coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कन्सुलर सेवा आधा घन्टामै

काठमाडौं - तनहुँका एक युवकको २०७३ सालमा कतारमा मृत्यु भयो। उनकी पत्नीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर लामो समयसम्म प्राप्त भएन। गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन्। त्यसको दुई दिनमै जवाफ आयो– सात हजार पाँच सय रियल परराष्ट्र मन्त्रालयमा पठाइएको छ, थप रकमका लागि पहल जारी छ।

कतारका नेपाली दूतावासमार्फत यो जवाफ पाएपछि उनले परराष्ट्र मन्त्रालय गएर रकम बुझिन् र बाँकी रकमका लागि पनि सोही अनलाइन सेवामार्फत ‘फलोअप’ गर्दै रहिन्। ‘पहिले निकै गाह्रो भएको थियो, भनेको बेला काम हुन गाह्रो थियो तर, अहिले अनलाइन आवेदन गर्दा सिस्टमले काम गर्ने भएर होला मैले न्याय पाएँ, थोरै भए पनि क्षतिपूर्ति पाएँ, थप रकम पनि आउने भनिएको छ, म लागिरहेकी छु,’ आफ्नो परिचय नखुलाउने सर्तमा ती पत्नीले भनिन्।

गत माघमा सर्लाहीका अर्का एक युवकको कतारमा मृत्यु भयो। उनको शव जतिसक्दो चाँडो नेपाल झिकाउन माघ २१ गते उनका भाइले अनलाइनमार्फत आवेदन गरे। कतारका लागि नेपाली दूतावासले आवेदन प्राप्त भएको जवाफ तुरुन्तै दियो। त्यसको केही दिनपछि फागुन ८ गते शव नेपाल आइपुग्यो।

आधा घन्टामा सेवा प्राप्त हुन्छ भनी टाँसिएका सूचनाप्रति सुरुमा त विश्वास लागेको  थिएन तर अहिले समयमै सेवा पाएपछि भने म निकै प्रभावित भएँ। सरकारी कामप्रतिको मेरो सोच यहाँ आएपछि बदलियो। सबै सरकारी कार्यालयले यसरी नै सेवा दिए जनताले कति सुविधा पाउँथे।

गणेश सापकोटा, सेवाग्राही

शव प्राप्त भएको र भोलि नेपाल पठाइने जानकारी सो दूतावासले अनलाइनमार्फत नै दियो। त्यो खबर यता कन्सुलर विभाग र आवेदनकर्ता मृतकका आफन्तजनले पाए। सोहीबमोजिम आफन्तजन शव लिन काठमाडौं आए। धेरैजसो खाडी देशहरूमा रहेका नेपालीलाई विदेशमा पर्ने समस्या हुन् यी। मृत्यु भएपछि परिवारले कम्पनीबाट क्षतिपूर्ति नपाउने, नेपाल शव झिकाउन गाह्रो हुने, एक कम्पनीमा भनेर लैजाने तर, त्यही कम्पनीमा काम नपाउने, भनेजति तलब नपाउने, अं्गभं्ग हुने, उपचार नपाउने, रोजगारदातासँग कानुनी वा अन्य झैझमेला पर्ने नेपालीले त्यहाँ पाउने दुःखका प्रकृति हुन्।

अब नेपाली कामदारका यस्ता प्रमुख समस्यादेखि सानातिना कानुनी झमेलाहरू सुनुवाइ र समाधानका लागि परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर विभागले सुरु गरेको अनलाइन प्रणालीका कारण सहज भएको छ। सेवा लिन देशको कुनाकाप्चाबाट काठमाडौंस्थित विभागसम्म धाउनुपर्दैन, अनलाइनबाट आफैंले गरेको आवेदन सेवा दिने निकायसम्म पुग्छ। आफ्नो निवेदन कहाँ पुग्यो र लिन चाहेको सेवाबारे के भइरहेको छ भन्ने विषयमा पनि आवेदकले थाहा पाउँछ। यो प्रणालीबाट आएको आवेदनमाथि नेपाली नियोगले के कसरी काम गर्दैछन् भन्नेबारे विभागले पनि अनलाइनबाटै निगरानी गरिरहेको हुन्छ। यसबाट सेवाग्राहीलाई मर्का पर्ने वा सेवामा ढिलासुस्ती हुने सम्भावना हुँदैन। किनभने आफ्नो काम कहाँ पुग्यो र त्यसमा के भइरहेको छ भन्नेबारे आवेदनकर्ताले नै सूचना पाइरहेको हुन्छ।

