१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रक्सौल नाकाबाट नेपाली भित्र्याउन सुरू

लकडाउन सुरु भएदेखि रक्सौल नाकामा सीमापारि आएर रोकिन सुरु भएका नेपालीलाई बुधबार वीरगन्ज भएर स्वदेश भित्र्याउन लागिएको छ । लामो समयदेखि सीमावर्ती भारतीय सहर रक्सौलको क्वारेन्टाइनमा रहेका नेपाली स्वदेश फर्किन लागेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कार्यालयका अनुसार बुधबार बिहान एक सय एकजना नेपाल भित्रिएका छन् । साबिकको मुख्य नाकाबाट उनीहरूलाई तापक्रम जाँच गरेर सुरक्षाकर्मीले उच्च सतर्कतासाथ भित्र्याएका छन् । शंकराचार्य द्वारनजिकै उनीहरूलाई निःशुल्क पानी, बिस्कुट र मास्क प्रदान गर्ने व्यवस्था गरिएको छ ।  

पर्साका सहायक प्रजिअ ललितकुमार बस्नेतले भारतीय अधिकारीहरूसँग समन्वय गरेर नेपालीहरूलाई भित्र्याउन थालिएको बताए । जिल्ला प्रसाशन कार्यालय पर्सालाई प्राप्त विवरणअनुसार भारतका विभिन्न राज्यका सहरहरूमा रोजगारी, तीर्थाटन र अध्ययनका लागि गएका २५ जिल्लाका करिब साढे तीन सयदेखि चार सय नेपाली रक्सौलमा आएर बसेका थिए ।  

रक्सौलका विभिन्न क्वारेन्टाइनमा र रेल्वे स्टेसनमा उनीहरू बस्दै आएका थिए । यसअघि वीरगन्जमा रोकिएका दुई सय १५ भारतीय नागरिकलाई जेठ ६ गते भारतीय अधिकारीको जिम्मा लगाइएको थियो । त्यसको अर्को दिन रक्सौलको क्वारेन्टाइनमा रहेका साव दुई सय नेपालीलाई स्वदेश ल्याउने तय गरिए पनि उनीहरूलाई भित्र्याउन सकिएको थिएन । 

प्रकाशित: १५ जेष्ठ २०७७ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App