१५ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

लकडाउनका बेला सामाजिक काममा युवा

सडक मर्मत गर्दै दुर्छिम रातमाटेका युवा । तस्बिर : नागरिक

लकडाउनका बेला खोटाङ फुटबल एकेडेमीका युवा सामाजिक काममा होमिएका छन् । उनीहरूले दिक्तेल माटिकोरेस्थित खेलमैदानमा दूबो रोपेका छन् । बिहान–बिहान १५ दिन श्रमदान गरेका युवाले पारिश्रमिक दिएर पाँच दिन कामदार पनि लगाए ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित खेलमैदानमा पनि दूबो रोपेर मल हालिएको छ । दूबोमा पानी हाल्न एक महिनाका लागि एकजनालाई नियुक्त गरिएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताए । यसअघि छरिएको दुबोको बीउ नउम्रिएको अवस्थामा लकडाउनको मौका पारेर बुईपा एलाभेन स्पोर्टस् क्लबमा आबद्ध युवाले श्रमदान गरेर दूबो रोपेका हुन् । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेस्थित रातमाटे साइनो स्पोर्टस् क्लबमा आबद्ध युवाले पनि गाउँको खेलमैदानमा घेराबारा हालिरहेका छन् । केही दिनमै खेलमैदान आसपासमा वृक्षारोपण गर्ने क्लबको तयारी छ ।  

अध्ययन वा रोजगारी सिलसिलामा सहर बजारमा बसिरहेका अधिकांश युवा कोरोना भाइरसको संक्रमण फैलिने त्रासमा गाउँ भित्रिएका छन् । युवाविहीन गाउँघरमा यतिबेला चहलपहल छ । गाउँघरमा केही सामाजिक काम गर्न परे युवा जुट्ने अवसर छ । लकडाउनका बेला फुर्सद भएकाले विभिन्न ठाउँका युवा सडक, खेलमैदान मर्मत–सम्भारलगायतका सामाजिक काममा अग्रसर देखिन थालेका छन् । लकडाउनका कारण गाउँमा भएको युवाको जमातलाई खेलमैदानमा दूबो रोप्न उपयोग गरिएको बुईपाका वडाध्यक्ष राईले बताए । ‘लकडाउनले गाउँमा युवाको जमात भयो, फुर्सद पनि छ,’ वडाध्यक्ष राईले भने, ‘खाली समयलाई सदुपयोग गर्न सामाजिक काममा लगाएका हौं ।’  

हाल दिनानुदिन कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दो छ । संक्रमितको संख्या बढेसँगै हाल लकडाउनलाई थप कडा पारिँदै छ । तर, सहर बजारको तुलनामा गाउँघरमा लकडाउनको प्रभाव कम छ । गाउँघरमा सामाजिक दूरी कायम गरेर भेला हुने, खेतिपाती वा घरासयी काम गर्ने वा सामाजिक काम गर्ने क्रम रोकिएको छैन । 

कोरोना संकटका कारण भेला भएका युवालाई विभिन्न ठाउँमा सामाजिक हितको काममा लगाउने अवसरको रूपमा उपयोग गर्न थालिएको छ । लकडाउन अघि सहरबाट गाउँ आएका र गाउँमै बसिरहेका हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका युवाले श्रमदान गरेर मुलघर–बाघखोर सडक मर्मत गरेको वडासदस्य घनश्याम राईले बताए । ‘वर्षाको पानीले सडकको विभिन्न ठाउँमा माटोको ढिस्को थुप्रिएको थियो, भलले कटान गरेको थियो,’ वडासदस्य राईले भने, ‘गाउँ र सहरका युवा भेला भएपछि श्रमदान जुटाएर सडक मर्मत गरिएको छ ।’  

फुर्सदमा समय बिताइरहेका युवा शक्तिलाई सामाजिक हितका क्षेत्रमा उपयोग गर्न सकिने र गाउँघरमा हुने मर्मत–सम्भारका सानातिना काम गर्न सरकारकै मुख ताक्नु जरुरी नभएको दुर्छिम रातमाटेका युवा राजन राईले बताए । ‘हामीले सामाजिक दूरी कायम गरेर बरभञ्ज्याङ–रातमाटे सडक मर्मत गर्यौं,’ राईले भने, ‘आ–आफ्नो टोलमा पर्ने सडक आफैंले श्रमदान गरेर मर्मत गर्ने निर्णयअनुसार मर्मत गरेका हौं ।’  

प्रकाशित: १ जेष्ठ २०७७ १७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App