७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

सुदूरपश्चिममा ह्वात्तै बढ्यो जोखिम

भारतबाट हज्जारौं भित्रिए, संक्रमित थपिदैं

कैलालीको गौरिफण्टा नाकामा नेपाल प्रवेश गर्न तयारी अवस्थामा रहेको भीड । तस्बिर स्रोतः सामाजिक सञ्जाल

चैतको तेस्रोसाता कैलाली र कञ्चनपुरका पाँचजनामा नोवेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिदा सुदूरपश्चिम प्रदेशभर सन्त्रास बढ्यो । भारतबाट करिब डेढलाख नेपाली भित्रिएका थिए । उनीहरु स्वास्थ्य परीक्षणबिनै गाउँगाउँ पसेका थिए । जसको जोखिमले जनस्तर त्राहिमाम थियो ।

त्यो त्रास एकमहिना टिकेन् । वैशाख २६ गते धनगढीकी ३४ वर्षिया दीपा शाही अन्तिम व्यक्तीका रुपमा संक्रमणमूक्त भएर घर फर्कदा सिङ्गो प्रदेश ‘कोरोनामुक्त’ भएको भन्दै खुशीयाली मनाईयो । त्यसपछि धेरैले सुदूरपश्चिममा ‘लकडाउन’को औचित्य समाप्त भएको भनेर टीप्पणी गर्न थालेका थिए ।

यो अवस्थामा पनि केहीदिनयता उलटफेर भएको छ । फेरी प्रदेशका नौजनामा संक्रमण देखिएको छ । त्यो पनि पहाड(बैतडी र डडेल्धुरा) र तराई(कैलाली) दुबैमा ।  

संक्रमणमात्रै देखिएको छैन् । व्यापक संक्रमण फैलिएको भारतबाट फेरी हज्जारौँ नेपाली नेपाल प्रवेश गरिसकेका छन् । जसले सुदूरपश्चिम प्रदेशमा जोखिम ह्वात्तै बढाएको छ । ‘अब त हामी निकै ठुलो जोखिममा छौ’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले भने,‘भारतका गाउँगाउँ, टोलटोलसम्म कोरोना फैलिएको छ । जहाँबाट हज्जारौँ नेपाली आउनुभएको छ । निकै गाह्रो छ ।’

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार पछिल्लो शुक्रबारसम्म मात्रै गौरिफण्टा नाकाबाट छ हजार दुईसय ४८ जना भित्रिएका छन् । यस्तै कञ्चनपुरका विभिन्न नाकाहरुबाट करिब १२ सय जना अवैध तवरबाट नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । खुल्ला सीमा भएकाले सीमाका जिल्लाहरुबाट अवैध रुपमा भित्रिनेहरुको संख्या पनि व्यापक छ ।  

यतिमात्र होईन अझै हज्जारौँ नेपाली नागरिक सीमामा अड्कीएका छन् भने ठूलो संख्यामा भारतका सहरहरुबाट नेपालका लागि प्रस्थान भएका छन् । उनीहरु सबैलाई भित्र्याउने तयारी भईरहेको छ ।  उनीहरुलाई भित्र्याएर स्थानीय तहका क्वारेन्टिनहरुमा राखिदै छ ।

यसरी हज्जारौँको संख्यामा भित्रिएका नेपालीहरुको कोरोना परिक्षण गरिएको छैन् । जसका कारण जोखिम झन् चुलिएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता एबं ईमरजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले बताए ।  

पूर्वाधारको चरम अभाव

भारतबाट भित्रिएका सबैलाई सम्बन्धित स्थानीय तहका क्वारेन्टाईनमा राख्नेगरी व्यवस्थापन भईरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार प्रदेशका नौवटै जिल्लामा १० हजार नौ सय ८५ जनालाई राख्न मिल्ने क्वारेन्टिन क्षमता छ । तर, ती क्वारेन्टाईनहरुको अवस्था निकै नाजुक छ । जहाँबाट संक्रमण बढ्नसक्ने सम्भावना झन् बढी हुने जानकारहरु बताउँछन् ।  

