१ मंसिर २०८३ मंगलबार
image/svg+xml
राजनीति

देशी-विदेशी शक्ति मिल्दा पनि एमाले सिद्धिएन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी र कार्यकर्ताप्रति लक्षित ‘झोले’ तथा बहिष्कारका टिप्पणीलाई असहिष्णुताको पराकाष्ठा भएको आरोप लगाएका छन्।

मङ्गलबार अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकमा उनले देशी-विदेशी सबै शक्ति मिल्दा पनि एमाले नसिद्धिएको दाबी गर्दै बहिष्कारले पार्टीलाई कुनै फरक नपर्ने बताए।

अहिले एमाले भन्नेबित्तिकै ‘झोले’ र बहिष्कृतका रूपमा चित्रित गर्न खोजिएको उल्लेख गर्दै ओलीले सहअस्तित्व र इकोसिस्टम अस्वीकार गर्ने सङ्कीर्ण गतिविधि आफूहरूले नगर्ने बताए।

‘हामीलाई कसैले बहिष्कार गर्छ कि गर्दैन भन्ने मतलब पनि छैन,’ उनले भने, ‘हामी बहिष्कारको नीति र असहिष्णुताको पराकाष्ठामा उत्रिँदैनौं।’

निकाल्दासमेत पार्टी नसिद्धिएको र जहीँको तहीँ रहेको जिकिर गर्दै ओलीले एमाले नै नेपालको सबैभन्दा मजबुत देशभक्त, लोकतान्त्रिक, सुशासन तथा विकास दिने र स्पष्ट दृष्टिकोण भएको शक्ति रहेको दाबी गरे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको बाटोमा एमालेलाई देशको निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गरिने उनको भनाइ थियो।

रास्वपाप्रति कटाक्ष गर्दै अध्यक्ष ओलीले हावाहुरीको भरमा धाक नलगाउन टिप्पणी गरे। हुरीले आँगनका पात पर सार्दा मैले बढारेर सफा गरेँ भनेर धाक लगाउनेहरू चुनावको माध्यमबाट पार्टी बनाउन खोजिरहेको उनको आरोप थियो। ‘हामी चुनावमा पार्टी बनाउनेभन्दा पनि पार्टी लिएर चुनाव जित्न जान्छौं,’ उनले भने।

सोही क्रममा ओलीले नेता तथा कार्यकर्तालाई आन्दोलन र चुनाव दुवैको तयारीमा जुट्न निर्देशन दिए। चुनाव जित्नैपर्ने बताउँदै उनले महासङ्घका नेताहरूलाई हरेक किसानको घरदैलोमा पुगेर भेट्न, सम्झाउन, गोलबन्द गर्न र परिचालन गर्न आग्रह गरे। यसो गर्दा सङ्गठन असाधारण रूपमा फैलने र पार्टीले नसोचेको सफलता पाउने उनको दाबी थियो।

महासङ्घको आगामी माघमा तय भएको महाधिवेशन तथा जिल्ला र पालिका अधिवेशनमा आन्तरिक रस्साकसी नगर्न ओलीले सचेत गराए। लोकतन्त्रका नाममा आपसमा तानातान गर्नुभन्दा आन्तरिक एकता कायम गर्दै विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्नेमा उनले जोड दिए।

अधिवेशनमा सकेसम्म सहमतिबाट सक्षम नेतृत्व छान्न प्रेरित गर्दै ओलीले कसैले चुनाव लड्न चाहेमा पार्टीले नरोक्ने स्पष्ट पारे। ‘विपक्षीसँग लड्न एकताबद्ध भएर अगाडि जानुस्,’ उनले भने।

प्रकाशित: १ मंसिर २०८३ २२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App