२४ श्रावण २०७७ शनिबार
समाज

रेडपाण्डाको तस्बिर खिच्नेलाई नगद पुरस्कार

फेदीको छिमालुङ सामुदायीक वनमा फेला परेको रेडपाण्डा र सो को तस्बिर कैंद गर्ने युवालाई नगद पुरस्कार प्रदान गर्दै वडा सचिव ध्रुबराज राई । तस्बिर : नागरिक

खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीमा रेडपाण्डाको तस्बिर र भिडियो खिचेर ल्याउने युवालाई नगद पुरस्कार प्रदान गरिएको छ । फेदीका विभिन्न सामुदायीक वनमा रेडपाण्डाको बसोबास रहेको प्रमाणका लागि रेडपाण्डाको तस्बिर र भिडियो कैंद गरेर ल्याउने स्थानीय पञ्चकेशर राईलाई वडा कार्यालयले शुक्रबार नगद पुरस्कार प्रदान गरेको हो । सामुदायीक वनमा रेडपाण्डा रहेको चर्चा मात्र चल्ने गरेकामा त्यसको पूष्ट्याईका लागि वार्षिक कार्यक्रम अन्तरगत तस्बिर र भिडियो ल्याउने राईलाई नगद ७ हजार ५ सय प्रदान गरिएको वडा सचिव ध्रुबराज राईले बताए ।  

राईले स्थानीय छिमालुङ सामुदायीक वनमा फेला परेको रेडपाण्डाको तस्बिर र भिडियो कैंद गरेर वडा कार्यालयलाई बुझाएका थिए । सामुदायीक बनमा रेडपाण्डा बसेको प्रमाणका लागि वडा कार्यालयले पहिलोपल्ट तस्बिर र भिडियो ल्याउने व्यक्तीलाई साँढे सात हजार, दोश्रोपल्ट तस्बिर र भिडियो ल्याउने व्यक्तीलाई पाँच हजार र तेश्रोपल्ट तस्बिर र भिडियो ल्याउने व्यक्तिलाई नगद तीन हजार पुरस्कार दिने घोषणा गरेको थियो । ‘फेदीका सामुदायीक वनमा रेडपाण्डा पाइन्छ भन्ने चर्चा छ, देख्यौं भन्ने मान्छे छन् । 

तर, अनुसन्धानमा आएका विभिन्न संघसंस्थाका प्रतिनिधिले खोजी गर्दा भेटेनन्,’ वडा सचिव राईले भने, ‘रेडपाण्डा छ भन्ने हल्ला मात्रै भएकाले हामीले भेट्ने व्यक्तिलाई तस्बिर र भिडियो खिचेर ल्याए पुरस्कार दिने घोषणा गरेका थियौँ । हामीलाई पहिलोपल्ट तस्बिर र भिडियो प्राप्त भएको छ । यसको मतलव फेदीमा रेडपाण्डा रहेको प्रमाणकासाथ भन्न सक्छौँ ।’  

रेडपाण्डाको तस्बिर र भिडियो कैंद गर्नेक्रममा फेदीकै जंगल हो भन्नका लागि आसपासका जंगल तथा त्यहाँबाट देखिने सबै ठाउँको लोकेसन समेत समेटिनुपर्ने वडा कार्यालयको मापदण्ड छ । सामुदायीक वनमा रेडपाण्डा रहेको चर्चा चलेपछि र केही स्थानीयले तस्बिर समेत खिचेपछि फेदीमा रेडपाण्डा संरक्षण अभियान सञ्चालन भइरहेको छ । विशेषगरी रेडपाण्डाको बासस्थान र खानामा मानवीय असर नपुर्‍याउने विषयमा केन्द्रित कार्यक्रम भइरहेको वडा सचिव राईले बताए ।  

 

 

प्रकाशित: १६ जेष्ठ २०७७ १६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App