१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

ठेकेदारको लापरवाहीले अलपत्र सडकमा रोपाई

दोलखा– ठेकेदारको लापरवाहीले अलपत्र परेको जिल्लाको मुख्य प्रवेशमार्ग लामोसाँघु–जिरी सडकमा शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सांकेतिक बिरोध स्वरुप रोपाई गरेका छन्। 

तीन बर्षअघि देखि शुरु भएको सडक फराकिलो बनाउने काम बिचेैमा छाडेर ठेकेदारहरुले अलपत्र पारेपछि दोलखाबासीले लामो समय देखि सास्ती व्यहार्दै आएका थिए। राजधानीबाट अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकको खाडीचउर स्थित लामोसाँघु पुलबाट शुरु हुने यो सडक खण्डको चरिकोट बजार सम्मको ५५ किलोमिटर खण्डलाई सरकारले एक्जीम बैंकको लगानीमो फराकिलो बनाउने काम तीन बर्ष अघि सुरु गरेको थियो। 

खाडी चउर देखि सिन्धुपाल्चोकको मुडे सम्म २५ किलोमिटर र मुडे देखि चरिकोट सम्म ३० किलोमिटर गरेर दुई प्याकेजमा ठेकेदार कम्पनीमार्फत २०७२ भदौ देखि शुरु भएको सडक बिस्तारको काम लापरवाहीले बिचैमा अलपत्र पर्दै आएको छ। निर्माणको अवधीमा नयाँ संरचना बनाउन सडक भत्काईएकाले हिलाम्मे र खाल्डाखुल्डीका कारण  आउजाउ गर्नेहरु सास्ती ब्यहार्दै आएका छन्। 

शुक्रबार तरुण दल र नेविसंघका कार्यकर्ताले सास्ती व्यहोर्नुपरेको आक्रोश स्वरुप सडकमै रोपाईं गरे। बाजागाजा र नारा जुलुससहित कांग्रेसको जिल्ला कार्यालयबाट निस्किएका तरुण दल र नेविसंघका कार्यकर्ताले सडक खण्डको पाटी खोला नजिक  धानको बिउ रोपेका थिए। 

रोपाईपछि आयोजित कोणसभामा तरुण दलका जिल्ला अध्यक्ष दावासाङगे शेर्पाले जिल्लाको मुख्य प्रवेश मार्गमा चरम लापरवाही हुँदा समेत वेवास्ता गरेर सरकारले दोलखाबासीलाई अन्याय गरेको बताए। शेर्पाले सडक निर्माण हुने वातावरण नबने सरकार र स्थानिय तह विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए। 

सडकको पहिलो खण्ड लामोसाँघु–मुडेको २५ किलोमिटर भारतिय ठेकेदार सिमाञ्चल साथै नेपाली ठेकेदार कम्पनी गौरी पार्वती, सुनौला खिम्तीले ३९ करोडको संयुक्त साझेदारीमा ठेक्का लिएका थिए। यस्तै दोश्रो प्याकेजको मुडे–चरिकोट खण्डको ३० किलोमिटर भारतिय कम्पनी सकिल हैदर र नेपाली कम्पनी शंकर माली र  सुनौला खिम्तीले संयुक्त साझेदारीमा ७० करोडको लागतमा ठेक्का सम्झौता गरेका थिए। 

तर दुई बर्षभित्र सक्नुपर्ने सडक बिस्तारको काम दुवै कम्पनीले टेवा पर्खाल र नाला बनाएर अलपत्र पारी छाडेका छन्। सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारीले राजस्व छली गरेका कारण राजस्व अनुसन्धान बिभागले बैंक खाता बन्द गरेपछि ७ महिना यता उनले दुवै प्याकेजको काम अलपत्र पार्दै आएका थिए। 

दुई साता अघि गृह मन्त्रालयको आदेशमा सिन्धुपाल्चोक प्रशासनले भण्डारीलाई पक्राउ गरेको थियो। यस्तै दुवै प्याकेजका भारतिय र नेपाली ठेकेदारलाई समेत ठेक्का तोड्ने गरी सडक बिस्तार आयोजनाले पत्र लेखेपछि पहिलो प्याकेजको कामको जिम्मा सुनौला खिम्तीले छाडेर गौरी पार्वतीले लिने र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए। दुवै प्याकेजका ठेकेदारले माघ सम्म ग्राभेलको काम र आगामी चैत सम्म कालोपत्रेको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको सडक बिस्तार आयोजनाका प्रमुख केदार नेपालले जानकारी दिए। 

प्रकाशित: १५ असार २०७५ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App