१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

तीन महिनामा २३ सय बढी विपद्जन्य घटना

फाइल तस्बिर

गत वैशाख १ देखि यही साउन ५ गतेसम्म देशभरका विभिन्न क्षेत्रमा भएका विपदजन्य दुई हजार ३२६ घटनामा एक सय दुई जनाले ज्यान गुमाएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपदमा परेर अझै २० जना हराइरहेका छन्। कुल पाँच सय १२ जना घाइते भएका छन्भने चार हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए।

उनका अनुसार मनसुनी विपद्सहितका विभिन्न प्रकारका विपद्जन्य घटनाबाट यसरी जनधनको क्षति भएको हो। बाढीका मात्रै एक सय ५१ घटनामा १३ जनाको मृत्यु र २० जना बेपत्ता भएका छन्। यो धेरैजसो रसुवा बाढीले क्षति पुर्याएको उनले बताए।

त्यसैगरी पहिरोका दुई सय सात घटनामा नौ र भारी वर्षाका एक सय तीन घटनामा दुई जनाको मृत्यु भएको छ। चट्याङका दुई सय २९ घटनामा २८, सर्पदंशका ६३ घटनामा पाँच, आगलागीका नौ सय ७६ घटनामा १४ जनाको मृत्यु भएको छ।

यस्तै, हुरीबतासका दुई सय ७३ घटनामा आठ, जनावर आक्रमणका एक सय २१ घटनामा १२, लेक लागेका ३६ घटनामा ११ जनाको मृत्यु भएको पनि उनले बताए। अन्यमा र डढेलोका एक सय ५८ वटा घटना, भूकम्पका चार, डुङ्गा पल्टिएका दुई, असिनापानीका दुई घटना भएको तर मानवीय क्षति नभएको पनि प्राधिकरणले जानकारी दिएको छ।

ती घटनाबाट सबैभन्दा बढी बाढीले एक हजार २५४ घर प्रभावित बनाएको छ। यस्तै पहिरोले दुई ४१, भारी वर्षाले पाँच सय ४७, चट्याङले दुई सय ६४, सर्पदंशले ७० र आगलागीले एक हजार ८९ परिवारलाई प्रभावित बनाएको पनि प्राधिकरणले जानकारी दिएको छ। डढेलोबाट २७, हुरीबतासबाट पाँच सय ३१, जनावरको आक्रमणबाट एक सय ८६, लेक लागेर ३२, डुङ्गा पल्टिएर पाँच, असिनापानी र हुरीबाट ७७ परिवार प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्रकाशित: ६ श्रावण २०८२ १०:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App