१६ चैत्र २०८० शुक्रबार
समाज

मृत्यु भएको तीन दिनपछि कोरोना पुष्टि

तीन दिन अघि मृत्यु भएका पाल्पाका एक व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ।  यो संगै देशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।  पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षे एक पुरुषको मिसन अस्पताल पाल्पामा उपचारका क्रममा जेठ २० गते  मृत्यु भएको थियो।  उनी जेठ १८ गते आइतबार भारतको बम्बैबाट फर्केका हुन्।  स्थानीय क्वारेन्टाइनमा राखीएका ती व्यक्तिलाई आएकै दिनदेखि ज्वरो,रुघा खोकी र स्वास फेर्न अप्ठारो हुने समस्या देखिएको थियो। ज्वरोले च्यापेपछि सोमबार बिहानै उनलाई पाल्पाको मिसन अस्पताल लगिएको थियो।  उपचारकै क्रममा मंगलबार मृत्यु भएका  उनको मंगलबारै स्वाब संकलन गरी परीक्षणकालागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइयो।  ती व्यक्तिको पिसिआर टेष्ट रिर्पोट कोरोना पोजेटिभ आएको प्रयोगशालाका प्रमुख डा राजेन्द्र कुमार गिरीले बताए। कोरोना संक्रमण भएको पुष्टि भएपछि  नेपाल सरकारले तयार गरेको शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरुप परिवारकै उपस्थितीमा मृतकको शव व्यवस्थापन गरीने पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए।  

मृतक गत आइतबार  भारतको बम्बैबाट फर्केका हुन।  आइतबार बिहानै रुपन्देहीको सुनौली नाकामा आइपुगेका उनी सहित गाउँका  २७ जनालाई रुपन्देहीको बेलहिया नकाबाट उद्यार गरी पूर्वखोला लगिएको थियो।  बेलहियाबाट मृतक सँगै बसमा पाल्पा फर्कीएका सबैजनालाई पूर्वखोला २ को जल्पा स्थित शम्भु माविको क्वारेन्टिनमा राखिएको थियो।  

सिमावर्ती भारतीय बजार सुनौली आइपुगेपछि ती व्यक्तिले ग्याष्ट्रिकले गाह्रो भएको भन्दै मेडिकलमा औषधी किनेर खाएको उनीसँगै फर्केकाले बताएका छन।  क्वारेन्टिनमा साँझ सामान्य खाना खाएका उनलाई रातीदेखि नै ज्वरो,रुघाखोकी र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन्।  गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले क्वारेन्टिनमा एक जना बिरामी भएको  खबर आएपछि स्वास्थ्यकर्मीको टोली खटाएर तत्काल मिसन अस्पताल तानसेन पठाइएको बताए।  ‘सोमबार बिहानै बिरामीलाई मिसनमा पठायौं।  मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी गरायो’ स्वास्थ्य शाखा प्रमुख ढकालले भने।  कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएकाले तत्काल बिरामीलाई अस्पताल पठाइएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुखले बताएपनि अस्पतालले भने अर्को दिन मात्रै थ्रोट स्वाब झिकेर परीक्षणकालागि पठाएको जनाएको छ।  

मृतकको स्वाब मृत्यु नहुँदै  झिकीएको हो वा मृत्यु भइसके पछि भन्ने सम्बन्धमा अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराइले स्पष्ट बताएनन्।  अफिस आवर सकिएकाले यसबारे जानकारी दिन नसक्ने भन्दै उनले  स्वाब कहिले पठाइयो  भन्ने जवाफ स्वास्थ्य कार्यालयले दिनु पर्ने तर्क पनि गरे।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्यौपानेले स्वाब २० गते नै टेष्टकागि भैरहवा पठाइएपनि  बिरामीको मृत्यु अघि स्वाब झिकीयो या मृत्यु पछि  भन्ने सम्बन्धमा अस्पतालले स्पष्ट नपारेको बताए।  मृतकमा कुनै खालको दिर्घ रोग  नभएको मिसन अस्पताललाई उदृत गर्दै पूर्वखोला गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिए।  कोरोनाकै कारण एक जनाको मृत्यु भएपछि पूर्वखोला २ को शम्भु माविको क्वारेन्टिनमा बसेका ४१ जनाको नमुना परीक्षण गर्ने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख न्यौपानेले बताए।  

 

प्रकाशित: २२ जेष्ठ २०७७ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App