वडा सदस्यको हस्ताक्षर किर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय आफ्नै घरबाट पक्राउ परेका छन्।
प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।
घटना २०८० असार १० गतेको हो। आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न आयोजित गाउँसभामा एक वडा सदस्य अनुपस्थित थिइन्। तर, उनको हस्ताक्षर किर्ते गरेर गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा प्रहरीले सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
यसैक्रममा सर्लाही जिल्ला अदालतबाट यसै वर्ष असोज १६ गते पक्राउ अनुमति पाएपछि प्रहरीले गाउँपालिका अध्यक्ष रायलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १ मंसिर २०८३ २२:३५ मंगलबार





