३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रेस स्वतन्त्र हुँदा मात्र न्यायपालिका स्वतन्त्र रहन सक्छः प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका र सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्।

शुक्रवार साँझ काभ्रेको धुलिखेलमा सर्वोच्च अदालत र संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको आयोजनामा भएको अदालती रिपोर्टिङ र सञ्चारमाध्यम विषयक कार्यशालालाई सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताएका हुन्। ‘न्यापालिका र सञ्चार जगतको अभावमा लोकतन्त्र बलियो हुन सक्दैन,’ प्रधानन्यायाधीश श्रेष्ठले भने,‘स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको सुनिश्चितता बिना कानूनको शासन समृद्ध बन्न सक्दैन।’

नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता, सक्षम, स्वतन्त्र र निष्पक्ष न्यायपालिकाको अवधारणालाई आत्मसात गरेको उनले बताए। ‘त्यसैले स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रतालाई एकअर्काको परिपूरक र अन्तरसम्बन्धित आवरण वा मान्यताका रूपमा लिने गरिन्छ। स्वतन्त्र न्यायपालिका बिनाको प्रेस स्वतन्त्रता र स्वतन्त्र प्रेस बिनाको स्वतन्त्र न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन,’ प्रधानन्यायाधीश श्रेष्ठले भने।

न्यायपालिका र सञ्चार क्षेत्रको भुमिका र जिम्मेवारी फरक भए पनि लक्ष्य र उद्देश्य एउटै हो भन्ने आफूलाई लाग्ने गरेको प्रधानन्यायाधीश श्रेष्ठले सुनाए।

उनले भने,‘त्यो हो स्वतन्त्र न्याय, नागरिक अधिकारको संरक्षण, न्यायपूर्ण समाजको प्रत्याभुति गर्नु नै हो।’

न्यायपालिका र संविधानको आत्मा नागरिकको आस्थाबाट जीवन्त हुने उनले बताए। नागरिकको त्यो आस्था र भरोसा सावित गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ छ।

‘न्यायपालिकाको कार्यप्रकृति र त्यसको संवेदनशीलताका बारेमा सञ्चार जगत लगायत सम्बद्ध सबैमा सोहीअनुरूपको दृष्टिकोण रहनु वाञ्छनीय रहने पनि प्रधानन्यायाधीश श्रेष्ठले बताए। यस्तै न्यायपालिकाको आभास भनेको न्याय सम्पादनको रोहमा गर्ने फैसला र आदेश नै हुने पनि उनले बताए।

प्रकाशित: १२ जेष्ठ २०८१ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App