१७ माघ २०७९ मंगलबार
समाज

जसलाई बोलाउँछ मान्छेको पीडाले

उज्ज्वल थापा । तस्बिर : विजय राई

काठमाडौं- डेढ महिना अघि किर्तीपुर अस्पतालमा १४ वर्षीया मुस्कान खातुनको उपचार हुँदै थियो। तेजाब आक्रमणबाट बेडमा छटपटाइरहेकी उनलाई देश विदेशबाट प्रेरणादयी संदेशहरु आउन  थाल्यो। त्यस्तो संदेश प्रवाह गर्नेमध्ये थिए बलिउडका विश्व चर्चित अभिनेता अमिताभ बच्चन अनि नवपुस्ता माझ लोकप्रिय वरुण धवन। त्यस्ता भिडियो मेसेजहरु मुस्कानलाई देखाउँदै , उनलाई हरपल हौसला प्रदान गर्दै उनी छेउ देखिन्थे एक भलाद्मी उज्ज्वल विक्रम थापा। बिरामीप्रति उनको लगाव, निस्वार्थ सेवा, करुणाको कथा आफैंमा चाखलाग्दो छ।

आइतबार सुन्धाराको एक रुफटप रेष्टुरेन्टमा रिपब्लिका मिडियासँग उनको अन्तरर्वाता करीब पाँच घन्टा चल्यो। त्यसबीच उनलाई तीन फोनकल आए। एकाउन्न बर्षीय थापालाई आएका ती कलहरु घरपरिवार वा साथीभाइका थिएनन्। केहि असहायले आँफु वा परिवारको गम्भीर स्वास्थ्य समस्याको समधानका लागि उनीसँग सहयोगको आशा गरेका थिए।

उज्जवल बिहान उठ्दा फोनमा दुई चार मिसकल सामान्य हुन्। त्यसै अनुसार उनको दैनिकी निर्धारण हुन्छ। उनी हतारिँदै पुग्छन् अस्पताल,  दुर्घटना स्थलहरु, जिल्ला प्रशासन कार्यालय वा गाउँका बस्तीहरुमा। केहि बर्षयता यस्तै दु:खमा परेकाहरुको सेरेफेरोमै उनी छन्। जीवन पक्कै अर्कै दिशामा छ, किन होला?उनी हाँसे मात्र। एकछिन पछि उत्तर दिए 'अरुको दु:खमा सामेल हुँदा, अरुलाई हाँस्न , बाँच्न, केहि मद्दत पुर्याउँदा पक्कै राम्रो लाग्छ नि। शायद जीवनले खोजेको यहि हो कि।'

उनी दश बर्षका थिए जब उनका पिताले उनलाई भारत, नैनीतालको शेरउड कलेजमा अध्ययन गर्न पठाए। बलिउडका अभिनेता अमिताभ बच्चन पनि सोहि कलेजका पूर्व विद्यार्थी हुन्। त्यस अघि उज्ज्वलले ललितपुरको सेन्ट जेभियर्स स्कुलमा पाँच कक्षासम्म अध्ययन गरेका थिए। नैनीतालको स्कुलमा भर्ति हुँदा शुरुमा उनलाई जीवनकै कठोर परीक्षामा सामेल भएझैं भयो। ‘न अंग्रेजीमा म उनीहरुझैं फररर थिएँ, न त मेरो हिन्दीनै गतिलो थियो। सानो फुच्चे , ठूला केटाहरुले नपेल्ने कुरै भएन। मलाई किन होस्टेल पठाए होला झैं दिक्क लागिरहन्थ्यो,' उनी सम्झन्छन्। तर समयसँगै उनी दरीए, चुनौतिहरु सामना गर्न सक्ने क्षमता बढ्दै गयो।

उनले प्रत्यक्ष देखेका छन् , कुवेरजस्ता धनी उनका साथीभाले पनि आफन्तलाई बचाउन नसकेको , अस्पतालमा घुँक्क घुँक्क रोएको। हो पैसालै जवन सधैं किन्न सकिन्न। नत्र संसारका अर्बपतिहरु अजम्बरी हुन्थे होला। तर गरीबी र अभावब भने थोरै पैसाको कमीले पनि ज्यानैसम्म जान सक्छ।

हाईस्कुल पछि पनि उनी भारतमै अन्तै पढे। बिदामा काठमाडौं आउजाउ हुन्थ्यो। उ बेलाका साथीहरु मुन्द्रेु थिए। केहिले कपाल लामो पनि पारेका थिए। उज्जवलले यो सब त गरेनन् , तर ग्याङ फाईट भने खुब खेल्थे। यस्तै ग्याङ फाइटका कारण दुईचार पल्ट प्रहरी हिरासतमा समेत रात बित्यो। ‘ग्याङ फाइट उबेला धेरै हुन्थ्यो टोलटोलका केटाबीच। म कमलपोखरी बोइजको सदस्य थिए, कोकोसँग झगडा भैरहन्थ्यो , परिहाल्थ्यो त्यस्तै।