परराष्ट्र मन्त्रालयबाट नागरिकलाई प्रदान गर्ने सेवामध्ये राहदानीबाहेक अधिकांश काम कन्सुलर विभागबाटै हुन्छ। यसरी सर्वसाधारण नागरिकले यस मन्त्रालयबाट पाउनेमध्येको करिब ६० प्रतिशत सेवा यसै विभागबाट पाउँछन्। विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका विदेशी नागरिकलाई कानुनी परामर्श, कागजातहरूको प्रमाणीकरण, प्रवेशाज्ञाका लागि सिफारिसकार्य यस विभागका प्रमुख कार्य हुन्। विभागमार्फत नागरिकलाई प्रदान गरिने सेवा चुस्त, सर्वसुलभ र पारदर्शी बनाउन २०७३ माघ १४ गतेदेखि अनलाइन सेवा प्रणालीको सुरुआत गरेको हो। तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको सो सेवाबाट सर्वसाधारण नेपालीलाई धेरै सजिलो भएको छ। यस अनलाइन सेवा प्रणालीले सेवालाई सूचनामैत्री बनाएको छ। नागरिक आफैं विभागमा उपस्थित हुनुपर्दैन, अनलाइनमार्फत आवेदन गर्दा हुन्छ। यसले सेवा प्रदायक निकाय र सेवाग्राही दुवैको समय पनि बचत गरेको छ।

कन्सुलर सेवा विभागको वेबसाइटभित्र गएपछि त्यहाँ राखिएको ‘अनलाइन लिगल सर्भिस’ (अनलाइन कानुनी सेवा) मा क्लिक गरी आफूले लिन चाहेको सेवामा जान सकिन्छ। अनलाइन सेवालाई अझै सजिलो बनाउन विभागले महिना ‘मोबाइल एप्स’ पनि सञ्चालनमा ल्याएको छ। उक्त सेवाको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए। यो ‘एप्स’ भित्र गएपछि खोजतला ितथा उद्धार कार्य, विदेशबाट मृतकको शव झिकाउने, क्षतिपूर्तिका लागि निवेदन, गुनासो र समस्या गरी चारवटा छुट्टाछुट्टै सेवा उल्लेख गरिएको पाउन सकिन्छ। तीमध्ये आफूलाई कुन सेवा चाहिएको हो त्यसैमा आवेदन गर्ने हो। त्यो ‘एप्स’ नागरिकले आफ्नो मोबाइलमा डाउनलोड गरी त्यसैबाट आवेदन गर्न सक्छन्।

विभागका महानिर्देशक गेहेन्द्र राजभण्डारी विदेशमा विशेषगरी खाडी देशमा रहेका नेपालीका आफन्तको पीडा देखेपछि उनीहरूलाई समस्या समाधानमा सहजता ल्याउन प्रविधिमैत्री सेवा प्रदान गर्न थालिएका बताउँछन्। उनले भने, ‘यति भएपछि सानो कामका लागि पनि नागरिक आफंै विभागमा आएर आवेदन गर्नुपर्ने, सोध्नकै लागि पटकपटक विभाग धाउनुपर्ने असजिलो हटेको छ। नागरिकले आफैं अनलाइन आवेदन गर्छन्। आफ्नो काम के भइरहेको छ भन्ने सूचना लिन्छन् र काम सकिएपछि सेवा लिन उपस्थित हुन्छन्।’

यो अनलाइन सेवाका कारण कागजी काममा न्यूनीकरण, समयको बचत र अभिलेख राख्न तथा सेवाग्राहीले आफ्नो आवेदनबारे सूचना पाउन सजिलो भएको छ। नियोगबाट भएका कामकारबाहीको प्रत्यक्ष अनुगमन तथा कर्मचारीको मूल्यांकन गर्न यसबाट सजिलो भएको छ। कामकारबाहीमा पारदर्शिता हुन्छ भने सेवा दिने निकाय सेवाग्राहीप्रति थप उत्तरदायी बन्छ। कागजमा दिएको निवेदन हराउने वा समयमा काम नहुनाले सेवाग्राहीले दुःख पाउने गरेकामा अब त्यो सबै कम्प्युटरमै बस्ने भएकाले सजिलो भएको उनको भनाइ छ।

