जनकपुर - मिथिला नगरपालिकामा स्थानीय एक सिकारु झाँक्रीले ‘देवी’ लाई खुसी पार्न बालकको ‘बलि’ दिएको खुल्न आएको छ। तीन साताअघि अढाई वर्षीय बालकको घाँटी रेटेर हत्या गरिएको घटनाको प्रहरीले गरेको अनुसन्धानका क्रममा यस्तो खुलासा भएको हो।
बालकलाई बलि दिएको आरोपमा स्थानीय फेकु महतोका छोरा ५५ वर्षीय शत्रुधनलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। शत्रुधन ती बालकको घरदेखि एक सय मिटरको दुरीमा आफ्नै घरमा बस्थे। शत्रुधनले ती बालकलगायत उनको घरका अन्य सदस्यको स्वास्थ्यमा समान्य समस्या आउँदा निको पार्ने भन्दै झारफुक गर्थे। यस आधारमा शत्रुधनको हिमचिम ती बालकको परिवारमा राम्रै बढेको थियो। ती बालकले शत्रुधनलाई ‘बाबा, बाबा’ भनेर सम्बोधन गर्थे।
घटना वैशाख २३ गते साँझ पाँच बजेको हो। मिथिला नगरपालिका–६, ढल्केवर निवासी शम्भुकुमार साहकी पत्नी रेणुदेवी घाँस काट्न खेततर्फ गएकी थिइन्। उनका अढाइ वर्षीय छोरा आर्यन भनिने समिरकुमार साह आफ्नै घरअगाडि फूलको बोटमुनि खेलिरहेका थिए। नजिकै रहेको इनारमा छिमेकी पानी भर्न आउनेजानेक्रम चलिरहेको थियो। शत्रुधनले बालक समिरलाई बोलाए। बालक पनि पहिलेदेखि चिनजान भएकाले ‘बाबा, बाबा’ भन्दै दौडेर गए। शत्रुधनले समिरलाई आफ्नो घर लगे।
शत्रुधनले समिरलाई भैंसीको दूध खान दिएर ललाइफकाइ आफूसँगै राखे। उनका छोरी र पत्नी दुई दिनअघि स्वास्थ्य जाँचका लागि काठमाडौं गएका थिए। घरमा एक्लै भएको मौका पारी शत्रुधनले ती बालकलाई लगेर राखेका थिए। टोलमा बालक हराएको भन्दै कोकोहोलो मच्चिए पनि शत्रुधन चुप लागेर घरमै बसिरहे। पीडित परिवार र छेमेकीले शत्रुधनप्रति शंका गर्ने आधार थिएन।
घटनाको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार त्यस राति नौ बजेतिर शत्रुधनले समिरलाई आफ्नै ओछ्यानमा सुताएर आफू पनि सुते। बिहान करिब दुई बजे घरको आँगनमा पूजापाठ गरी धारिलो हतियारले बालक समिरको गर्धन काटेर देवीलाई बलि दिए। चमैनीदेवी थानको नाममा उनले बालकको बली चढाएको प्रहरीसमक्ष स्वीकारेका छन्। ‘नर बली दिएपछि धामीझाँक्रीको काममा दख्खल बढेर शक्तिशाली बन्ने अन्धविश्वासमा बालकको बलि दिएको शत्रुधनले स्वीकारेका छन्’, बिहीबार जिल्ला प्रहरी कायालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी खनालले भने, ‘यो जघन्य अपराध हो।
शत्रुधनलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न हिजै (बुधबार) अदालतबाट म्याद थप भइसकेको छ। विस्तृत अनुसन्धान गरी कानुनबमोजिम हदैसम्मको सजाय हुनेगरी अदालतमा पेस गर्छौं।’ सूक्ष्म अनुसन्धानका क्रममा पीडित परिवार र स्थानीयले समान्य आशंका समेत नगर्ने व्यक्ति बालकको हत्यामा संलग्न भएको पाइएको एसपी खनालले बताए। ‘सुरुमा बालकका परिवारसँग रिसइबी रहेका व्यक्ति र परिवारलाई अनुसन्धानको दायरामा राखेका थियौं। उनीहरु निर्दोष देखिएपछि सुरक्षा निकायमा उपलब्ध सम्पूर्ण साधनस्रोत परिचालन गरी सूक्ष्म अनुसन्धान अघि बढायौं’, खनालले पत्रकार सम्मेलनपछि नागरिकसँग भने, ‘विभिन्न ६५ जनालाई नियन्त्रणमै लिएर सोधपुछ गरेपछि यहाँसम्म आइपुगेका छौं।’