हिरासतमा रात बिताउँदा ठूलै काम गरेंझैं लाग्थ्यो पनि। दादागीरी जस्तो। भोलीपल्ट बुबाले झाँकों र्झादामात्रै थोरै बिराएँकि भन्ने उनलाई हुन्थ्यो रे।

पछि उनका पिताले उनलाई फिलिपिन्स पढ्न पठाए। त्यहाँको न्यू एरा विश्वविद्यालयबाट उज्ज्वलले एलेक्ट्रोनिक ईन्जिनियरिङमा डिग्री गरे। तर फर्केर नेपाल आएपछि त्यहि सम्बन्धी भन्दा पनि दुईचार आफैंले रोजेको व्यवसायमा हात हाले। उनलाई सबैभन्दा फापेको थियो पश्मिनाको व्यवसाय। दाङमा उनको उद्योग थियो। करीब दश वर्ष राम्रो चलेको उनको उद्योग माओवादी युद्दसँगै बन्द भयो। बीचमा आकलझुकल उनले अरु व्यवसायमा हात हाले। उनका पिता मोहन विक्रम थापाका कारण पनि उनले व्यवसायमा राम्रै साथ सहयोग पाए। 

उज्ज्वका अनुसार मोहन विक्रम थापा कहलिएका समाजसेवी थिए। उबेलै राम्रो अध्ययनको मौका पाएका थापा जसले पहिले दरबार हाईस्कुल र पछि विहारको विद्यालय अनि देहरादुनको फरेष्ट रिर्सच सेन्टरबाट बिएस्सी गरे। नेपालको पहिलो वन संरक्षण अधिकृत पनि हुन् उनी। तर उज्ज्जलाई उनको सरकारी प्रतिष्ठाभन्दा परोपकारी कर्म ओझपूर्ण लाग्छ, अहिले सम्झिदा। काठमाडौं कमलपोखरीको घरमा गृह जिल्ला सिन्धुलीबाट आएका विपन्न वर्गका मान्छेहरुका लागी छुट्टै कटेज निर्माण गरीएको थियो। अस्पताल वा अन्य कामले आएकाहरु ढुक्कै त्यहिं बस्थे। बुबाले यसलाई हस्पिटल पुर्या, उसलाई हस्पिटल पुर्या भनिरहने गरेको उज्ज्वल सम्झिन्छन्।

‘अरुलाई सहयोग गर्न भाग्यमानीले मात्रै पाउँछ, सबैले पाउँदैनन् यसो भन्दै बुबा उनलाई काम गराउँथे।’ उज्ज्वल आफ्नी माता उर्मिला पनि उत्तिकै उदार पाउँछन्। हाल ८१ वर्षकी उनी, जोकोहि पाहुना आएपनि झर्को नमान्ने गरेको सुनाउँछन्।

सन् २०११ मा बुबाको मृत्यु भएपछि उज्जवल अलि चिन्तनशील बने। जिन्दगीले छुट्टै मोड लियो। बुवा जिउँदो हुँदा गरेका निःस्वार्थ सेवाहरुलाई त्यतिन्जेल उनले नजिकबाट हेरेकै रहेनछन्। मोहन बिक्रमको कडा स्वभाव र आफ्नो स्वच्छन्द प्रकृतिले गर्दा केहि दुरी रहेको उनी ठान्छन्। ‘त्यो दिन पशुपतिको आर्यघाटमा थुप्रै मान्छे जम्मा भएका थिए। मलाई लाग्यो कुनै ठूलै मान्छे पनि बितेको रहेछ। तर पछि बिस्तारै थाह भयो ति त बुबाकै लागी आएका रहेछन्। निकै भिड थियो , मान्छेहरु दु:खी थिए।' यसो भनिरहँदा उनी केहिबेर सुस्ताए।

‘जीवनको सार के हो?' मनले कताकता यो प्रश्न गर्यो उनलाई। दर्जनौं मानिसहरुले पिताको मृत्यु पछि सुनाएका समाज सेवाका कारुणीक घटनाले कहिं घच्घच्यायो। ‘बुबाले सिन्धुलीका धेरैलाई निःस्वार्थ सहयोग गर्नुभएको थियो, उनीहरु कृतज्ञ थिए।' थापा भन्छन्, ‘त्यहाँ जम्मा भएकाहरु केवल देखिन आएका थिएनन्, उनीहरुले साँच्चै केहि गुमाएको महशुश गरीरहेका थिए। यसरी बगेको निर्मल आँशु, यसको मूल्य कति? यस्तो आँशु भन्दा ठूलो कुरा के होला?'

