१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उड्न थाले गिद्ध

फाइल फोटाे

महेन्द्रनगर– सानो छदा गिद्धले सिनो खाएको दृश्य अझै सम्झनामा रहेको भीमदत्त नगरपालिका– १६ मझगाउँ निवासी मोहन नेगि स्मराण गर्छन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक घर भएका नेगिलाई विगतमा घर अगाडीको मैदानमा गिद्धको झुण्ड नदेखेको बर्षौ बित्यो। तर, पछिल्लो समयमा एक पटक सिनो खान आएको गिद्धको झुण्ड देख्दा उनका पुराना दिन ताजा भए।

जागिर खाएको भए पेन्सन भैसक्ने उमेरका नेगि भन्छन् ‘त्यतिबेला मरेका गाईवस्तु चौरमा फाल्ने चलन थियो। जसलाई देखेर गिद्ध आउँथे।’ अहिले घर पालुवा वस्तुभाउ मरेमा खाल्डा कोरेर पुर्ने चलन छ। त्यसैले गिद्ध कम देखिन थालेको उनको भनाई छ। तर, कञ्चनपुर जिल्लालाई डाईक्नोफेनिक मुक्त जिल्ला घोषणा गरेपछि यहाँ गिद्धको संख्या वर्षेनि बृद्धि हुँदै गएको छ। अहिले कञ्चनपुरमा सात प्रजातीका गिद्ध पाईन्छन्। विश्वमा पाईने २३ प्रजाती मध्ये नेपालमा नौ प्रजातीको बासस्थान छ। जसमध्ये कञ्चनपुरमा पाईने सात प्रजातीमा डङगर, सुन, सानो खैरो, हिमाली, खैरो, राज, र सेतो गिद्ध रहेको पन्छी संरक्षण संघ नेपालका कार्यक्रम अधिकृत कृष्णप्रसाद भुषालले जनाकारी गराए।

विश्वमैं दुर्लभ मानिएको गिद्धका नेपालमा पाईने नौ प्रजातीमध्ये सात प्रजाती यस जिल्लामा पाईने अधिकृत भुषालले बताए। जसमध्ये डङगर, सुन र सानो खैरो गिद्ध अति संकटान्नको सूचीमा पर्छन। पछिल्लो तथ्याकं अनुसार यहाँ डंगर गिद्धको ५२ र सानो खैरो गिद्धको दुई गुँड फेला परेको पन्छी संरक्षण संघ नेपालका कार्यक्रम अधिकृत भुषालले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै राष्ट्रिय र सामुदायिक वनमा गिद्धहरुको बासस्थान रहेको छ। शुक्लाफाँटाको बन्नीखेडा, तारापुर, हिरापुर, बेल्डाँडी लगायतका ठाउँमा गिद्ध देखिने गरेको नेचरगाईड एशोसिएशनका अध्यक्ष डुठ्ठा राना बताउँछन्। त्यस्तै पर्सिया र महाकाली पारी दोधारा र चाँदनीमा पनि गिद्धको बसोबास रहेको उनले जानकारी गराए। पन्छि संघका हिरुलाल डङ्गौराका अनुसार कञ्चनपुरमा हाराहारी सबै प्रजातीका दुई सय जति गिद्ध छन्।

प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्धले कहिल्यै सिकार गर्दैन। केवल मरेका जनावरको मासु अर्थात सिनो खाएर वातावरण स्वच्छ, सफा र सन्तुलित राख्छ । यस हिसाबले गिद्ध प्रकृतिको कुचिकार हो। सिनो खाई वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने गिद्ध पर्यावरणीय चक्र सनातन, खाद्य शृङखलाको सन्तुलन र गतिशिलताको संवाहक हुन्।

गिद्ध बाहेक अरु सिनो खाने जनावरहरूले सिनोको करिब ३६ प्रतिशत भागमात्र खान सक्छन्। गिद्धले भने सिनोको करिब ८० प्रतिशत खपत गर्छ । जिप्स प्रजातिले मूलतः मासु लुछी खान्छन्।

करिब दुई दशक अघिसम्म गिद्ध संसारमै सबैभन्दा सहजै देख्न सकिने र ठूलो संख्यामा भेटिने चराका प्रजातिमा पर्थे। विडम्बना सन् १९८०÷९० को दशकमा आएर खासगरी भारतीय उपमहाद्वीपमा पाइने गिद्धहरू संसारमै तीव्र गतिले घटेर लोप हुने अवस्थामा पुगे। नेपालमा पनि सन् १९८० को दशकमा १० देखि १६ लाखको संख्यामा रहेका गिद्ध ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सिमित भएका छन्।

गिद्धको संख्यामा यसरी अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्युपश्चात सिनो खाँदा गिद्धको मृगौलामा असर गर्छ ।

गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले २०६३ मै स्थानीय समुदायको सक्रियतामा नवलपरासीको पिठौलीमा विश्वकै पहिलो समुदाय स्तरको जटायु (गिद्ध) रेष्टुरेन्ट खोलियो। जटायु रेष्टुरेन्टमा किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू संकलन गरी पालन–पोषण गरिन्छ ।

तिनिहरूको प्राकृतिक मृत्युपश्चात् निश्चित स्थानमा गिद्धको आहाराका लागि राखिन्छ । नजिकैको अवलोकन घरबाट अति संकटापन्न गिद्धका प्रजाति, आनीबानी र क्रियाकलापको अध्ययन अवलोकन गर्न सकिन्छ । रूपन्देहीको गैँडहवा ताल, दाङको लालमटिया र बिजौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको कोशीटप्पुमा पनि विस्तारित भएका जटायु रेष्टुरेन्टले वृद्ध र छाडा चैपायाहरूको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गर्नुका साथै पर्या–पर्यटन प्रर्वद्धन, स्थानीयबासीको जीविकोपार्जन र अनुसन्धानका केन्द्र पनि हुन् ।

स्थापनाको दस वर्षपछि चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने र स्याटेलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी भएको छ, जसले प्रकृतिमा गिद्धको संख्या बढाउन र गिद्धको जैविक विज्ञानको जानकारीमा थप टेवा पु-याउनेछ ।

प्रकाशित: २९ भाद्र २०७६ ११:१५ आइतबार

गिद्ध शुक्लाफाँटा_राष्ट्रिय_निकुञ्ज