२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

मनसुनको कहर: बाढी र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध

फाइल तस्बिर।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले आज दिउँसो २ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने गण्डकी र लुम्बिनी प्रदेशका केही राजमार्ग एकतर्फी सञ्चालनमा छन्।

प्रहरीका अनुसार, बागमती प्रदेशमा पहिरोका कारण अरनिको राजमार्ग (सिन्धुपाल्चोक) र बनेपा-नाला-भक्तपुर सडक खण्ड (काभ्रे) पूर्ण रूपमा बन्द भएका छन्।

यस्तै, कोशी प्रदेशको संखुवासभामा अविरल वर्षाका कारण कोशी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ।

कर्णाली प्रदेशमा बाढी र पहिरोले यातायातमा सबैभन्दा बढी असर पारेको छ। डोल्पाको भेरी करिडोर, रुकुम पश्चिमको जाजरकोट-डोल्पा-भेरी करिडोर र जाजरकोटको मध्यपहाडी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशको बाजुरास्थित मार्तडी-कोल्टी कच्ची सडक पनि पहिरोका कारण बन्द छ।

यद्यपि, केही महत्वपूर्ण राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ। गण्डकी प्रदेशको बाग्लुङ र लुम्बिनी प्रदेशको गुल्मीस्थित कालिगण्डकी करिडोरका विभिन्न खण्डमा एकतर्फी सवारी चलिरहेका छन्। त्यसैगरी, लुम्बिनी प्रदेशको रोल्पामा सहिद राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको जनाउँदै यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

अवरुद्ध प्रमुख राजमार्गहरूको सूची:

प्रकाशित: २१ असार २०८२ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App