२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मृतक महिलाको घर र माइती गाउँ सिल

सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनको घर र माइतीगाउँ सिल गरिएको छ। अस्पतालको रिपोर्टमा पीसीआर पोजेटिभ देखिएको थियो। उनको मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।    

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बाह्रविसे नगरपालिका–९ राम्चेकी घर भएकी २९ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको शंका गरिए पनि पुष्टि भइनसकेको बताए।   धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार राति उनको मृत्यु भएको थियो।  खोकी लाग्नुका साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी अस्पताल पुगेकी थिइन्।  

धुलिखेल अस्पतालमै पीसीआर बिधिबाट गरिएको परीक्षणमा भने सुत्केरीमा कोरोना भाइरस देखिएको थियो।  थप पुष्टिका लागि उनको स्वाब राजधानीको टेकुस्थित सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा पठाइएको छ।  ‘अस्पतालबाट अन्तिम नतिजा नआएसम्म यसै भन्न मिल्दैन,’ प्रजिअ ढकालले भने।  

मृतक महिला १० दिनको सुत्केरी थिइन्।  खोकी र स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान मात्रै उनी बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन्।  केन्द्रले धुलिखेल रेफर गरेको थियो।  ‘खोकी लाग्यो।  सास फेर्न गाह्ररो भयो भन्दै आउनु भएको थियो,’ सुरुमा उनको उपचारमा संलग्न स्वास्थ्य केन्द्रकी डा.निशान्ता शर्माले भनिन्, ‘ज्वरो पनि थियो।  एक्सरे गरेर हेर्दा दुबै छाती खराब देखियो।’

उनका अनुसार कोरोनाको आशंकामा केन्द्रले सुरुमै उनको आरडिटी गरेको थियो।  आरडिटीमा कोरोना भाइरस नेगेटिभ देखिएको डा. शर्माले जानकारी दिइन्।  ‘छाती खराब भएकाले धुलिखेल अस्पताल रिफर गरेको थिएँ,’ उनले भनिन्।  काठमाडौँको गोगंबुमा डेरा गरी बस्दै आएकी उनी बैशाख २३ गते शिक्षण अस्पताल महाराजगञ्जमा सुत्केरी भएकी थिइन्।  त्यसै दिन भर्ना भएकी उनले छोराको जन्म दिएकी थिइन्।  तीन दिन अस्पताल बसेर २५ गते उनी एम्बुलेन्समा घर फर्केकी थिइन्।  

कोरोनाबाट मृत्यु भएको आशंकापछि सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ।  उनको घर र माइती गाउँ सिल गरिएको छ।  प्रजिअ ढकालले उनको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेका बलेफी गाउँपालिका–७ र ९ नम्बर वडा सिल गरिएको बताए।  ‘सिल गरिएको वडामा आउजाउ बन्द गरिएको छ,’ उनले भने।  मृतकको सम्पर्कमा आएका सबैको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ पनि थालिएको प्रजिअ ढकालले जानकारी दिए।  

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App