नेपाल ज्येष्ठ जनसमाजको अध्यक्षमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। नेपाल ज्येष्ठ जनसमाजको वार्षिक साधारणसभामा श्रेष्ठ निर्वाचित भएका हुन्।
समाजका अध्यक्ष करुणा गोविन्द श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभा समाजका संस्थापक सदस्य एवं पूर्व अध्यक्ष रामवदन जोशीको प्रमुख आतिथ्यमा भएको हाे।
यसैगरी समाजको कार्यसमितिको उपाध्यक्षमा गोपालप्रसाद दुलाल, सचिवमा सागरमणि लम्साल, सहसचिवमा नारायणप्रसाद खनाल र कोषाध्यक्षमा सरला प्रधान निर्वाचित भए।
यसैगरी कार्यसमिति सदस्यहरूमा क्रमशः डा. विमला श्रेष्ठ, वरूणप्रसाद वैद्य, सदस्यः शिला जोशी, प्राडा खेम कोइराला वन्धु, राज्यलक्ष्मी नकर्मी, रुकमणि श्रेष्ठ र विनोदचन्द्र कर्माचार्य निर्वाचित भए। सो निर्वाचनका लागि निर्वाचन अधिकृतमा नातिकाजी महर्जन रहेका थिए।
समाजको नवनिर्वाचित कार्यसमितिको सल्लाहकारमा करुणा गोविन्द श्रेष्ठ, रामवदन जोशी (संस्थापक सदस्य) र नातिकाजी महर्जन रहेका छन्।
उक्त वार्षिक साधारणसभाले समाजकी कोषाध्यक्ष सरला प्रधानले प्रस्तुत गरेकाे आव २०८१/०८२ को वासलात सर्वसम्मतिले पारित गरेको थियो। वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठले ज्येष्ठ नागरिकको समस्याबारे प्रकाश पारेका थिए।
सो कार्यक्रममा ८० वर्ष पुगेका सदस्यहरू सर्वश्री कुवेरप्रसाद अधिकारी, तुलसी मल्ल, कृष्णलक्ष्मी मल्ल र पूर्णमाया श्रेष्ठलाई दोसल्ला र प्रतीक चिन्हका साथ नेपाल ज्येष्ठ जनसम्मानबाट सम्मानित गरिएको थियो। सो सम्मान कार्यक्रमका प्रमुख अतिथि रामवदन जोशीले प्रदान गरेकी थिइन्।
यो समाजले ज्येष्ठ नागरिकलाई सेवासुश्रूषा गरी उनीहरूको एक्लोपन हटाउन र हेय अवस्थाबाट जीवन बिताउन सहज बनाउने र उनीहरूको जीवनमा मायाममता दिने, शारीरिक, मानसिक र बौद्धिक विकासमा टेवा पुऱ्याउने लक्ष्य राखी २०५३ सालको बुद्ध जयन्तीमा स्थापना भएको समाज हो।
यो समाजको संस्थापक सदस्यहरूमा क्रमशः चक्रानन्द वैद्य डा. राधाकृष्ण जोशी, प्राडा सुन्दरश्याम भगत माथेमा, प्राडा मदनमान श्रेष्ठ, रामवदन जोशी, प्राडा चुडानाथ अर्याल र फणीन्द्रमान मल्ल रहेका छन्।
यो समाजले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक वर्ष सन् १९९५ को अवसरमा सुश्री भद्रा घले, त्रैलोक्यनाथ उप्रेती, मृगेन्द्रराज पाण्डे, डा. लक्ष्मीनारायणलाल दाश, कविवर माधव घिमिरे, नरराज ढकाल संगीत प्रविण, भद्रकाली मिश्र र रामनारायण श्रेष्ठलाई अभिनन्दन गरेको थियो।
समाजको पूर्व अध्यक्षहरूमा क्रमशः फणीन्द्रमान मल्ल, प्राडा चूडानाथ अर्याल, प्राडा सुन्दरश्याम भगत माथेमा, प्राडा मदनमान श्रेष्ठ, श्रीमती रामवदन जोशी र करुणा गोविन्द श्रेष्ठ रहेका छन्।
प्रकाशित: २२ माघ २०८२ १०:३५ बिहीबार