आरोपित शत्रुधन महतोले शक्तिशाली धामी बन्न चमैनीदेवी थानका नाममा अढाई वर्षीय बालकलाई काटेर बली चढाएको बयान प्रहरीलाई दिएका छन्।
पीडित परिवारका अनुसार समिर हराएपछि सुरुका केही घन्टासम्म गाउँ, छिमेकमै खोजियो। सुरुमा परिवारका सदस्यले समिर खेल्दाखेल्दै कतै गएको अनुमान लगाएका थिए। अबेर साँझसम्म नभेटिएपछि बस्ती छेउका झाडीतर्फ स्याल÷कुकुरले लगेको हुन सक्ने आशंकामा त्यतैतिर खोजियो। बालक नभेटिएपछि इलाका प्रहरी कार्यालयमा खबर गरियो। घर र प्रहरी दुवैतिरबाट खोजी तीव्र पारियो। उता, शक्तिशाली झाँक्री बन्ने अन्ध मोहमा लागेका घर नजिकैका शत्रुधनले बालकलाई बलि दिने तयारी गरिरहेका थिए।
प्रहरीका अनुसार शत्रुधनले बिहान करिब दुई बजे बलिका नाममा बालकको हत्या गरे। उनले शव गम्छामा बेरेर लुकाउन खोजे। घरभित्र राखेपछि समस्या हुने डरले उनले शव स्थानीय कृष्णनन्दन महतोको खेतमा लगेर फालिदिए। शव खेतमा फालेर घर फर्केपछि उनले उनले बालकको गर्धन रेट्न प्रयोग गरेको हतियार, लगाएका सबै कपडा धोएर सफा गरे। उनी उज्यालो भएपछि पनि घर बाहिर निस्किएनन्।
बालककी हजुरआमाले बिहान करिब छ बजे आफ्नै घरपछाडिको खेतमा गर्धन रेटेर हत्या गरिएको अवस्थामा नातिलाई फेला पारिन्। गाउँ शोकमा डुब्यो। बालकको शव फेला परेपछि प्रहरी अनुसन्धान हत्यारातर्फ केन्द्रित भयो। झन्डै तीन साताको अनुसन्धानपछि प्रहरी बुधबार शत्रुधनलाई पक्राउ गर्न सफल भयो। शत्रुधन पक्राउ परेपछि हजुरबुवा पिताम्बर साह हलुवाइले नाति समिरलाई अपहरण बन्धक बनाएर मारेको भन्दै उनीविरुद्ध किटानी जाहेरी दिएका छन्। किटानी जाहेरी परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको एसपी खनालले बताए। शत्रुधनले हत्या गर्न प्रयोग गरेको धारिलो हतियार, शव बेरेको गम्छा, लगाएको धोती र गन्जीलगायत सामग्री पनि बरामद भएको जानकारी खनालले दिए।
सूचना र प्रविधिको अकल्पनीय विकास भइसक्दा पनि धामीझाँक्रीको अन्धविश्वासमा बालकको हत्या गरिनु लाजमर्दो भएको उल्लेख गर्दै खनालले यसप्रति सचेत रहन सर्वसधारणलाई आह्वान गरे। ‘कतै धामीझाँक्रीका नाममा गलत भइरहेको छ भने प्रहरीमा उजुरी गर्नुस् र हामीले पनि धामीझाँक्रीप्रतिको अन्धविश्वास तोडौं। स्वास्थ्यमा समस्या आउँदा अस्पताल जानुभन्दा झाँक्रीकहाँ जाने प्रवृतिलाई निरुत्साहित गरौं’, उनले भने।
प्रकाशित: १७ जेष्ठ २०७६ ००:५६ शुक्रबार