६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

शिशुसहितका आफन्त फर्के घर, गाउँका १ सय ८८ को स्वाब संकलन

कोरोनाबाट पहिलोपल्ट मृत्यु हुने महिला

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका शिशुसहितका आफन्त धुलिखेल अस्पतालबाट सोमबार साँझ घर फर्केका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई घर पठाएको हो ।  

अस्पतालमा उनीहरुको थ्रोट स्वाब परीक्षण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अस्पतालको डिस्चार्जपछि फर्किएका मृतक सुत्केरीका १३ दिने शिशु, उनका श्रीमान्, आमा, भाइ र बहिनीलाई सुरक्षित क्वारेन्टिनमा राखिने बताए । ‘उनीहरुलाई दुई साता क्वारेन्टिनमा राख्छौँ,’ उनले भने । १४ दिन क्वारेन्टिनमा राख्ने शर्तमा अस्पतालले मृतकका आफन्तलाई डिस्जार्च गरेको थियो ।

धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको थियो । शिशुसहित मृतकका पाँच आफन्त उनीसँगै धुलिखेल अस्पताल पुगेका थिए । सुत्केरीको मृत्युको कारण कोरोना भएको पुष्टि भएपछि अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालामा आफन्तको स्वाब परीक्षण गरिएको थियो ।

कोरोनाकै कारण महिलाको मृत्यु भएको पुष्टि भएपछि उनको सम्पर्कमा रहेका चालकदेखि, छिमेकी, स्थानीय र स्वास्थ्यकर्मीसहित एक सय ८८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । संक्रमण फैलन नदिन उनको घर गाउँमा कन्ट्राक्ट टे«सिङ गर्दै स्वाब नमूना संकलन गरिएको हो । महिलाको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ शुक्रबारदेखि सिल गरिएको छ ।  

आइतबारदेखिदेखि त्यहाँ स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल, विश्व स्वास्थ्य संगठनको समूह र बागमती प्रदेश सरकारको बिज्ञ चिकित्सकसहितको संयूक्त टोलीले काम गरिरहेको छ । मृतकको घर रहेको राम्चे गाउँका मात्र एक सय दुई जनाको स्वाब संकलन गरिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए । आइतबार ५६ र सोमबार ४६ स्थानीयको स्वाब संकलन गरिएको थियो ।  

आइतबार संकलित स्वाब परीक्षणका लागि राष्ट्रिय जनप्रयोगशाला पठाइएको छ । रिपोर्ट भने आइसकेको छैन । सोमबार संकलित स्वाब पनि साँझ नै परीक्षणका लागि पठाइएको छ । मंगलबारदेखि संकलित स्वाबको रिपोर्ट आउन थाल्ने प्रजिअ ढकालले बताए । उनका अनुसार मृतकको माइती गाउँ बलेफी–७ र ८ मा भने स्वाब संकलन गरिएको छैन । ओहोरदोहोर नपाइएकाले स्वाब संकलन नगरिएको हो । ‘संकलित स्वाबको रिपोर्टका आधारमा मृतकको माइती गाउँमा स्वाब संकलन गर्ने÷नगर्नेबारे निर्णय हुन्छ,’ प्रजिअ ढकालले भने । मृतकको सम्पर्कमा रहेका  सुनकोसी गाउँपालिकाकासहित ६ जनाको मात्र स्वाब संकलन गर्न बाँकी छ ।

त्यस्तै सोमबारै बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र मृतकको सम्पर्कमा रहेका अन्यसहित थप ८६ जनाको थ्रोट स्वाब संकलन गरिएको चापागाईँले बताए । प्रारम्भिक उपचार गरेर केन्द्रले नै ती महिलालाई धुलिखेल रेफर गरेको थियो । सिल गरिएको केन्द्रमा स्वास्थ्य सेवा रोकिएको छ । केन्द्रका सबै स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा बसेका छन् । 

प्रकाशित: ५ जेष्ठ २०७७ १५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App