१ मंसिर २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

केश्म टापुमा अमेरिकी आक्रमण भएको इरानको आरोप, होर्मुजमा पाँच तेल ट्यांकरमा क्षति

फाइल तस्बिर

इरानले होर्मुज जलमार्गमा पर्ने आफ्नो दक्षिणी टापु केश्ममा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ। 

मंगलबार राति टापुका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएपछि इरानी अधिकारीहरूले अमेरिकी सेनाले आक्रमण गरेको बताएका हुन्।

यसैबिच, होर्मुज जलमार्गमा कम्तीमा पाँच वटा तेल ट्यांकरमा क्षति पुगेको इरानी सैन्य अधिकारीहरूले दाबी गरेका छन्।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार होर्मोज्गान प्रान्तका उपगभर्नर अहमद नाफिसीले अमेरिकी आक्रमणबाट केश्म टापुका आवासीय, व्यावसायिक तथा पूर्वाधार क्षेत्रमा क्षति नपुगेको बताएका छन्। 

उनले टापुको अवस्था नियन्त्रणमा रहेको र सबै सरकारी निकायलाई उच्च सतर्कतामा राखिएको जानकारी दिए।

यसअघि केश्म सहरको उत्तरपश्चिमी क्षेत्रमा लगातार विस्फोटका आवाज सुनिएको स्थानीय सञ्चारमाध्यमले जनाएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा टापुबाट धुवाँ निस्किरहेको देखिएको छ।

यसैबिच, इरानी रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्गबाट गुज्रिन खोजेको एउटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर आगलागी भएको दाबी गरेको छ। अर्को सुपरट्यांकरमा पनि आगलागी भएको र त्यसलाई सहयोग गर्न पुगेको टगबोटमा समेत आगो लागेको उसको भनाइ छ।

इरानी सेनाले थप तीन वटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा ठोक्किएर क्षतिग्रस्त भएको दाबी गरेको छ। 

होर्मुज जलमार्ग हुँदै विश्वको ठुलो हिस्सा तेल तथा ग्यास आपूर्ति हुने भएकाले यस क्षेत्रमा बढ्दो सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजार र समुद्री व्यापारमा असर पर्न सक्ने चिन्ता बढाएको छ।

उता, कतारले अमेरिका र इरानबिचको तनाव कम गर्न मध्यस्थताको प्रयास तीव्र पारेको छ। कतारका अनुसार दुवै पक्षले युद्ध अन्त्यका लागि मध्यस्थकर्ताले अघि सारेका प्रस्तावमाथि छलफल गरिरहेका छन्। 

प्रकाशित: १ मंसिर २०८३ २२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App