coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पानीको माग गर्दै धानखेतमै किसानको नाराबाजी

रौतहट– नहरको छेउमै सुकेको धानखेतमा सिंचाइ डिभिजन कार्यालय बागमतीविरुद्ध रौतहटका किसानले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्। रौतहटको गढीमाई नगरपालिकाका केही किसानले सोमबार पानीको माग गर्दै धान खेतमै प्रदर्शन गरेका छन्। भदौ बित्न लाग्दा पनि नहरमा पानी नआएको र खेतमा धान सुक्न लागेको भन्दै पानीको माग गर्दै किसानहरुले प्रदर्शन गरेको स्थानीय दीपेन्द्र श्रेष्ठले बताएका छन्।

सिंचाइ डिभिजन कार्यालयलाई जति आग्रह र अनुनय विनय गर्दा पनि किसानको कुरा नसुनेपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको श्रेष्ठ बताउँछन्। नहर निर्माण भएको दुई दशकभन्दा बढी समय बित्दा पनि संचालनमा नआएकोले नहर संचालन गराउन आवश्यक रहेको श्रेष्ठ बताउँछन्। किसानले आफ्नै खेतमा प्रदर्शन गर्दा सम्बन्धित निकायको ध्यानाकर्षण हुने उनी बताउँछन्।

गढीमाई २ समनपुरका किसान हरि श्रेष्ठले सिंचाइ डिभिजन कार्यालय बागमती, सर्लाहीका कर्मचारीको चरम विभेदको कारण समनपुर, सुन्दरपुर, हथिऔल, मदनपुरलगायतको विभिन्न गाउँको हजारौँ बिघा धानखेत बर्बाद भएको आरोप लगाएका छन्। नहर निर्माण भएको करिब अढाई दशक भए पनि कर्मचारीहरुको लापरवाहीले नहरमा पानी आउनै नसक्ने अवस्था सिर्जना भएको श्रेष्ठको भनाइ छ।

नहर बनाउन सरकारले खेत लियो तर नहरमा पानी दिँदैन। पानी नदिँदा खेतको धान मर्नै लागेको छ। भदौको अन्तिमतिरसम्म सिंचाइ डिभिजनले ध्यान नदिँदा सिंचाइ हुन सक्ने हजारौं बिघा धानखेत बर्बाद भएको स्थानीय महिन्दर महतोले बताए। आफ्नो करिब दुई बिघा धानखेत बर्बाद भएको महतोको दाबी छ।

खेतमा नै प्रदर्शन गरिरहेकी स्थानीय पार्वतीदेवी नुनियाले आफ्नो खेतमा चार पटक धानमा बोरिङले सिंचाइ गरिसकेको बताएकी छिन्। चारपटक सिंचाइ गरिसकेको धानखेतमा पनि रोग लाग्न थालेको र पानी नपरे धान फल्ने आशा घट्दै गएको बताएकी छिन्।

वर्षौदेखि सिंचाइ डिभिजन कार्यालयले नहरको सफाइ नगरेको, मर्मत नगरेको र किसानको समस्या समाधानमा ध्यान नदिएको आरोप स्थानीयको रहेको छ। 

प्रकाशित: २३ भाद्र २०७६ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App