११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्वास्थ्य चौकी जीर्ण हुँदा सेवामा कठिनाइ

स्वास्थ्यचौकी खाल्लेको जीर्ण भवन। तस्बिर:नागरिक

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित स्वास्थ्यचौकी भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। करिब २७ वर्षअघि बनेको तीनकोठे भवन जीर्ण हुँदा स्वास्थ्य सेवामा कठिन भएको स्वास्थ्यचौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट सन्तोष भट्टराईले बताए।

भवन जीर्ण हुँदा वर्षामा छानाबाट पानी चुहिने र भित्तातर्फको पर्खालबाट पानी निस्कँदा कोठाको भुइँ चिसो हुने गरेको छ। वर्षामा पानी परेको बेला टेबलकुर्सी यताउता सार्दै सेवा दिनु परिरहेको हेल्थ असिस्टेन्ट भट्टराईले बताए। ‘भवनको कोठा पनि साँघुरो छ। त्यसमाथि जीर्ण बनेको छ,’ उनले भने, ‘पानी चुहिन्छ। फर्निचरको पनि अभाव छ। सेवा दिन अति नै गाह्रो भइरहेको छ।’

ढुंगामाटोले बनेको भवनको भित्तासमेत लिपपोत गरिएको छैन। सामान्य लिपपोत गरिएको पर्खालको माटोसमेत उक्किएर प्वाल परेको छ। भवनको तीनवटा कोठामध्ये एउटा कोठाबाट प्रशासन र स्टोरको काम भइरहेको छ। त्यस्तै, एउटा कोठाबाट ओपिडी तथा गर्भवती महिलाको गर्भजाँच र अर्को कोठाबाट खोप तथा ड्रेसिङको काम सञ्चालन हुँदै आएको छ। सो जीर्ण भवन अभावमा गर्भजाँचलगायत गम्भीर गोपनीयतासम्बन्धी सेवा प्रवाहमा कठिन भइरहेको भट्टराईले बताए।

भवनको कोठासमेत होचो छ। स्वास्थ्यचौकीमा एकजना हेल्थ असिस्टेन्ट, दुईजना अहेब र दुईजना अनमी कार्यरत छन्। २०४९ सालमा तत्कालीन गाविस अध्यक्षमा निर्वाचित राजकुमार राईको पहलमा सोही वर्ष स्वास्थ्यचौकी भवन बनाइएको हो। स्वास्थ्यचौकीका लागि अन्य भवन बनाउने आवश्यक जमिनको समेत अभाव छ।

हाल चार आना मात्र जग्गा भएकाले स्थानीयबाट निःशुल्क जग्गा जुटाउने तयारी भइरहेको वडाध्यक्ष डिल्ली चाम्लिङले बताए। ‘स्वास्थ्यचौकीको भवन अति नै जीर्ण छ। वडाको दुई लाख र नगरपालिकाको पाँच लाखमा मर्मतको तयारी गरिरहेका छौं,’ चाम्लिङले भने, ‘नयाँ भवन निर्माण प्रक्रिया पनि थालेका छौं। त्यसका लागि जग्गा जुटाउने पहल भइरहेको छ।’

प्रकाशित: २७ भाद्र २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App