साउदी अरेबियाका लागि नेपाली राजदूत महेन्द्र सिंह अहिलेको जमानाअनुसार प्रविधिमैत्री सेवा दिँदा सेवामा चुस्तता र सेवाग्राहीमा सहजता भएको बताउँछन्। उनी भन्छन्, ‘यसले विदेशमा रहेका नेपालीका परिवारलाई सूचना दिन सजिलो र छिटो हुनाका साथै सेवा दिने र लिनेमा समयको बचत हुन्छ। गुनासा कम आउँछन्।’ विभागले नेपालबाटै दिने अरु सेवा पनि आधा घन्टाभित्रै दिने गरेको छ। ती सेवालाई पनि अनलाइनमार्फत थप प्रभावकारी बनाउने व्यवस्था मिलाइएको छ। खासगरी कन्सुलर प्रमाणीकरणको कार्य (कागजात प्रमाणीकरण, सिफारिसलगायत) सेवाग्राहीले फाराम भरेको आधा घन्टाभित्र सेवा प्राप्त गरिसक्छन्।

अहिले विभागमा दिनमा करिब एक हजार सेवाग्राही आउँछन् र उनीहरूका करीब एक हजारदेखि एक हजार ५०० कागजात प्रमाणीकरण गर्नुपर्ने हुन्छ। तर सेवा दिने कर्मचारी भने थोरै छन्। थोरै जनशक्तिबाट यो काम कसरी सम्भव भएको छ भन्ने प्रश्नमा कन्सुलर अधिकृत चण्डिका पोखरेल भन्छन्, ‘नेतृत्वको चुस्त व्यवस्थापन र डेक्समा रहेर सेवा दिने अधिकारीको सेवाप्रतिको प्रतिबद्धताका कारण यो सम्भव भएको छ।’

उनले सेवाग्राहीलाई सजिलो होस् भनेर अनलाइन प्रणाली तथा सेवाका अन्य विधि अपनाइएको तर, कुनै कर्मचारीको पनि दिनभर हात खाली नहुने बताए। सेवाग्राहीको चापअनुसार थप कर्मचारीको व्यवस्था भइदिए काम गर्न अझ सजिलो हुने उनको सुझाव छ। गत साता कागज प्रमाणीकरणका लागि विभाग पुगेका नवलपरासीका गणेश सापकोटाले आफ्नो अनुभव यसरी सुनाए, ‘आधा घन्टामा सेवा प्राप्त हुन्छ भनी टाँसिएका सूचनाप्रति सुरुमा त विश्वास लागेको थिएन तर अहिले समयमै सेवा पाएपछि भने म निकै प्रभावित भएँ। सरकारी कामप्रतिको मेरो सोच यहाँ आएपछि बदलियो। सबै सरकारी कार्यालयले यसरी नै सेवा दिए जनताले कति सुविधा पाउँथे !’

अनलाइन प्रणालीका कारण नक्कली काम पनि रोकिएको छ। विभागको छाप दुरुस्तै बनाएर प्रवेशाज्ञाका लागि दूतावास लानेजस्ता विगतका कार्य रोकिएको छ। विभागको प्रवेशाज्ञा सिफारिस, कागजात प्रमाणीकरणजस्ता अरु पनि कानुनी कार्यहरू स्वदेशी तथा विदेशी नियोगहरूले अनलाइनबाटै परीक्षण गर्न सक्ने भएकाले अवैध कार्यहरू निरुत्साहित भएका छन्। परराष्ट्र मन्त्रालयका लागि यो पनि ठूलो उपलब्धि हो। महानिर्देशक राजभण्डारी धेरै समय काम गरेबापत विभागका कर्मचारीलाई अतिरिक्त सुविधा आवश्यक भएको ठान्नुहुन्छ। विभागमा हाल बिहान ९ बजेदेखि नै काम हुन्छ। उनले भने, ‘यो सर्वसाधारण नागरिकको बढी काम हुने कार्यालय हो। यहाँ प्रविधि, जनशक्ति र थप सुविधा उपलब्ध भइदिए विभागलाई मात्र नभएर सरकारलाई नै राम्रो हुनेछ, सरकारी कामप्रति जनविश्वास अझ बढ्ने छ। रासस

प्रकाशित: १४ चैत्र २०७५ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App