७ वैशाख २०८१ शुक्रबार
समाज

न्यायाधीशको अंगरक्षकको हतियार हराउँदा...

धनुषा- उच्च अदालतकी न्यायाधीशको सुरक्षार्थ खटिएकी महिला सुरक्षाकर्मीको हतियार लिएर उनका प्रेमी फरार बनेका छन् । जनकपुरस्थित उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी सुरक्षा गार्ड प्रहरी जवान रनिताकुमारी केवटको हतियार लिएर उनका प्रेमी सिवेन्द्र यादव सोमबार बेलुकादेखि फरार बनेका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषा दरबन्दीमा कार्यरत प्रहरी जवान केवटसँग उनको प्रेमी यादवको विवाद हुँदा पेस्तोल लिएर फरार भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले जनाए ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका महतोले सुरक्षागार्ड बसेकी प्रहरी जवान केवटको प्रेमीसँग विवाद हुँदा पेस्तोल लिएर भागेको बुझिएको बताए । ड्युटी सकेर सुरक्षा गार्ड केवट कोठा पुगेको बेला उनका प्रेमीसँग झगडा हुँदा पेस्तोल र त्यसमा लोड भएको सात राउण्ड गोली लिएर फरार रहेको उनले जनाए ।
घटनाको विषयमा अनुसन्धान भइरहेको भन्दै फरार भएका केवटकी प्रेमी सुरेन्द्र यादवको खोजी कार्य तीव्र बनाएको प्रवक्ता महतोको भनाइ छ । सुरक्षा गार्ड केवट जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भैरवचोकमा डेरा लिएर बस्दै आएकी थिइन् । केही दिनदेखि उनका प्रेमी पनि सँगै बस्दै आएका थिए । पेस्तोल लिएर भागेका यादव नवलपरासी देउडा–६ का बासिन्दा हुन् भने उनका प्रेमिका सोही पालिका–१० की बासिन्दा हुन् ।
घटनापछि सुरक्षागार्ड केवटलाई जिल्ला जिल्ला प्रहरी कार्यालयमा तानिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्तासमेत रहेका कार्कीले उक्त घटना लुकाउने प्रयास गरेका छन् । डिएसपी कार्कीले प्रहरी जवान केवटसँग झगडा मात्र परेको दाबी गर्दै पेस्तोल लिएर भागेका अफवाह रहेको बताए ।
घटनामा केही कमी कमजोरी प्रहरी जवान केवटको रहेको भन्दै उनलाई विभागीय कारबाही हुन सक्ने उनले बताए । केही गल्ती देखिएकाले उनलाई जिल्लामा बोलाइएको र उनको ठाउँमा अर्को सुरक्षा गार्ड पठाइएको उनले जनाए । नयाँ गार्ड र घटनाको विषयमा थप बुझ्न खोज्दा सामान्य विवाद मात्रै भएको भन्दै प्रहरी नायव उपरीक्षक कार्की कुराबाट पन्छिए ।
यता, उच्च अदालत जनकपुरधामका न्यायाधीश शकुन्तला घिमिरेका कार्यालय सहायक सन्तोष झाले घटना सत्य रहेको बताए । नयाँ गार्ड आएको र उसको बारेमा आफूलाई जानकारी नरहेको उनले बताए ।

प्रकाशित: २ पुस २०७६ ०४:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App