३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन

ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन थपिँदा आयोजनाको काम महिनौं पछाडि धकेलियाे

गुणस्तरमा प्रश्न उठेपछि बृहत् पम्पिङ खानेपानी आयोजनाको च्यास्मिटारमा निर्माण गरिएको ट्यांकी कोट्याउँदै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई । तस्बिर : दमन राई/नागरिक

लकडाउनका कारण खोटाङको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम प्रभावित भएको छ । दूधकोसीको पानी गाउँमा निकाल्नका लागि तीन वर्ष अघिदेखि थालिएको ९६ करोडको आयोजनाको काम कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि आह्वान गरिएको लकडाउनका कारण प्रभावित भएको हो । 

दूधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकालेर वितरण गर्नेगरी हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम थालिएको थियो । ठेकेदारको ढिलासुस्तीमाथि लकडाउन थपिँदा आयोजनाको काम महिनौं पछाडि धकेलिने भएपछि उपभोक्ता निराश छन् ।  

दूधकोसीबाट पानी लिफ्ट गरेर हलेसी तुवाचुङ नगरपालिकाका १ देखि ७ वडाका कम्तीमा तन हजार सात सय ५६ घरधुरीलाई वितरण गर्ने लक्ष्यका साथ बृहत् पम्पिङ खानेपानी आयोजनाको काम थालिएको हो । हाल पाइपलाइन, ट्यांकीको फाउन्डेसन निर्माण, ट्यांकीसम्म पुग्ने सडक निर्माण तथा मर्मतलगायतका बाहेक अन्य काम हुन नसकेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना प्रमुख हिराकाजी महर्जनले बताए । ‘लकडाउनका कारण बारा र पर्साबाट सिमेन्ट, डण्डीलगायतका निर्माण सामग्री ल्याउन समस्या छ । 

काठमाडौं, वीरगञ्ज र विराटनगरबाट दक्ष जनशक्ति पनि ल्याउन सकिएको छैन,’ आयोजना प्रमुख महर्जनले भने, ‘स्टक मेटेरियल सकिइसकेको छ । जुन स्पिडमा काम गर्न खोजेका थियौं, त्यो स्पिडमा काम गर्न नसकेको अवस्था छ ।’ समस्याका विषयमा विभागलाई पत्राचार गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय दिक्तेलले जनाएको छ ।  

आयोजनाको काममा ढिलासुस्ती गरिरहेका ठेकेदारले ढिलासुस्तीको कारण लकडाउनलाई देखाउने निहुँ पाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । ‘प्राविधिक काम गर्ने दक्ष कामदार घर गएको छ । आयोजनाको मुख्य स्ट्रक्चरको काम नै रोकिएको छ,’ मेयर राईले भने, ‘लकडाउन अगाडि आयोजनाको जुन गति थियो, हाल त्यो अवस्था छैन । ढिलासुस्ती गर्ने ठेकेदारले निहुँ पाएको छ ।’  

भ्याटबाहेक ३१ करोड ७५ लाख ९६ हजारमा दूधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने गरी मुख्य लाइनको ठेक्का लिएको दिवा–महादेव खिम्ती जेभीको भौतिक प्रगति सन्तोषजनक देखिएको छैन । २०७६ साल पुस १७ गतेसम्ममा काम पूरा गर्नेगरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको ठेक्का सम्झौता गरेको थियो ।  

यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा निकालिएको पानीलाई गाउँ–गाउँमा पु¥याउने वितरण लाइनतर्फको ठेक्का लिएको लामा कन्स्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको कामको प्रगति पनि सन्तोषजनक नदेखिएको हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताए । काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ साल असार ३० गतेसम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरणलाईनको काम ठेक्का लिएको हो ।  

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मिटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्स्ट्रक्सनको प्रगतिसमेत अपेक्षित नदेखिएको नेकपा हलेसी तुवाचुङ नगर कमिटीका अध्यक्ष सुरेन्द्र राईले बताए । लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा २०७७ साल असार ३० गतेसम्ममा सक्नेगरी २०७५ साल असार ३१ गते कामको सम्झौता गरेको थियो ।

प्रकाशित: ५ जेष्ठ २०७७ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App