७ वैशाख २०८१ शुक्रबार
समाज

गण्डकी प्रदेशका क्वारेन्टिन भरिदै

गण्डकी प्रदेशका क्वारेन्टिन भरिभराउ हुन थालेका छन् । विदेशबाट घर फर्कनेको संख्या बढेसँगै प्रदेशका क्वारेन्टिन भरिन लागेका हुन् । गण्डकी प्रदेशमा कुल ८ हजार २ सय ७९ वेड क्षमताको क्वारेन्टिन रहेका छन् । जसमध्ये ५ सय ५२ क्वारेन्टिनले मापदण्ड पूरा गरेका छैनन् । 

प्रदेशका विभिन्न क्वारेन्टिनमा हाल ५ हजार ६ सय ३९ जना बस्दै आएको गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनका अनुसार बैशाखदेखि हालसम्म ७ हजार ५९ जना गण्डकी प्रदेशमा आएका छन् । जसमध्ये २८ जना तेश्रो मुलुकबाट आएका हुन् भने बाँकी सबै भारतबाट आएका हुन् । आइतबार एकै दिन भारतबाट ३०१ जना आएका थिए ।

प्रदेश सरकारका अनुसार कास्कीमा ५४३, स्याङ्जामा १ हजार ३ सय ७३, तनहुँमा ५३१, गोरखामा ७७५, बागलुङमा १ हजार ६ सय ७६, नवलपुरमा १ हजार ५ सय ६०, लमजुङमा १ हजार ५४, पर्वतमा ३०२, म्याग्दीमा २६२, मनाङमा ९३ र मुस्ताङमा ११० बेड संख्या रहेका क्वारेन्टिन रहेका छन् ।

गण्डकी प्रदेशमा साउन सम्ममा ३० हजार जना विदेशबाट आउने अनुमान गरिएको छ । भारतसहित खाडी मुलुक तथा अन्य मुलुकबाट उक्त संख्यामा गण्डकी प्रदेश आउने अनुमान गरिएको मन्त्री चुमानले बताए । ति सबैलाई राख्न हाल रहेको क्वारेन्टिन पर्याप्त नहुनसक्ने उनको भनाई छ । यद्वपी स्वदेश फर्कने र क्वारेन्टिनबाट घर फर्कनेको तालमेल मिलेमा सहजै राख्न सकिने उनले बताए ।

मापदण्ड नपुगेका क्वारेन्टिनहरुमा दुरी कायम गरेर नराखेको, पर्याप्त शौचालय नभएको, खानपानको ब्यबस्थापन उचित नभएको तथा सुरक्षा ब्यवस्था नभएका लगायतका छन् । मन्त्री पुनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड पूरा गर्न भने गाह्रै हुने बताए । अझ प्रत्येक क्वारेन्टिनमा सुरक्षा दिनु त झन् असम्भव रहेको उनको भनाई छ ।

गण्डकी प्रदेशमा क्वारेन्टिन मात्र होइन आइसोलेसनपनि अभाव हुने देखिएको छ । संक्रमितको संख्या बढेसँगै प्रदेशमा आइसोलेसन अभाव हुने देखिएको हो । प्रदेशमा कुल १२३ वटा वेड क्षमताको आइसोलेसन रहेका छन् ।

यसैबीच, प्रदेश सरकारले कोरोना संक्रमण रोक्ने कार्यको पूर्व तयार तथा प्रतिकार्यका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई थप रकम प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले पहिले प्रत्येक जिल्लालाई १५/१५ लाख दिएकोमा पुनः थप रकम दिने निर्णय गरेको हो । प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद बैठकले कोरोना संक्रमणको सबैभन्दा प्रभावित जिल्ला स्याङ्जालाई १५ लाख, कास्की, गोरखा, तनहुँ र बागलुङलाई १०/१० लाख र बाँकी सबै जिल्लालाई ५/५ लाख दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार प्रदेश सभालाई जानकारी गराए । सो रकम क्वारेन्टिन ब्यबस्थापनको चेकजाँच, जिल्ला नाकाहरुमा चेकजाँच, आधारभूत स्वास्थ्य उपकरणको ब्यवस्थापन तथा सुरक्षा परिचालनका लागि प्रदान गर्ने निर्णय गरिएको उनले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ भने १ जनाको मृत्यु भएको छ ।

प्रकाशित: २६ जेष्ठ २०७७ ११:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App