उज्ज्वल १४ वर्ष हुँदाको एउटा घटना सुनाउँछन्। बिदामा उनी भारतबाट काठमाडौं आएका थिए। उनका बुबाले बिजुलीको बिल तिर्न उनलाई ३४० रुपैयाँ दिए। पैसा तिर्न उनी साथी बोकेर गए। प्राय मस्तिनै मार्थे उनी। वीर अस्पतालनेर रोइरहेकी एक महिलामाथि उनको नजर पर्यो। उनको बच्चाको टाउको फुटेकोले अस्पताल ल्याईएको रहेछ। तर उपचारको लागि पैसा रहेनछ। आफुसँग भएको पैसा उनले ती महिलालाई दिए। बाटोमा हिंड्ने बटुवासँग पनि उनी र साथीभाई मिलि केहि थप पैसा उठाएर सहयोग गरे। भोलिपल्ट घरमा पिताले उनलाई बिल तिरेको नतिरेको केरकार गर्दा उज्जवलले अक्मआउँदै यसोउसो भयो भने। बुबाले पत्याई हालेनन्। छोरा अलि हाउडे स्वभावको भएकोले बुबा उनीमाथि विषेश नजर राख्थे। मोहन विक्रमले हत्तपत्त मोटरसाईकल स्र्टाट गरे अनि छोरालाई पनि लिएर अस्पताल पुगे। ‘गेटमा तिनै पाले थिए, पुग्ने वित्तिकै मलाई हाँसेर स्वागत गरे र ती महिला पनि निकै भावुक भएर बोलिन्। अनि मात्र बुबालाई मैले भनेको कुरा हो रहेछ भन्ने लाग्यो। त्यसपछि मुखले त खासै केहि बोल्नुभएन, तर काँधमा दुई धाप मार्नुभयो।'

यस्ता अरु केहि घटनाहरु पनि छन्। ठिटो बेलामा संयोगवश आक्कलझुक्कल परोपकारी कामहरु गर्न पुगे पनि बुबाको मृत्यु पश्चातभने उनको जीवन फरकनै भयो।

‘आँशु त आँशु नै हो। मेरो होस्, तपाइँको होस् वा अरु कसैको। त्यो पुछिनुपर्छ।’ धेरैका पीडा, धेरैनै नजिकबाट देखेकैले गर्दा शायद उनी अरुका दु:ख महशुश गर्न सक्छन्। अस्पतालमा छट्पटाएका, केहि बचाउन नसकेर आफ्नै अगाडि बितेका बिरामीहरुका थुप्रै कथा छन् उनीसँग। तर आफ्नो व्यक्तिगत प्रयासमै मात्र काम गरीरहेको हुँदा आफ्नो सेवाको दायरा निकै सानो भएको उनी बताउँछन्। 'मैले खासै धेरै गर्न सकेको छैन। धेरै त सिन्धुलीकै मान्छेहरुलाई गरेको छु, अरुलाई भन्दा', उनले भने।

तीन छोरीका बुबा र आर्थिक रुपमा सक्षम पत्नीका पति उज्ज्वल आफैं पैसा खर्च गरेर सेवा भने गरी हिंड्दैनन् , जबसम्म त्यो नै बिरामी वा घाईतेका लागी अन्तिम बिकल्प नहोस्। 'वास्तवमा म न कमाउँछु अहिले , न व्यक्तिगत कामका लागी खर्च गर्ने समयनै छ। मैले गर्ने भनेको हारगुहार गरेर साधन स्रोत चाहिने ठाउँमा पुर्याईदिनेनै हो।

उनले खर्च गर्ने भनेको आफ्नो समय हो। शारीरिक रुपमा उपस्थित भई, आफुले चिनेजानेका साथीभाइ , स्रोतहरु परीचालन गरी असहाय घाईतेहरुलाई कसैगरी बचाउनु हो उनको ध्येय। 'थोरै पैसा नपुगेर वा अलि अति मद्दतको कमीले पनि ज्यान जान सक्छ। सकेसम्म त्यस्तो नहोस् भन्ने हो।'

