२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

छाउपडी प्रथाविरुद्ध प्रहरी चौकीमा हस्ताक्षर संकलन

छाउपडीविरुद्ध गरिएको हस्ताक्षर संकलन: धनबहादुर/नागरिक

जुम्ला - जुम्लाका प्रत्येक प्रहरी चौकीमा छाउपडी प्रथाविरुद्ध हस्ताक्षर संकलन अभियान शुरु भएको छ। छाउपडी प्रथालाई सरकारले कूरीति घोषणा गरेसंगै जुम्लाका प्रहरी चौकी र प्रहरी इकाइहरुका हस्ताक्षर संकलन अभियान शुरु भएको हो।

चौकीमा सेवा लिन आउने हरेक सेवाग्राहीले छाउपडीप्रथाविरुद्ध हस्ताक्षर गर्ने गरेको रारालिही प्रहरी चौकी इन्चार्ज कृष्णबहादुर खड्का बताउँछन्। उनका अनुसार सेवाग्राहीलाई छाउपडीले व्यहोर्नु परिरहेको समस्या र महिलामाथि भइरहेको हिंसाका बिषयमा राम्रारी सहजीकरण हुनेगर्छ। त्यसपछि सेवाग्राही ‘हामी छाउपडी मान्दैनौँ,महिलालाई छाउपडी मान्न बाध्य पनि पार्दैनौ¬’ भन्दै हस्ताक्षर संकलनमा सहभागी हुने गरेका छन्।

यहाँको सिँजा, हिमा,कनकासुन्दरी, तिला,तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा सबै प्रहरी चौकीले हस्ताक्षर अभियानलाइ घनिभुत बनाएका छन्।  सबैमा छुट्टै रजिष्टरको व्यवस्था गरेर हस्ताक्षर संकलन भइरहेको छ। यहाँ धरै छाउपडी प्रथा देखियो,चौकी इन्चार्ज खड्का भन्छन्,‘तर छाउपडी प्रथा उन्मुलनमा स्थानीयको एक्केबद्धता देखियो। उनले जनप्रतिनिधि, कर्मचारी, राजनैतिक अगुवा,सामाजिक कार्यकर्ता,शिक्षक, बुद्धिजीवी,पत्रकारको घरमा छाउपडी भएको समयमा महिलालाई गोठमा बसालेको भेटिने वित्तिकै उजुरी दर्ता गरेर प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए। त्यसका लागि गाउँमा सादा पोशाकका प्रहरी परिचालन भइरहेको उनको भनाइ छ।

उनले थपे,’‘ चौकीमा कामका शिलशिलामा आउने रहेका व्यक्ति र समुहलाइ छाउपडीका बिषयमा गम्भीर छलफल गरेर मात्र हस्ताक्षर संकलनमा सहभागी गराइन्छ। उनीहरुको सहमति र विमत्तिका बिषयमा पनि गहिरो बहस हुन्छ। तर अन्तिम निष्कर्षमा सबै सेवाग्राही कन्भिन्स भएर हस्ताक्षर संकलनमा सहभागि हुन्छन्। छाउपडी नमान्ने प्रणका साथ घर फर्कन्छन्। ’

प्रहरी चौकीमै पुगेर हस्ताक्षर संकलन गर्नेको लर्को लाग्ने गरेको छ। ग्रामिण क्षेत्रका महिला यो अभियानबाट निकै उत्साहित छन्। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे नै प्रत्येक प्रहरी चौकीमा पुगेर छाउपडी उन्मुलनका कार्यलाई कडाइका साथ लैजान निर्देशन गरेपछि प्रहरी चौकी पनि तातिएका छन्। प्रहरीका अनुसार सिँजा क्षेत्रको कनकासुन्दरी र तिला गाउँपालिका,प्रदेश क्षेत्र (क) का तातोपानी र चन्दननाथ नगरपालिकामा छाउपडी प्रथा अत्यधिक देखिएको छ।
पछिल्लो समयमा जुम्लास्थित प्रत्येक सरकारी कार्यालयमा छाउपडीविरुद्धको हस्ताक्षर संकलन अभियान शुरु भइरहेको छ। प्रत्येक सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई सरकारले गरेको छाउपडी प्रथाविरुद्धको कदमका बारेमा सहजीकरण गरेर सेवाग्राहीलाइ हस्ताक्षर संकलन अभियानमा सहभागी गराएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ। जुम्लाका स्थानीय तहले पनि छाउपडीविरुद्धको अभियानलाई साथ दिदै आएका छन्।

यो एकै पटक उन्मुलन हुने विषय होइन्, तर यहाँका स्थानीयमा रहेको छाउपडी मानसिकता भत्काउनु अहिलेको अपरिहार्यता हो, तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा भन्छिन्,‘छाउपडी बिरुद्धको अभियानमा स्थानीय तह पनि एकाकार भएर लागेका छन्। जिल्लामा शुरु भएको छाउपडी बिरुद्धको महाअभियानमा सबै सहभागि हुन उत्सुक छन्। ¬’यसअघि जुम्लाका केही समाजिक संघ संस्थाले पनि छाउपडी उन्मुलनका क्रियाकलाप गर्दै आइरहेका थिए। तर सरकारी संयन्त्रले साथ नदिदा प्रभावकारी रुपमा अघि बढ्न सकेन्। तर अहिले सरकार नै छाउपडी उन्मुलनका क्षेत्रमा लागेकोले निकै सहज बनेको सामाजिक अभियान्ता बताउँछन्। छाउपडी भएको समयमा बिद्यालयमा नजाने,सामुहिक कार्यमा सहभागि हुन नसक्ने अवस्थाको चिरफार गर्दै अब छाउपडी हुने बित्तिकै गरिने विभेद बिरुद्ध महिला स्वयम संघर्षरत हुन जरुरी देखिएको सरोकारवाला बताउँछन्।

जुम्लाका स्थानीय सरकारले पनि छाउपडी उन्मुलनका लागि धामी, झाँक्री, पुरोहित, शिक्षक,कर्मचारी, बुद्धिजीवी, समाजका अगुवा संगको छलफललाइ घनिभुत बनाएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लामा पनि छुट्टै रजिष्टरको व्यवस्थापन गरेर छाउपडी बिरुद्धमा हस्ताक्षर संकलन भइरहेको छ। छाउपडी बिरुद्धको सबैको एक्केबद्धता र प्रतिबद्धता आउने क्रम निकै बढेकोले जुम्लाबाट चाँडै छाउपडी उन्मुलन गर्न सकिने प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे बताउँछिन्।

प्रकाशित: २६ पुस २०७६ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App