सदरमुकाम गाईघाटमा ‘आईकन प्रोजेक्ट’को रुपमा निर्माणाधीन ‘त्रियुगा मदन भण्डारी सभा भवन तथा अतिथि गृह’ अन्तिम चरणमा पुगेको छ । ०७४ देखि निर्माण सुरु भए पनि कोरोना कहर र बजेट अभावको चपेटामा परेको बिथोलिएको आयोजना ७ वर्षको अन्तरालमा लगभग अन्तिम चरणमा पुगेको हो ।
सहरी तथा भवन निर्माण आयोजना कार्यालय विराटनगरका अनुसार पछिल्लो ठेक्काको अवधि असोज २१ गतेभित्र निर्माण सक्ने गरी अन्तिम चरणको काम भइरहेको छ । साईट इन्चार्ज इन्जिनियर जीवन चौधरीले तोकिएकै समयभित्र भवनसहित संरचना निर्माण कार्य सकिने गरी काम भइरहेको बताए । उनका अनुसार घेराबेरा (कम्पाउन्ड वाल), प्रवेशद्वार (गेट) घेराबेरा सकेर भवनको भित्री सजावटको काम भइरहेको छ ।
यो आयोजना ०८१ मङ्सिरभित्र सम्पन्न गरिसक्ने गरी सुनकोसी कन्स्ट्रक्सन काठमाडौंले ठेक्का लिएको थियाे । तर, सो अवधिभित्र सम्पन्न नभएकाले आउँदो असोजसम्मको म्याद थप भएको इन्जिनियर चौधरीले बताए । मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक २० करोड ३४ लाख २४ हजार १ सय ६९ रुपैँयामा लागेको ठेक्का अनुसार भइरहेको कामको भौतिक प्रगति हालसम्म ७० प्रतिशत नाघेको छ । वित्तीय प्रगति भने ६५ प्रतिशत अर्थात १४ करोड ९२ लाख २३ हजार ८ सय ५० रुपैँया भुक्तानी भएको चौधरीले बताए ।
निर्माणको जिम्मा लिएको सुनकोसी कन्स्ट्रक्सनले सब–कम्पनी (दोस्रो ठेकेदार)लाई काम सुम्पेका कारण पनि समय लागेको स्थानीयको भनाई छ । सुनकोसीले अर्को कम्पनी सञ्चालक नवराज थापा मगरलाई कामको जिम्मा दिएका छन् । सब कन्ट्«याक्टर भएकाले काम ढिला हुन गएको स्थानीयले आरोप लगाए पनि आयोजना कार्यालयले भने काम छिटै भइरहेको जनाएको छ ।
आयोजना प्रमुख प्रदिप सिंहले काम त्यत्ति ढिला नभई ठिकठिकै भइरहेको बताए । उनका अनुसार फल्स सिलिङ, विद्युत् वाईरिङ र साउण्ड सिस्टम जडानको काम धमाधम भइरहेको छ । कम्पाउन्ड वाल, गेट र अन्य रङ, पेन्टको काम सकिइसकेकाले भवन फिनिसिङको चरणमा पुग्नै लागेको डिई सिंहले बताएका छन् । सिंहले भने ‘आउँदो असोजभित्र अर्थात थपिएको म्यादभित्रै भवनको काम सकिएर हस्तान्तरण भइसक्छ, यसमा शङ्का छैन ।’
प्रकाशित: २२ असार २०८२ १७:२३ आइतबार