नक्कली भारतीय रुपैयाँको कारोबारबाट गैर कानुनी सम्पत्ति आर्जन गरेको आरोपमा व्यापारी युनुस अन्सारीलाई काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
प्रहरीले गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै ९ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेकोमा १५ लाख धरौटी माग गरेको थियो । अन्सारीले सो रकम धरौटी राख्न नसकेपछि कारागार चलान गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो । सिआइबीले टेलिभिजन सञ्चालकको आवरणमा जाली नोट तस्करी गरेको आरोप समेत लगाएको थियो ।
नेशनल टेलिभिजनमा लगाएको निष्कर्ष सिआइबीले निकालेको छ। सोही अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर भएको थियो । गत शुक्रबार नेशनल टेलिभिजन प्रालिलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको मा आइतबार र सोमबार थुनछेक बहस भएको थियो । सो क्रममा न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटी माग गरेको हो ।
अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैर कानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको थियो ।
जेलबाट छुटे लगत्तै अन्सारीलाई नियन्त्रणमा लिएर सिआइबीले अनुसन्धान गरेको थियो । उनको र टेलिभिजनको खातामा आएको पैसाको विश्लेषण गरी सिआइबीले आपराधिक कामबाट उनले सम्पत्ति आर्जन गरेको निष्कर्ष निकालेको हो । उनी पक्राउ परेसँगै उनको टेलिभिजन भने बन्द भइसकेको छ । अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । अन्सारीमाथि २०६७ सालमा जेलभित्रै गोली प्रहार समेत भएको थियो ।
‘युनुस अन्सारीले अवैध नक्कली भारतीय मुद्रा सम्बन्धी (खोटा चलन) समेतका कसुरमा संलग्न रही अवैध तरिकाले अकूत सम्पत्ति आर्जन गरी सम्पत्ति शुद्धीकरण कसूर समेत गरेको र युनुसको व्यवसाय, कम्पनी तथा निज तथा निजका निकट व्यक्तिहरूको बैंक तथा वित्तीय संस्थाका खाताहरूमा कसुरबाट आर्जित सम्पत्तिलाई वैद्य बनाउने उद्देश्यले व्यक्तिगत तथा कम्पनीका खाताहरू तथा सम्पत्तिहरूमा भएका रकमान्तर, हस्तान्तरण, ट्रान्सफर, धारण तथा प्रयोग भएका कारोबार तथा ऐन लागु भए पश्चताको समयावधिलाई आधार मानी प्रतिवादीले के–कुन विधि तथा प्रकृया अपनाई कसुर जन्य क्रियाकलापको माध्यमबाट के–कसरी शुद्धीकरण गरे भन्ने सम्बन्धमा प्रतिवादी युनुस अन्सारी उपरको सम्पत्ति शुद्धीकरण कसूर गरेको देखियो’, अन्सारीलाई लगाइएको प्रतिवेदनमा भनिएको छ ।
नेशनल टेलिभिजन प्रालिका संचालक प्रतिवादी युनुस अन्सारीले मिडियामा लगानीकर्ताको आवरणमा अवैध भारतीय जाली नोट (खोटा चलन) कारोबारमा संलग्न रहँदै उल्लिखित कसुरहरूबाट प्राप्त गैर कानुनी आर्जनबाट जग्गा समेत चोकट महतोको नाममा खरिद गरी उनीबाट सिताराम प्रसाईँको नाममा नामसारी भएपनि युनुस अन्सारी र उनको परिवार नै बसी आएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीका अनुसार युनुस अन्सारीले योजनाबद्ध रुपमा दूषित मनसायका साथ भारतीय जाली नोट (खोटा चलन) समेतका कसुर गरी गैर कानुनी स्रोतबाट प्राप्त रकम धारण गरी, लुकाउने छल्ने, अधिकार र स्वामित परिवर्तन गर्ने, कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति स्वरूप र स्रोत छल्ने एवम् बदल्ने र सम्पत्तिको गैर–कानूनी स्रोत र सोबाट प्राप्त सम्पत्तिको दुरी कायम गर्ने जस्ता विभिन्न तरिका एवम् विधिहरूको प्रयोग गरी गराई गैर कानुनी स्रोतको रकमलाई विभिन्न व्यक्तिहरूमा हस्तान्तरण समेत गरेको पनि प्रहरी प्रतिवेदनमा उल्लेख छ ।
प्रकाशित: २३ असार २०८२ १७:३८ सोमबार





