधिकारिक मान्दै धमाधम घर पठाउन थालेपछि गाउँमा त्रास फैलिएको स्थानीय बताउँछन् । पछिल्लो समय जिल्लामा किटको अभाव भएपछि स्थानीय तहले आरडिटी किट खरिद गर्न थालेका छन् । १४ दिन क्वारेन्टिनमा बसेकाहरुकाहरुलाई किटकै अभावमा जाँच नगरी घर पठाउनुभन्दा आरडिटी भए पनि गर्ने भन्दै किट खरिद गरेको पाटन नगरपालिकाका मेयर केशवबहादुर चन्दले बताए । आरडिटी मात्र गरेर घर पठाउँदा गाउँघरमा त्रास फैलिने पाटन नगरपालिकाका स्थानीय हरिश बष्टिले बताए । आरडिटी भरपर्दो नहुँदा नहुँदै पनि आरडिटीकै आधारमा घर पठाउँदा जोखिम बढेको उनी बताउँछन् । आरडिटीकै भर पर्दा समुदायमा कोरोना फैलिने त्रास रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
आरडिटी जाँच बन्द गर्न माग
आरडिटी जाँचको रिपोट भरपर्दो नभएर जोखिम बढेको भन्दै याहाँ सडक देखि सदन सम्म अवाज उठेको छ । शुक्रवार धनगढीको चौराहमा युवाहरुले आरडिटी जाँच बन्द गर्नुपर्ने माग सहितका प्लेकार्ड वोकेर प्रदर्शन गरेका थिए । आरडीटी बन्द गर, पुरै पिसिआर जाँच गर लगायतका नारा लेखेका प्लेकार्ड वोकेका थिए ।
धनगढी उपमहानगरपालिका वानं ४ का ५५ बर्षिय महिलाको आरडिटी रिपोट नेगेटिभ आएपछि उनलाई डाईलोसिस वार्डमा भर्ना गरियो । त्यहि क्रममा उनको मृत्यु भएपछि आरडिटी रिपोटकै भरमा अन्तेष्टी समेत गरियो । पछि पिसिआर जाँच गर्दा कोरोनाको संक्रमण पुष्टि भयो । यसरी आरडिटी रिपोट भरपर्दो नभएको भन्दै सर्वसधारणले समाजिक सन्जालमा बन्द गर्नं अवाज उठाएका छन । आरडिटीले उल्टोपुल्टो रिपोट दिने भएकाले सवैको पिसिआर जाँच गर्दा क्वारेन्टिन मा गरिने खर्च पनि घट्ने डडेल्धुृरा नेकपाका नेता डा. ताराजोशी बताउछन ।‘सवै तहका सरकारले बुझुन पिसिआर ल्याव बढाउनुृ भनेको संक्रमणको दर र क्वारेन्टीनको खर्च दुवै उल्लेख रुपमा घटाउनु हो’उनले समाजिक सन्जाल फेसवुकमा लेखेका छन ।
भने सुदूरपश्चिम प्रदेश शभाको बैठकमा सत्तापक्ष र बिपक्षी दलका सासंदहरुले आरडिटी जाँच बन्द गर्न माग गरेका थिए । आरडिटीको बिश्वसनियता बिश्वमा कतै नभएको भन्दै सासंदहरु ले प्रयाग बन्द गर्न माग गरेका थिए । ‘आरडिटी जाँच गरेर पठाइएकाबाट संक्रमण भयाभह फैलिन सक्ने भएकाले आरडिटी जाँच बन्द गरेर पिसिआर जाँच बढाइनु पर्छ’ नेकपाका प्रदेश शभा सदस्य पुर्णा जोशीले भनिन् । यसैगरी नेपाली काग्रेसका प्रदेश शभा सदस्य भरतबहादुर खड्काले यृुरोपियन देश लगायतका बन्द गरेको आरडिटी जाँचको प्रयोग हुनु दुःखद रहेको उल्लख गर्दै समुदायमा संक्रमण भयाभह फैलिन नदिन आरडिटी जाँच बन्द गर्नं माग गरे ।
प्रकाशित: ३२ जेष्ठ २०७७ ११:२० आइतबार





-600x400.jpg)