पछिल्लो ८ वर्षमा उनले बच्चादेखि वृद्धलाई सहयोग गरेका छन्। संख्यामा हिसाब गर्ने हो भने, भयो होला यस्तै दुई हजार , ठ्याक्कै था छैन। मुस्कान खातुन तिनै करीब दुई हजार मध्येकी हुन्। तर यसपाली किन जोडबलले उनी मिडियामा आए वा मिडियाको ध्यान तान्न खोजे , त्यसको कारण छ। उज्ज्वलको विचारमा उनले सयौं घाईते देखे, व्यहोरे, तर एसिडको घाउजस्तो भयावह केहिनै छैन। मान्छे जल्छ एक सेकेण्डमा, तर जलन र समस्या रहन्छ बर्षौ बर्षौ। उपचार खर्च उत्तिकै। त्यसैले यो जति जघन्य अपराध उनलाई अरु लाग्दैन। र जेजति सजाय यसको दोषीलाई दिईन्छ, त्यो कदापी उचित नभएको उनको जिकीर छ। ,‘म यसमा एकदमै अडिक छु , सरकारले यसलाई हेर्ने तरीकै भएन। एसिड आक्रमण सबैभन्दा भयावह परीणाम दिने चोट हो, र यो जो कोहीलाई पनि हुन सक्छ। यो भएर छ्याप्यो होला, त्यो भएर छ्याप्यो होला भनेर त्यसरी नरम भई सोचेर नीति बनाउन भएन। जन्मकैद हुन पर्यो दोषीलाई।’

मुस्कान सानी उमेरकी भएकीले गर्दा समाजले महिलामाथि दोष थुपार्ने मानसिकता भन्दा माथि उठेर सोच्ला र राज्यले पनि साँच्चै केहि गर्न बाध्य होला भनेर उनले मुस्कानको सवालमा आवाज बुलन्द गर्न निकै लागीपरेको बताए। 'अझैपनि एसिड बेचबिखनमा कडाई र दोषीलाई जन्मकैदको कानुन बनाउँदैन सरकार भने अब अर्को एसिड घटनाको दोष सिधै राज्यकै हुनेछ भन्ठान्छु म।' उनले गम्भिर हुँदै भने।

उज्ज्वलले हालसम्म आकस्मिक दुर्घटनाका घाईते, क्यान्सर पीडित, मृगौलाका रोगी, नेत्रहीन, जटिल प्रसुति लगायतप्राय सबैजसो बिरामीहरुका लागी साधन, स्रोत जुटाएका छन्। त्यसमा हालसम्म मानसिक रोगी भने परेका छैनन्। 'सम्भव भएसम्म घाईते वा रोगीको जीवनको रक्षा , यति मात्र गर्न खोजेको हुँ', उनी प्रष्ट्याउँछन्।

उनले प्रत्यक्ष देखेका छन् , कुवेरजस्ता धनी उनका साथीभाइले पनि आफन्तलाई बचाउन नसकेको , अस्पतालमा घुँक्क घुँक्क रोएको। हो पैसालै जीवन सधैं किन्न सकिन्न। नत्र संसारका अर्बपतिहरु अजम्बरी हुन्थे होला। तर गरीबी र अभावबीच भने थोरै पैसाको कमीले पनि ज्यानैसम्म जान सक्छ। नेपालजस्तो पिछडिएको मुलुकमा त झनै। 'हर उपचार खर्चालु हुँदैन। कहिलेकाहि सानो सहयोग पनि गरीबलाई लाख हुन्छु उनले भने। हालसम्म उज्ज्वलले हेरेका बिरामीलाई एक हजारदेखि बढीमा दश लाखसम्मप्रति बिरामीको खर्च गर्न परेको बताउँछन्।

‘मेरा नजिकका साथीहरुले म यस्तै एकोहोरो भैसकें भनेर बुझिसके। घरमा पनि ह्या यो यस्तै हो भनेर अब किचकिच गर्न छाडे। दिनभरी यस्तो यस्तो समस्या हेरेर गाको हुन्छु कि घर पुग्दा उनीहरुको समस्या मलाई समस्यै लाग्दैन। अनि कुनै मनोरंजन मनोरंजनै लाग्दैन। उनले फिल्म नहेरेको विस बर्ष भएछ। अनि गीतको नाममा नारायण गोपालभन्दा अन्य सम्झिन पनि बेरै लगाए। एउटा गाउन कर गर्दाभने निकै सुर मिलाएर भावुक भई 'वीरताको चिनो, वीरको सन्तान गाउन थाले। 'पहिले पहिले कर त गर्थे , पार्टीसार्टीमा जतासुकै बोलाउँथे , अब त अहँ,' उनी हाँस्दै भन्छन्। 'अब त उज्ज्वल थापालाई एउटै चिजले बोलाउँछ , मान्छेको दु:ख आकाशतिर नियाल्दै धिमी आवाजमा उनी बोल्छन्।

यो स्टोरी रिपब्लिका अंग्रेजी दैनिकमा समेत प्रकाशित भएको छ। पढ्नको लागि यहाँ क्लीक गर्नुहोस् ।

प्रकाशित: २९ कार्तिक २०७६ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App