यस्तै निर्देशनालयका अनुसार प्रदेशका अस्पतालहरुमा कोरोनाको आशंका गरिएका र संक्रमित बिरामीलाई उपचार गर्न दुई सय १६ वटा आइसोलेसन बेडहरु तयार पारिएका छन् । बेड त छन् तर पर्याप्त स्वास्थ्यकर्मी तथा चिकित्सक दरबन्दी नरहेको अस्पतालहरुको गुनासो छ ।

अघिल्ला पाँचजना संक्रमितको उपचार गरिरहेको धनगढीस्थित सेती प्रादेशिक अस्पताल १० वटा आईसीयू बेडहरुमध्ये ६ वटामा मात्रै भेन्टिलेटरको सुविधा छ । पछिल्ला केहीदिनयता महेन्द्रनगरस्थित महाकाली अस्पतालमा चारवटा आईसीयू वेड थपेर दुईवटा भेन्टिलेटर जडान गरिएको छ । सातवटा पहाडी जिल्लाहरुमध्ये डडेल्धुरा अस्पतालमा मात्र आईसीयूको सुविधा छ । जहाँ रहेको भेन्टिलेटर प्रयोगमा नरहेको स्वास्थ्य निर्देशनालयले जनाउछ । अत्यावश्यक अवस्थामा नीजि अस्पतालको पूर्वाधार प्रयोग गर्ने हो भने प्रदेशभर सरकारी र नीजिमा गरी ३० वटा आईसोलेसन बेडका १६ वटामा भेन्टिलेटर सुविधा रहेको निर्देशालयले तथ्याङ्क छ ।  

जोखिम उच्च रहदा उपलब्ध पूर्वाधार जतिबेला पनि कम पर्नसक्ने स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अवस्थी बताउँछन् । ‘यो महामारीमा सबैजसो देशसंग रहेका पूर्वाधार कम परिरहदा हाम्रा पूर्वाधार पनि पर्याप्त होईनन्,’ उनले भने,‘जस्तो छ त्यसमा सक्दो बढोत्तरी दिने । र व्यवस्थापन गर्नु दायित्व हो ।’

संक्रमणको स्रोत अज्ञात

सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा र बैतडीमा शुक्रबार देखिएका दुबै संक्रमितको संक्रमणको स्रोत अज्ञात छ । डडेल्धुराका संक्रमित फागुनमा काठमाडौँबाट आएको डडेल्धुरा अस्पतालले जनाएको छ । त्यसयता उनी जिल्लाभन्दा बाहिर थिएनन् । न डडेल्धुरामा कुनै अरु संक्रमण देखिएको थियो । ‘केही खुलेको छैन् । खै कसरी संक्रमण भयो ?,’ डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सक डा. जगदीश विष्ट भन्छन्,‘यसले थप समस्या पैदा गरेको छ ।’  

बैतडीका संक्रमित चैत ६ गते भारतबाट नेपाल आएका हुन् । १५ गते कर्तव्य ज्यान कसुरमा अभियोग लागेपछि उनी प्रहरी हिरासतमा छन् । उनको संक्रमणको स्रोतबारे पनि सरोकारवाला अचम्मित छन् ।

‘हाम्रो नेपाली स्वास्थ्य संयन्त्रले ईक्युवेशन पिरियड बढीमा १९ दिन भनेको छ,’ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. अवस्थी भन्छन्,‘तर, दुबै केशले संशय थपेको छ ।’ बाहिरबाट आएको दुई महिनाभन्दा बढी नाघिसक्दा संक्रमणको स्रोत पहिचान गर्न निकै सकसपूर्ण रहेको उनले बताए ।

प्रकाशित: १० जेष्ठ २०७७ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App