८ वैशाख २०८१ शनिबार
समाज

शैक्षिक भ्रमणमा गएका दुई बिद्यार्थीको डुबेर मृत्यु

खोटाङ– खोलामा डुबेर खोटाङमा दुई बिद्यार्थीको मृत्यु भएको छ। साप्सुखोलामा पौडी खेल्नेक्रममा दिक्तेल प्राविधिक शिक्षालयमा सव–ओभरसियर अध्ययन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका अन्दाजी १९ वर्षीय एलिस बस्नेत र सोही ठाँउका १९ वर्षीय विक्रम भट्टराईको मृत्यु हो। प्राविधिक शिक्षालयले शनिबार भ्रमणका लागि लगेको समयमा पौडी खेल्दा दुई विद्यार्थीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए। 

प्राक्टिकल भ्रमणका लागि साप्सु कालिका हाईड्रोपावरमा लगिएका विद्यार्थी हाईड्रोपावर भन्दा केहीमाथि रहेको खोलाको दहमा पौडी खेल्दा डुबेको जनाइएको छ। खाजा खानेक्रममा दहतिर गएका तीन जनामध्ये दुई जनाको डुबेर मृत्यु भएको हो। उनका सहकर्मीका अनुसार सुरुमा भट्टराई दहमा डुबेको र बचाउन जाँदा बस्नेत पनि डुबेको हो। दुबै जना दहमा डुबेपछि तेस्रो विद्यार्थीले शिक्षक तथा साथीहरुलाई खबर गरेका थिए। खबर पाएपछि घट्नास्थल पुग्दा उनीहरुलाई एउटै दहमा मृत अवस्थामा फेला पारिएको थियो। भट्टराईको शव तैरिएको अवस्थामा तत्काल फेला परे पनि बस्नेतको शव प्रहरी र स्थानीयबासीले दुई घण्टापछि दहको कुनाबाट निकालेको प्रत्यक्षदर्शी निर्मला खड्काले बताइन्। 

प्रहरीका अनुसार घट्नास्थल मुचुल्का तयार पारेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कट्वालले बताए। शिक्षालयले ३५ जना विद्यार्थीलाई भ्रमणमा लगेको जनाइएको छ। 

प्रकाशित: १८ जेष्ठ २०७६ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App