७ वैशाख २०८१ शुक्रबार
समाज

रुकुम घटना : ‘नवराज हिँड्नुभन्दा पहिले नै घेराबन्दीको तयारी’

गत जेठ १० गत शनिबार दिउँसो जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक आफ्ना १८ जना साथीसहित प्रेम बिहेका लागि केटी लैजान रुकुम पश्चिमको चौरजहारी हिँड्छन् । उनीहरु जाजरकोटमा छँदा नै साथीसहित नबराज हिँडेको खबर रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमक्ष आउँछ । मल्ललाई जाजरकोटबाट टेलिफोनमार्फत नवराज केटी लिन चौरजहारी आउन लागेको खबर आएपछि उनले पनि गाउँका केही युवासँग फोन कुरा गर्छन् ।  

वडाध्यक्ष मल्लले फोन गरेर स्थानीय विनोद मल्लको नेतृत्वमा १२ जनालाई जाजरकोटबाट केटी लिन आएका नबराजसहितका केटाहरुलाई आउन नदिन स्थानीय ढोल्ला पुलमा पठाउँछन् । वडाध्यक्षको निर्देशनअनुसार विनोदको नेतृत्वमा १२ जना युवाहरु पुलनजिकै जाजरकोटबाट आउने केटाहरुलाई पर्खेर बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।  

घटनासँग सम्बन्धित सबैको कलडिटेलको अनुसन्धान गरिहेको प्रहरीले वडाध्यक्षलाई पहिले नै जानकारी भए पनि प्रहरीलाई ढिला खबर गरेको पुष्टि गरेको छ । पक्राउ परेका सबैलाई वडाध्यक्ष मल्लले नै फोन गरेर बोलाएको कलडिटेलमा देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।  

वडाध्यक्ष मल्ललाई जाजरकोटबाट युवाहरु आउँदै गरेको दिउँसो नै थाहा भए पनि प्रहरीलाई भने उनले साँझ ६ बजेर ६ मिनेटमा मात्रै खबर गरेको देखिएको छ । प्रहरीलाई पहिले चौरजहारीको ढुंगेखालीमा जाजरकोटका केटाहरु र स्थानीयबीच झडप भएको भन्दै खबर गरेका थिए । ढुंगेखानीमा प्रहरी पुग्दा त्यहाँ कोही नभएपछि पुनः वडाध्यक्षलाई प्रहरीले फोन गरेको कलडिटेलमा देखिएको ती प्रहरी अधिकारीले बताए ।  

घटना भइरेको स्थानको खोजी गर्दै प्रहरी भेरी नदीमा पुग्दा साँझ ६ बजेर १८ मिनेट गएको थियो । तर भेरी नदीमा नबराज ६ बजेर ९ मिनेटमा डुबेको अनुसन्धानमा देखिएको छ । प्रहरी भेरी नदीमा पुग्दासम्म ४ जना डुबेका थिए । साँझ ६ बजेर १८ मिनेटमा भेरी नदीको किनारमा प्रहरी पुग्नवित्तिकै अन्य थप दुईजना डुबेको घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

केटाकेटीबीच सम्पर्क भएको देखिएन  

चौरजहारी नगरपालिका–८ की १७ वर्षीया मल्ल थरकी केटी र जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विकबीच गत बैशाखदेखि कुनै पनि माध्यमबाट कुरा नभएको प्रहरी अनुसन्धानमा देखिएको छ । वैशाखमा केटी लिनको लागि नबराज केटीको घर आएको बेला उनलाई प्रहरी हिरासतमा थुनिएको थिए । अनावश्यक घरमा आएको भन्दै वडाध्यक्ष मल्ले नै प्रहरीलाई खबर गरेर इलाका प्रहरी कार्याय चौरजहारीमा एक रात  थुनिएको थियो । जात नमिल्ने भएकाले बिहे हुन नदिने भन्दै केटी केटीका आफन्तले उनीहरुको सम्बन्ध अस्वीकार गर्दै आएका थिए । त्यसपछि केटा र केटीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहे पनि गत वैशाख १२ गतेदेखि फोन तथा म्यासेन्जरमार्फत कुरा नभएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।  

अहिले प्रहरीले केटा र केटीका साथै उनीहरुका आफन्तले प्रयोग गर्दै आएको मोबाइलको कलडिटेलको अनुसन्धा गरिरहेको छ । उक्त कलडिटेलमा केटा र केटीबीच कुरा नभएको देखिएको ती प्रहरी प्रहरी अधिकारीले बताए । ‘बैशाख १२ गते केटाकेटीबीच अन्तिम कुरा भएको देखियो,’ प्रहरी अधिकारीले भने, ‘त्यसक्रममा केटीले आफूलाई अनेत्रै बिह गर्न बाध्य पारेका छन् अब जेठ १२ गते थाहा हुन्छ भन्दै केटालाई भनेको कल डिटेलमा देखिन्छ ।’ त्यपछि फेसबुक तथा फोनमार्फत कुनै पनि कुरा नभएको प्रहरीले बताएको छ ।  

घटनाको अनुसन्धान गर्नका लागि अहिले एसएसपी पोषराज पोखरेलका साथै सिआइबीको टोली पनि रुकुममा रहेको छ । यी सबैले रुकुम प्रहरीले गरिरहेको अनुसन्धानमा सहयोग गर्दै आएको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । घटनाको सुष्म ढंगबाट अनुसन्धान भइरहेकाले पीडितले न्याय पाउने उनको विश्वास छ ।  

‘हामीले स्वतन्त्र रुपमा सुष्मा ढंगले अनुसन्धान गरिरहेका छौं,’ डिएसपी केसीले भने, ‘घटनाको अनुसन्धान नसकिएकाले अहिले नै केही बोल्ने अवस्था आएको छैन ।’ घटनाका संलग्न रहेको आरोपमा अहिलेसम्म २८ जनालाई पक्राउ गरिएको उनले बताए । चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित, प्रेम सम्बन्ध राखेकी मल्ल थरकी केटी, उनका बुबा, आमाका साथै अन्य घटनामा संलग्न रहका सबैलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

सडकदेखि संसद्सम्म बहस

उक्त घटनाको अहिले सडकदेखि संसदसम्म छलफल तथा बहस भइरहेको छ । कसरी उक्त घटना भयो भन्ने विषयमा विभिन्न रुकुम प्रहरीले सुष्म ढंगबाट अनुसन्धान गरिरहेको छ ।  

यसका साथै गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा गठन भएको छानबिन समितिले घटनास्थलको निरीक्षणपछि मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ ।  यी बाहेक प्रतिनिधि सभाका सांसद देबेन्द्र पौडेलको संयोजकत्वमा संसदीय विशेष समिति समेत गठन भएको छ । उक्त समिति बिहीबारसम्म घटनास्थल पुगेको छैन । यसअघि कर्णाली प्रदेशसभाका दलित सांसद्, मानव अधिकारकर्मी, विभिन्न जातीय संगठन लगायतले पनि आ–आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै सरकारलाई बुझाएका छन् ।

प्रकाशित: ३० जेष्ठ २०७७ ०१:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App