संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारहरूले उद्धारका लागि गुहार माग्दै सार्वजनिक गरेको भिडियोमा गृहमन्त्री सुधन गुरुङले प्रतिक्रिया जनाउँदै उनीहरूलाई दुई दिनभित्र स्वदेश फर्काइने बताएका छन्।
दुबईमा आयोजित विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन हाल युएईमै रहेका गुरुङले उक्त भिडियोमा कमेन्ट गर्दै उद्धारका लागि दूतावासबाट टोली खटाइसकिएको जानकारी दिएका हुन्।
गृहमन्त्री गुरुङले उद्धार प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै स्वदेश फर्किन चाहनेको सङ्ख्या भने निकै कम देखिएको बताएका छन्।
‘दूतावासबाट हिजै एउटा टोली पठाइसकिएको छ, उनीहरूको उद्धार गरी २ दिनभित्र स्वदेश फर्काइनेछ,’ उनले लेखेका छन्, ‘फर्किन इच्छुक मानिसहरूको सङ्ख्या निकै कम देखिएको छ।’
यसअघि सार्वजनिक भिडियोमा युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले गृहमन्त्री गुरुङ युएई आउँदै गरेको थाहा पाएपछि उद्धार गरिदिन अपिल गरेका थिए। भिडियोमा बोल्ने युवाले आफूहरूसहित त्यहाँ २ सयदेखि ३ सय नेपाली युवा बिचल्लीमा परेको दाबी गरेका छन्।
वीरगञ्ज, धादिङ, दोलखा, काठमाडौं र काभ्रेलगायत जिल्लाबाट आएका आफूहरू प्याराडाइज म्यानपावर मार्फत युएई पुगेको उनीहरूको भनाइ छ।
सरकारले १० हजार रुपैयाँ सेवा शुल्क तोकेको भए पनि म्यानपावरले जनही दुईदेखि तीन लाख रुपैयाँसम्म असुलेको आरोप लगाउँदै उनीहरूले उक्त म्यानपावर बन्द गर्न र आफ्ना राहदानी तथा भिसा मगाइदिएर स्वदेश फर्काउन माग गरेका छन्।
प्याकिङ, वेयरहाउस गोदाम, लोडिङ-अनलोडिङ र कार्टुनमा टेप लगाउने काम भनेर लगिए पनि त्यहाँ क्षमताले नधान्ने गरी १५ सेकेन्डमै एउटा सामान टिपेर दिनुपर्ने दबाब दिइएको उनीहरूले गुनासो गरेका छन्।
समयमा काम नसके गाली गर्ने तथा सामान डिस्पोज भए वा ढिला भए तलबबाट पैसा काटिने गरेको र सम्झौताअनुसारको सेवासुविधा नपाएको उनीहरूको दाबी छ।
आफूहरूले अमूल्य मत दिएर त्यहाँसम्म पुऱ्याएको स्मरण गराउँदै ती युवाले क्याम्पमै आएर अवस्था बुझ्न गृहमन्त्री गुरुङसँग आग्रह गरेका छन्।
बालेन सरकारलाई जतिसक्दो चाँडो उद्धार गर्न अपिल गर्दै उनले स्वदेशमै कृषि वा व्यवसाय गर्न सकिने हुँदाहुँदै दुई पैसा बढी कमाउने लोभमा परदेश आउँदा बिचल्लीमा परेको भन्दै घर फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन्।
प्रकाशित: १ मंसिर २०८३ २१:४९ मंगलबार





