१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोनाविरुद्ध नलाग्ने सांसदलाई ‘सामूहिक मोबाइल म्यासेज’ (अपडेट)

उदयपुर- उदयपुर २ नं. क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेशकुमार राई (हिमाल) को मोबाइलमा सोमबार राति अबेरसम्म लगातार ‘म्यासेज’को घण्टी बजिरह्यो । सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी सचिवसमेत रहेका उनी प्रायः व्यस्त हुनुपर्दा धेरै नेता/कार्यकर्तासँग बोल्ने माध्यम म्यासेज नै हुनेगर्छ । तर, पछिल्लो म्यासेज भने अधिक संख्यामा एकैखाले र अलि फरक थियो ।  

मंगलबार बिहान हेर्दा उदयपुरे जनताले पठाएका ५०/६० म्यासेजले उनको मोबाइल भरिभराउ थियो । सबै म्यासेजमा एउटै प्रश्न थियो ‘सांसदज्यू, मेरोभन्दा जनताको स्वाब परीक्षण गर्नु अत्यावश्यक छ किन भन्नुभएन ? तपाइको परीक्षण भयो, हाम्रो गराउने जिम्मा कस्को ?’ सकेसम्म एक/एक म्यासेजको उत्तर फर्काउने गरेका उनलाई यी सबको जवाफ दिन साध्य भएन र समय पनि । संसद् चलिरहेकाले बरु सदनबाटै जवाफ दिउँ भन्ने लाग्यो र उनले सदनमा समय मागेका छन् । ‘एउटै बेहारोका धेरै म्यासेज मतदाता र कार्यकर्ताबाट आयो,’ राईले भने ‘एक/एकको जवाफ दिनुभन्दा बरु सदनबाटै सामूहिक दिउँ भनेर सभामुखसँग समय मागेको छु ।’

त्रियुगा–३ भुल्केमा देशमै सबभन्दा धेरै ३२ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित पुष्टि भएको छ । यस्तो बेला उदयपुरले सांसदले अपेक्षाकृत भूमिका नखेलेको गुनासो मतदाताले राईलाई जस्तै संघीय तथा प्रदेशका सबै सांसदलाई सोही बेहोराको म्यासेज पठाएका छन् । महिलाहरुले सञ्चालन गरेको ‘रेडियो उदयपुर’ले सांसदहरुको नाम र नम्बरसहित प्रश्नावली तयार गरेर आह्वान गरेअनुसार मतदाताले सांसदहरुलाई म्यासेज पठाएका हुन् ।  

‘कोरोना कहरमा जति भूमिका सांसदको हुनुपथ्र्यो, त्यो पटक्कै देखिएन भन्ने जनगुनासो आयो,’ रेडियोकी स्टेशन म्यानेजर बन्दना दनुवारले भनिन्, ‘लकडाउनले भेट्न पनि नपाइने, एक/दुईजनाले फोनमा गरेको मागको महत्व पनि हुन्न, त्यसैले धेरैजनाबाट दबाब पुगोस् भनेर एकैचोटी सामूहिक म्यासेज पठाउन यसो गरेका हाै‌ ।’  

‘कोरोना इपिसेन्टर’ बनेको उदयपुरमा संक्रमण रोक्न सांसदहरुले ठोस भूमिका निभाउन नसकेको हुनाले जनदबाब सिर्जना गर्न यो ‘म्यासेज अभियान’ चलाउनुपरेको दनुवारले बताइन् । दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा संघ र प्रदेश गरी समानुपातिकसहित ११ सांसद छन् । प्रतिनिधिसभा १ मा कांग्रेसका डा. नारायण खड्का, २ मा नेकपाका राईदेखि समानुपातिक कांग्रेसबाट प्रमिला राई र लक्ष्मी परियार सांसद छन् । उनीहरुसहित प्रदेशतर्फका चार प्रत्यक्ष र तीन समानुपातिक सबैलाई एउटै प्रश्नको म्यासेज मतदाताले पठाएका छन् ।  

प्रदेश प्रत्यक्षतर्फ नेकपाका बिमल कार्की, नारायण बुर्जामगर र कला घले तथा कांग्रेसका हिमाल कार्की सांसद छन् । समानुपातिकतर्फ नेकपाका अम्बिका थापा र सुनिता चौधरी तथा कांग्रेसकी सञ्जा दनुवार छन् । ११ जना सांसदले चाहे धेरै सहयोग जुटाउन सक्छन् भन्ने मतदाताको बुझाई सांसदहरु खुलेर अभियानमा लागेको नपाए पनि गुनासो आउनु स्वाभाविक ठानेर म्यासेज पठाएको रेडियोकर्मी अप्सरा समालले बताइन् । फेसबुकमा प्रश्नावलीसँगै सांसदको नाम र नम्बर राखेर म्यासेज गर्न रेडियोले आह्वान गरेअनुसार सोमबार साँझ झण्डै १० हजारले म्यासेज गरेको उनले बताइन् ।  

प्रदेश सांसद नारायण बुर्जामगरले भने कोरोनाका बेला आफ्नो क्षेत्रका गाउँपालिका र वडासम्म पुगेर जनतासँग भेटघाट गरिरहेको दाबी गरे । लकडाउन नभनी निरन्तर जनतासँगै भएर होला आपूmलाई कुनै म्यासेज नआएको उनले बताए ।  

बजेट अधिवेशनअघि दुवै सदनका सांसदको स्वाब परीक्षण गरेको तर, यता कोरोना प्रभावित जिल्लाबासीको परीक्षणतर्फ ध्यान नदिएकाले यस्तो दबाब दिनु सराहनीय भएको स्थानीयको प्रतिक्रिया छ । जिल्लाबासी कोरोना संक्रमण र भोकमरीको समस्या आहत भइरहँदा निदाएर बसेजस्तो देखिएका सांसदलाई यस्तो प्रश्न गर्नु सान्दर्भिक भएको स्थानीयको भनाइ छ ।    

 

प्रकाशित: ३० वैशाख २०७७ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App