६ वैशाख २०८१ बिहीबार
समाज

दुम्सी मार्ने क्रममा निसास्सिएका बालकको मृत्यु

खोटाङ – खोटाङमा दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर घाइते भएका बालकको महिना दिनपछि मृत्यु भएको छ। गत साउन २६ गते ओढारमा धुवाँ लगाएर दुम्सी मार्ने क्रममा निसास्सिएर गम्भीर बनेका खोटेहाङ गाउँपालिका–८ सिमपानीका ११ वर्षीय नवल तामाङको मृत्यु भएको हो।

स्थानीय डिउखोलास्थित ओढारमा पसेर धुवाँ लगाउने क्रममा निसास्सिएर अर्धचेत अवस्थामा उद्धार गरिएका तामाङको अस्पतालबाट फर्काएर घरैमा राखिरहेको अवस्थामा बिहीबार राती मृत्यु भएको हो। बोल्न नसक्ने अवस्थामा गुफाबाट उद्धार गरेर हेलीकप्टर चार्टर गरेर काठमाडौं महाराजगञ्ज शिक्षण अस्पतालमा पुर्याइएका नवलको स्वास्थ्यमा सुधार नआएपछि घर फर्काइएको केही समयपछि मृत्यु भएको आफन्त सुरेश पुरीले बताए।

आमा सरिता तामाङ र बहिनी पुजनासँगै दुम्सी मार्नकालागि घरबाट हिँडेका नवल र पुजनालाई चिच्याइरहेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। आमा सरितालाई भने मृत अवस्थामा गुफाबाट बाहिर निकालिएको थियो। गुफामा धुवाँमा निसास्सिएका कारण आमा र महिना दिनपछि दाजु गुमाएकी ८ वर्षीय पूजनाको स्वास्थ्य अवस्थामा भने सामान्य भइसकेको छ।

दुम्सी मार्नका लागि भन्दै घरबाट निस्केका आमा र छोराछोरी अबेरसम्म घरमा नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो। प्रहरी र स्थानीयले डिउखोलामा रहेको ओढारमा आगो बलेको र ओढार बाहिर जुत्ता चप्पल देखेपछि उनीहरु ओढारभित्र फसेको पत्ता लगाएको थियो। पुजना हाल बाबु र एक दाईसँग बसिरहेका छन्। 

 

प्रकाशित: ३० भाद्र २०७५ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App