शैक्षिक भ्रमणका लागि सुनसरीको रामधुनीबाट धनकुटा गएको बस दुर्घटनामा परेको छ । आइतबार अपरान्ह भएको दुर्घटना हुँदा २४ जना घाइते भएका छन ।
धनकुटा-७ को घुम्तीमा अपरान्ह सवा चार बजे को १ ख ५३१३ बस पल्टिदा विद्यार्थी, शिक्षक र बसका चालक घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बसमा ३६ विद्यार्थी, तीन शिक्षक तथा चालक र सहचालकसहित ४१ जना थिए । ‘घाइते भएकामध्ये कसैको टाउँकोमा र कसैको हातमा समस्या छ,’ जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी शरद थापा क्षेत्रीले भने, ‘धेरैजसोको यही जिल्ला अस्पताल धनकुटामा उपचार भएर डिस्चार्ज हुने क्रममा छन् । चार जनालाई भने थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा एक जना चालक र अरु तीन जना विद्यार्थी छन् ।
‘कतिपयलाई डिस्चार्ज गरी घर पठाइ सकेका छौं, केहीलाई चाडै नै डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ,’ एसपी थापा क्षेत्रीले भने, ‘गाडी प्राविधिक गडबढीले पल्टिएको अनुसन्धानबाट खुलेके छ ।’
सुनसरी रामधुनी नगरपालिका-५को पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलको शैक्षिक भ्रमण टोली तेह्रथुम पुगेर फर्कँदा दुर्घटनामा परेको हो ।
प्रकाशित: १४ मंसिर २०८२ २०:५२ आइतबार





