झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्वास्थ्य बिमा कार्यक्रम जस्तै नयाँ अवधारणाबाट सदस्यहरूको उपचारमा सहयोग पुर्याउँदै आएको छ।
सदस्य बिरामी हुँदा उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले संस्थाले विसं २०७२ मा ‘जीवन वरदान’ कार्यक्रम लागू गरेको थियो। सहकारीका सदस्यले वार्षिक तीन हजार ४७५ रूपैयाँ बुझाएपछि ‘जीवन वरदान’ कार्यक्रमको सदस्य बन्न पाउँछन्।
त्यसरी सदस्य बनेकाहरूले बिरामी हुँदा संस्थाले तोकेका अस्पतालबाट वर्षमा एकपटक लाखौँ रकम बराबरको उपचार सेवा लिन पाउँछन्। रोगको अवस्था हेरी कतिपय सदस्यले १० लाख रूपैयाँसम्मको उपचार पाउने गरेको संस्थाले जनाएको छ।
धेरै खर्च हुने जटिल रोग लागेको, दुर्घटना भएर आकस्मिक उपचार गराउनुपरेको र शल्यक्रिया गरिने अवस्थामा सहाराले शल्यक्रिया र औषधिको कूल खर्चको ९० प्रतिशतसम्म बेहोर्ने भएकाले सदस्यहरु ‘जीवन वरदान’ कार्यक्रमबाट लाभान्वित हुने गरेका छन्।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाका अनुसार एक दशकमा ‘जीवन वरदान’ मार्फत १७ हजार ७३७ सदस्यले ४१ करोड ९७ लाख रूपैयाँ बराबरको उपचार सेवा प्राप्त गरिसकेका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ मा एक हजार ४०० भन्दा बढी सदस्यले लगभग सात करोड रूपैयाँ बराबरको स्वास्थ्योपचार सेवा लिइसकेको उनले बताए। पछिल्लो महिनामा सेवा लिएका कतिपयको बिलभर्पाई सङ्कलन भइरहेको हुँदा यकिन हिसाब आउन बाँकी रहेको बताइएको छ।
संस्थाले उपचारका लागि राजधानी काठमाडौँका सुविधा सम्पन्न अस्पतालदेखि मोफसलका ५० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको जनाएको छ। बिरामीले आफैँ अस्पताल रोजेर उपचार गराउन पाउने संस्थाले सदस्यलाई सुविधा दिएको छ।
“जटिल रोगका बिरामी वा शल्यक्रिया गराउनुपरेमा सदस्यले आफैँले चाहेको अस्पतालमा उपचार गराउन सक्नुहुन्छ”, सेवा लिने प्रक्रियाबारे जानकारी दिँदै उनी भन्छन्, “अस्पताललाई जीवन वरदान कार्ड देखाएर सहारा नेपाललाई भर्ना भएको जानकारी गराए पुग्छ। अस्पतालले कुनै धरौटी नलिई सबै उपचार गरिदिन्छ।”
संस्थाले शल्यक्रिया गराउँदा लागेको शुल्कको ९० प्रतिशत र उपचारमा लागेको खर्चको ८० प्रतिशत रकम अस्पताललाई भुक्तानी दिने गरेको छ। अस्पतालमा भर्ना भएको दिनदेखि डिस्चार्ज भएसम्मको अधिकांश खर्च संस्थाले नै बेहोर्ने भएकाले सहकारीका सदस्यले स्वास्थ्योपचारमा राहत अनुभूति गर्दै आएका छन्।
अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा बसेका बेला शल्यक्रिया गराएका बिरामीलाई संस्थाले नर्स पठाएर घरदैलो ‘होम केयर’ सेवा पुर्याउने गरेको छ। मुटु मिर्गाैला, सुगर, प्रेसर, थाइराइड, दम, छारेरोग लगायत १० वटा दीर्घकालीन रोग लागेका सदस्यलाई औषधि खर्चको ५० प्रतिशतसम्म बेहोर्दै आएको संस्थाले जनाएको छ।
कनकाई नगरपालिका वडा नं. ३ का चन्द्रप्रसाद रिजालले गत चैतमा टाउकाको शल्यक्रिया गराउँदा सहाराको ‘जीवन वरदान’ कार्यक्रमबाट दुई लाख ५० हजार रूपैयाँ बराबरको उपचार विर्तामोडको बीएन्डसी अस्पतालबाट पाएको बताए।
संस्थाको जीवन वरदान कार्यक्रमको सदस्य रहेका बिर्तामोड नगरपालिका वडा नं. २ का ढुण्डीराज मिश्रले पनि एक वर्षअघि काठमाडौँको मेडिसिटी अस्प्तालमा ट्यूमरको शल्यक्रिया गराउँदा चार लाख रूपैयाँ पाएका बताए।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा हाल एक लाख ९१ हजार सात सय २१ जना सदस्य छन् भने एक अर्ब ६९ करोड ८६ लाख ५९ हजार चार सय रूपैयाँ शेयर पुँजी रहेको छ। झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुर गरी छ जिल्लामा ८१ सेवा केन्द्र सञ्चालनमा छन्।
प्रकाशित: २३ असार २०८२ १३:०५ सोमबार





