coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नगदेशको महाकाली नाचमा रमाए स्थानीय

भक्तपुर– भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।

महाकाली नाच प्रदर्शनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने महाकाली नाच संरक्षण समितिले जनाएको छ। नाच प्रदर्शनका क्रममा चार दिन लगातार सहभागी हुने सम्पूर्णलाई भोज खुवाउनुपर्ने भएकाले खर्च बढी लाग्ने स्थानीय बताउँछन्। नाचका क्रममा दैनिक साँझ स्थानीय टोलबासी मिलेर भोज खाने चलन छ। दैनिक भोजको व्यवस्था मिलाउन थुप्रै खर्च लाग्ने स्थानीय बताउँछन्। नाचका क्रममा परम्परादेखि नै भोज खानेखुवाउने चलन रहेको स्थानीय विनोद कोजूले नागरिकलाई बताए।

महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूतभैरव, कवं, ख्याक, माक, म्ह्यखा र मयुर गरी १७ देवगणको सहभागिता हुन्छ। महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् तथा चोरको भय नहुने जनविश्वास प्राचीनकालदेखि रहिआएको भक्तपुरका स्थानीय बताउँछन्।

नाचका नर्तकहरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित भएको पुष्टि हुन्छ। महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ। नाचका क्रममा मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शन गर्ने गरिन्छ।
नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासम्मको सहभागिता रहने गरेको छ। नाचको सुरुवात गर्दा देवदेवीहरुको विशेष पूजा गरिन्छ। समापनका अवसरमा पनि विशेष पूजाआजा गरिने चलन छ। यो नाचसँगै मध्यपुर थिमिको बालकुमारीमा पनि ऐतिहासिक भैरव नाच र बोडेमा नीलवाराही नाच देखाउने गरिन्छ।

प्रकाशित: ४ भाद्र २०७६ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App