१२ आश्विन २०७७ सोमबार
समाज

खडेरीले सखाप

पाँचथरको तुम्बेवामा खडेरीले खाएको मकैबाली। तस्बिर:नागरिक

पाँचथर - मध्य असारमा पानी पर्नुको साटो चर्को खडेरीले किसान मारमा परेका छन्। धमाधम रोपाइँ गर्नुपर्ने समय भए पनि खडेरीले खेत बाँझै छ भने मकै, अलैंची, अदुवा, गोलभेडा, खुर्सानीलगायतका बाली सुकेर सोत्तर हुन थालेका छन्।
पानी पर्ने छाट नहुँदा रोपाइँ एकदमै न्यून भएको छ।

पहाडी जिल्लामा जेठ अन्तिमदेखि रोपाइँ सुरु हुने भए पनि सिँचाइ अभावमा काम हुन नसकेको हो। असारको पहिलो साता पूर्वी पहाडी जिल्लाका किसान धान रोप्न व्यस्थ हुन्थे। विगतमा यति बेला ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। तर चर्को खडेरीका कारण यसपटक किसानले धान रोप्ने काम अघि बढाउन सकिरहेका छैनन्। कृषि ज्ञान केन्द्र पाँचथरले संकलन गरेको तथ्यांकअनुसार हालसम्म पाँचथरमा १० प्रतिशत हारहारीमा मात्र रोपाइँ भएको छ।

‘रोपाइँ हुन सकिरहेको छैन। खडेरीले लगाइएका खेतीबाली सुके। मकै सोत्तर हुने अवस्थामा छ’, राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले भने, ‘खडेरीले सखाप बनायो।’ पाँचथरमात्रै होइन, पहाडी जिल्ला तेह्रथुम र धनकुटाका कछाडका गाउँहरुमा चर्को खडेरीले बालीनाली सखाप पार्दैछ। खडेरीले अलैंचीको फूल मर्न थालेको किसानले बताएका छन्। ‘वैशाखसम्म राम्रो पानी परेपछि खुसी भएका किसान जेठ–असारमा भइरहेको खडेरीको मारमा परेका छन्। ‘अलैंचीका बोट मरेर रातै छन्।

विगतमा असार मध्यसम्म ३५ प्रतिशत हारहारीमा रोपाइँ भइसक्थ्यो। चर्को खडेरीका कारण १० प्रतिशत रोपाइँ पनि हुन सकेको छैन।

फूल मरे। यसपल्ट त सत्यनाश नै भयो’, लुङरुपाका पर्वलाल दंगालले भने, ‘किसानले धान रोप्न पाएका छैनौं। अलैंची सखाप भइसक्यो। मकै बोटमै सुक्न थाले।’ अलैंची पूर्वी पहाडी जिल्लाको प्रमुख नगदेबाली हो।

धनकुटाको सहिदभूमि गाउँपालिकाका बोमप्रसाद राईले भने, ‘बीउ नै नजोगिने अवस्था छ। पानीको चरम समस्या छ। पशुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ।’ धनकुटाका चौबीसे, सहिदभूमि गाँउपालिका, तेह्रथुमका छथर, आठराई, फेदाप गाउँपालिका र म्याङलुङ नगरपालिकामा खडेरीले बढी समस्या हुनेगरेको छ। यी स्थानीय तहका विभिन्न गाउँमा खानेपानीको अभाव छ। यस्तै पाँचथरका तुम्बेवा, कुम्मायक, हिलिहाङ, मिक्लाजुङ गाँउपालिका र फिदिम नगरपालिकाका विभिन्न ठाउँमा खडेरीको समस्या छ।

खडेरीले गर्दा यसपटक उत्पादनमा ठूलो असर पर्ने खतरा देखिएको ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्षहाङ राई बताउँछन्। मकै, अलैंचीलगायतका बालीमा चर्को असर पारेको उनको भनाइ छ।

हरेक वर्ष खडेरीले सताउन थालेपछि सुक्खा क्षेत्रका बासिन्दाको बसाइँसराइ बढ्दै गएको देखिन्छ। कतिपय यहाँका खेतबारी बाँझै छाडेर तराईतिर बसाइँ जान थालेका छन्। सुक्खा क्षेत्रमा पछिल्लो एकदशक यता पानीका मुहान सुक्दैछन्। सम्पन्न परिवारले बसाइँ सरे पनि आर्थिक अवस्था कमजोर हुनेहरुले खडेरीको ठूलो असर खेपिरहेका छन्।
तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाले ट्यांकरबाट खानेपानी वितरण गरेको बताए। उनले भने, ‘तीन वर्षयता लगातार खडेरी छ। यसपल्ट त विगतमा खडेरीले नसताउने ठाउँमा पनि मार प¥यो। पानी पनि पर्दैन। प्रकृतिले ठग्नसम्म ठग्यो।’

प्रकाशित: १९ असार २०७६ ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App