८ वैशाख २०८१ शनिबार
समाज

दानवीर कर्णप्रताप, जसले डेढ करोड मुल्य पर्ने जग्गा गाउँपालिकालाई दिए

जग्गादाता टिकापुर नगरपालिका १ का ७४ वर्षीय उद्योगी कर्णप्रताप राणा । तस्बिरः योगेश/नागरिक

टीकापुर - सम्पत्तिका लागि कैयौं मानिस जस्तोसुकै कदम चाल्न तत्पर हुन्छन्। अंशबन्डाका क्रममा दाजुभाइबीच हुने झैझगडामा कतिपयले ज्यान गुमाएका घटनासमेत हुने गरेका छन्। धनी बन्ने ध्याउन्नमा लागेकाहरू आफन्तलाई नै ठग्न पछि पर्दैनन्। तर समाजमा कोहीकोही मानिस यस्ता पनि हुन्छन्, जो आफूसँग भएको सम्पत्ति अरूलाई दान गरिदिन्छन्। यस्तै खालका एक दानी व्यक्ति हुन्, टीकापुर नगरपालिका–१ का ७४ वर्षीय उद्योगी कर्णप्रताप राणा।

उनले जानकी गाउँपालिकाको भवन निर्माणका लागि झन्डै डेढ करोडभन्दा माथि मूल्य पर्ने जग्गा दान गरेका छन्। उनले आफ्नो साढे १५ बिघा जमिनमध्ये एक बिघा १२ कट्ठा १० धुर जमिन गाउँपालिकाको नाममा नामसारी गरिदिएका छन्। गाउँपालिकाले आइतबार मात्रै मालपोत कार्यालय टीकापुरबाट जग्गाधनी पुर्जा प्राप्त गरेको छ। गाउँपालिकाले मंगलबार राणालाई कार्यपालिका बैठकमा सम्मानसहित धन्यवाद व्यक्त गरेको छ। राणाको सम्मानमा भव्य समारोह गर्ने सोचमा रहेको गाउँपालिका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिए।

उनले यो जग्गा २०६० सालमा दीप इँटा उद्योग सञ्चालनका लागि किनेका थिए। उनी बुढ्यौलीले छोएसँगै हाल इँटा उद्योग छाड्ने मनस्थितिमा पुगेका छन्। उनले इँटा उद्योग छोड्ने क्रममा आफूसँग भएको जग्गा गाउँपालिकालाई दान गरेको बताए। ‘म अब काम गर्न सक्दिनँ,’ उनले भने, ‘सबै ऋण सापट तिरेर ढुक्कले बस्छु।’

यो राणाको पुख्र्यौली सम्पत्ति होइन। उनले आफ्नै बलबुताले कमाएको हो। उनले पर्याप्त जग्गा जमिन भएर दान गरेको नभई साँघुरो भवनमा गाउँपालिकाको कार्यालय सञ्चालन भएको देखेर दिएको बताए। उनले सुरुमा १० कट्ठा जमिन दिन खोजेका थिए। त्यो अपुग हुन्छ भन्ने सोचेर डेढ बिघा दिन तयार भए। नापी कार्यालयमा कित्ताकाट गर्दै गर्दा उनले थप २ कट्ठा १० धुर थप्न लगाए। ‘चारैतिर बाटो अपुग होला जस्तो भयो,’ उनले भने, ‘पास गर्ने बेलामा केही जग्गा थपिदिए।’

उनका कान्छा छोरा अभयप्रताप राणा व्यवसायी हुन्। उनी काठमाडौं र नेपालगन्जमा उद्योग सञ्चालन गरिरहेका छन। जेठो छोरा तेजप्रताप राणाको निधन भइसकेको छ। उनी पनि यस क्षेत्रका सफल उद्योगी थिए। राणाले गाउँपालिकालाई जग्गा दिनुका पछि कुनै ठूलो स्वार्थ छैन। सोही जग्गासँग जोडिएको उनको थप १४ बिघा जमिन छ। गाउँपालिकाको भवन निर्माण भएपछि त्यही जग्गाको मूल्य बढ्ने राणाको अपेक्षा छ। उनले आफूसँग भएको जग्गा थोरै महँगोमा बेच्न पाए इँटा उद्योग सञ्चालनका क्रममा लागेको ऋण तिर्ने इच्छा व्यक्त गरेका छन्। ‘उद्योग चलाउने क्रममा ऋण लागेको छ। त्यही जग्गा बेचेर ऋण तिर्ने सोच बनाएको छु,’ उनले भने, ‘योबाहेक मेरो अर्को कुनै स्वार्थ छैन।’

उनले योपटक मात्रै जग्गा दान गरेका होइनन्। चार वर्षअघि बर्दियाको राजापुर नगरपालिका नयाँ गाउँमा थारू संग्रहालय निर्माणका लागि चार बिघ जमिन दान गरेका थिए। सो ठाउँमा अहिले संग्रहालय निर्माण भइरहेको छ। त्यो जग्गासमेत उनले इँटा उद्योग सञ्चालनका लागि किनेका थिए। उनी आध्यात्मिक स्वभावका छन्। उनले धेरै संघसंस्थालाई सहयोग गरेका छन्। तिनको रेकर्ड आफूसँग नभएको उनी बताउँछन्।

उनी आफूले गरेको सहयोग सम्झन पनि चाहन्नन्। उनीसँग आगामी दिनमा के–कस्ता सहयोग गर्ने भन्नेबारे योजना छैन। ‘अब के गर्छु, मलाई नै थाहा छैन,’ उनले भने, ‘ईश्वरको इच्छा के छ, म त्यही गर्छु।’ गाउँपालिकाले कार्यालय भवन निर्माणका लागि विस्तृत गुरुयोजनाको काम थालेको छ। अध्यक्ष चौधरीले एक महिनाभित्रै भवन निर्माणका लागि टेन्डर गर्ने बताए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App